झमक घिमिरे
असोज ४, काठमाडौं । उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ? हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।
कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डमा प्रहरी प्रशासन आफैं विवादमा तानिनुले हाम्रो सुरक्षा संयन्त्रमै प्रश्न उठेको छ । सरकारी छानबिन समितिका एक सदस्यले आफ्नो ज्यानको सुरक्षा माग गर्दै राजीनामा दिए यद्यपि पछि फिर्ता लिए।
अपराधी जतिसुकै शक्तिशाली होस्, त्यसलाई कानुनको कठघरामा उभ्याएर सजाय दिने काम सरकारको हो, राज्यको हो । सरकार वा राज्य प्रत्येक नागरिकको अभिभावक हो । आफ्ना नागरिकको सुरक्षाको सवालमा गम्भीर बन्नुपर्छ ।
निर्मला हत्याकाण्डपछि पनि किशोरीहरूको बलात्कार गरेर हत्या गर्ने घटना बढिरहेका छन् । तसर्थ राज्य उनीहरूको जीवनको सवालमा विशेष संवेदनशील बन्नु पर्छ । किशोरावस्थामा उसले उचित मार्गदर्शन पाएन भने जस्तोसुकै कर्म गर्न पनि तयार हुन्छ ।
अहिले विज्ञान प्रविधिको युग छ, त्यसबाट कोही पनि अछुतो रहन सक्दैन । त्यसैबाट साइबर अपराध मौलाउँदै गएको छ । यसबाट युवा वर्ग आफैं सचेत हुनुपर्ने देखिन्छ । अभिभावकले आफ्ना छोराछोरीमाथि विशेष निगरानी राख्नुपर्छ ।
नागरिकले आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन मिल्दैन । किशोरावस्थामा पुगेका छोराछोरी के गर्दैछन् ? कस्तो संगत गरिरहेका छन् ? उनीहरूको क्रियाकलापमा कस्तो परिवर्तन आइरहेको छ ? जानकारी राख्नु प्रत्येक अभिभावकको कर्तव्य र दायित्व हुन्छ । आफ्ना छोराछोरीसँग मित्रवत् व्यवहार गर्दै सही मार्गमा हिँंड्न मद्दत घर–परिवारका सदस्यले गर्नु पर्छ । शारीरिक, मानसिक परिवर्तनका कारण उनीहरू जीवन र जगतका धेरै कुराप्रति जिज्ञासु हुन्छन् । यी जिज्ञासालाई स्वाभाविक रूपमा लिएर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अभिभावकले मेटाइदिनु आवश्यक छ ।
निर्मलाको हत्याले स्वतन्त्र नागरिकले सडक तताएका छन् । सरकारको गैरजिम्मेवारीप्रति खबरदारी गरेका छन् । अब अरु निर्मलाहरूप्रति कति सचेत छन्, आम नागरिक । गृह प्रशासन यतिन्जेलसम्म के गर्दैछ ? बालिका, महिला दिनानुदिन बलात्कार, हत्या, हिंसामा परिरहेका छन् । यी घटना नियन्त्रण गर्ने रणनीति बनाउनु र त्यसलाई कार्यान्वयन तत्काल गर्नुको सट्टा उल्टो मूकदर्शक बनेर बसेको भान हुन्छ ।
सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले किन आफ्नो ज्यानको सुरक्षा माग गरे ? उनको भनाइ छ– निर्मलाको आत्माले शान्ति नपाउने अवस्था देखेपछि राजीनामा दिएँ । यसको अर्थ के हो ? निर्मलाको हत्यारा को हो ? स्वयं निर्मलाका बाबु यज्ञराजको भनाइ छ– छोरीको हत्याराको प्रमाण छोपछाप पार्ने र वास्तविक अपराधीलाई सजाय मिल्ने कुरामा आशा मरिसकेको छ । किन आम नागरिकको सरकारी सुरक्षाप्रति यति धेरै निराशा ?
सरकारले उनको जीवनको सुरक्षाको प्रत्याभूति दिएर उनीमार्फत सत्य कुरा बाहिर ल्याउनु पर्छ । वास्तविक अपराधीको पहिचान गरेर कुकर्मको सजाय दिने वातावरण सिर्जना गर्नु सरकारको कर्तव्य र दायित्व दुवै हो । यो कुराबाट पछि नहटोस्, सरकार । अरु निर्मलाहरूको यस्तो नृशंस हत्या नहोस् ।