रेखा शाह
भाद्र २६, काठमाडौं । संस्कृति सभ्यताको मुहान हो । आधार र सार्थक जीवनको आभूषण पनि हो । प्रत्येक व्यक्तिका चालचलन, रीतिस्थिति, वेशभूषा, बोलीवचन र जीवन पद्धति संस्कृतिकै सेरोफेरोमा घुमेका हुन्छन् । विविध खालका सांस्कृतिक मान्यताले समाजलाई सुन्दर, एकात्मक र शोभनीय बनाउँछ ।
भौगोलिक विविधता र जातीय अनेकताका कारण नेपाली संस्कृति जीवित सङ्ग्रहालयझैं छ । सांस्कृतिक सम्पदा उत्साह, उमङ्ग र एकता प्रदर्शनका अवसर हुन् । नेपाली समाजको बनावट, जातीय विविधता र सांस्कृतिक मूल्य–मान्यतासँग थुप्रै सांस्कृतिक पर्व र अवसर निर्माण भएका छन् ।
तीज नेपाली नारीको आस्था, विश्वास र उल्लासको पर्व हो । यो पर्व नारी स्वतन्त्रता र अधिकार प्राप्तिको आवाज बुलन्द गर्ने विशेष अवसर बनेको छ । स्वतन्त्रताको अभाव, अन्याय र अत्याचारको साम्राज्य फैलिएको हिजोका समयमा नेपाली नारी सासू–ससुरा, जेठाजू र अन्य आफ्न्तबाट सताइएका हुन्थे । शिक्षाको अभावमा हुर्किएकी चेलीका साथमा विद्रोहको आधार थिएन ।
चेलीलाई अर्काको घरमा जाने भनी परिभाषित गर्दै बाल्यकालदेखि शोषण, बेथिति, असमानता सहनका लागि तयार पारिन्थ्यो । बाल्यकालमा सामान्य हेरचाह गरिन्थ्यो । युवावस्थामा अर्काको घर पठाइन्थ्यो । विवाह पश्चात शोषण र अत्याचारको भुङ्ग्रोमा हालेर जतिसुकै ठूलो कष्ट पनि सहन बाध्य पारिन्थ्यो । घर भित्रको काम, थोरै माम र घर बाहिरको जटिल काम दुलही बुहारी लाई सुम्पिने चलन थियो । ठूलो स्वरले बोल्न नहुने, मनका कुरा अन्त सुनाउन नहुने, अर्काको घरमा जान नहुने, बाहिरी मानिससँग बोल्न नमिल्ने, घरका सबै सदस्यले खाएपछि चुपचाप खानुपर्ने जस्ता सामाजिक र पारिवारिक घेरा बनाइन्थे ।
मलको डोको बोक्न हुन्छ, घाँसको भारी कस्न हुन्छ, तर रजस्वला भएका बेला भान्छामा जान हँुदैन । गाईगोठ गएर भकारो सोहर्न हुन्छ, तर आरामले खाटमा सुत्न हुँदैन । माइतीघर टाढा, मनको कुरा सुन्ने र दया गर्ने मानिसको अभावमा सासू र ससुराको खटनमा जिन्दगी चलाउनुपथ्र्यो । भोको पेटले खेत खन्नुपथ्र्यो । भारी बोकेर गाउँबेंँसी गर्नुपथ्र्यो ।
गर्भवती होस् वा सामान्य अवस्था, कामपछि मात्र माम पाइन्थ्यो । सीमित पढेका मानिसबाट स्वार्थले बनाइएका अनुशासनको घेरा तोड्न विवाहिता नारीका लागि गाह्रो हुन्थ्यो । यसै अवस्थामा विवाहित बुहारी माइत गएर वर्षदिन भरिका आफ्ना दुख, अभाव र वेदनापूर्ण भाव पोख्ने, शास्त्रीय मान्यता अनुसार शरीर शुद्धि गर्ने र पतिको सु–स्वास्थ्यको कामना गर्ने लक्ष्यका साथ तीज नेपाली समाजमा प्रचलित छ ।
समय फेरिएसँगै सामाजिक जीवन बदलिएको छ । नारी अधिकारका सन्दर्भमा विचार–विमर्श हुने गरेका छन् । हिजोको कष्टपूर्ण, अत्यासलाग्दो र अशोभनीय मान्यता र गतिविधिमा कमी आएको छ । नारी अधिकारमा आंशिक सुधार छ । शक्ति र सामथ्र्यको भरमा नारी अधिकारको आवाज निकालिए पनि धेरै नारीको आँसु र भक्कानो रोकिएका छैनन् ।
नारीमाथि हिंसा भइरहेकै छन् । बलात्कारका घटना न्युनीकरण छैन । कानुनी राज्यमा सबै नागरिकले सुरक्षाको अनुभूति गरी हिँंड्डुल गर्न, विचार प्रकट गर्न र आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्ने हो, तर व्यवहारमा कम देखिएको छ । नारीलाई एकान्तमा र कमजोरीमा पारेर शारीरिक एवं यौनहिंसा नघटाउने प्रतिबद्धता पुरुष मनले गर्दो हो त असुरक्षाभाव हुँदैनथ्यो । त्यसैले समानता, सद्भाव र एकताको भाव जगाउनेगरी सांस्कृतिक पर्वहरूलाई पुनस्थापित गराउन आवश्यक छ ।
तीजमा घरको सुख वा दुखलाई बिर्सिई माइतीघरको चुलोमा पकाएको दर खाएर आँगनमा नाचिन्छ । मन्दिर र धार्मिक क्षेत्रमा अङ्कमाल गर्दै हिंँडिन्छ । रातो कपडामा हरियो र पहेंँलो मिश्रित पोते धारण गरी पतिको सु–स्वास्थ्यको कामना गर्दै भोकभोकै व्रत बसिन्छ । बाल्यकालका सखीका साथमा उमङ्ग र हाँसो साटासाट गरिन्छ । विवाह पूर्वका रमणीय क्षणको पुनरव्याख्या र पुनर्चर्चा गरिन्छ ।
आआफ्ना शास्त्रीय मान्यता र परम्पराका आधारमा तीजको रौनक बिस्तारै उडेको धुवाँजस्तै हुन्छ । नारी किन पछाडि पारिए ? पुरुष शासित समाजबाट मुक्तिको उपाय के हुन सक्छ ? भोको पेटमा शिवजीको आराधना गरी पतिको सु–स्वास्थ्यमा चिन्ता व्यक्त गर्ने पत्नीप्रतिको जिम्मेवारी पुरुष मनले इमानदारिताका साथ के पूरा गरेको छ ? समीक्षा भएको छैन ।
सोझा नारी मनमाथि अन्याय र विभेदको डन्डा बर्सिन छाडेको छैन । नारीलाई अबला ठान्ने प्रवृत्तिबाट घर–परिवार र समाज मुक्त छैन । सामथ्र्यको अभाव देखाएर विभेद गरिन्छ । तीज जस्ता धार्मिक–सांस्कृतिक पर्वलाई अधिकार प्राप्तिको माध्यम बनाउन जरुरी छ । एक दिनको प्रयासले कायापलट नहोला, तर तीजमा अधिकार, अवसर र अन्यायको गीत गाउनुपर्छ । मानव अधिकारको पक्षमा बोल्नुपर्छ । नारी स्वतन्त्रता मात्र होइन, व्यावहारिक हिंसा र असमानताको विरोधमा उत्रिने पर्वको रूपमा तीज मनाउनुपर्छ ।
लेखक गायिका हुन् ।