कल्पना आचार्य–
साउन २४, काठमाडौं
सक्छ्यौ ?
ए आमा
फर्काइ देउ मेरा बालपनहरु
तिम्रा काखमा निदाउन चाहन्छु
को खाइ को खाइ नानी हाम् ११
तिम्रै हातबाट बुबुमाम खान चाहन्छु,
आज फेरि
तिम्रा रङ्गिन पोतेहरुमा झुन्डिएर
तिनै पोतेहरु चुंडाल्न चाहन्छु,
नुनु गर नानी, नुनु गर
मातृत्वका स्वरमा लोरी सुन्न चाहन्छु
किन कि यो परदेशमा
ननिदाएको धेरै भैसकेको छ ।
सक्छ्यौ ?
ए आमा
आउ बोक मलाई
पटुकीको र मजेत्रोको आडमा
थाकिसकेको छु म
चल्न नसक्ने भएको छु म आज,
छिर्कने हान्नेहरुको भिडमा
छिचोल्न सकिरहेको छैन,
नभए पनि तिम्रो चोर औंला देउ मलाई
त्यही समाएर हिंड्न चाहन्छु
ताते ताते
आउ आज फेरि
मेरो अनुहार माथि झोलुङ्गोमा
एउटा रातो फूल झुन्ड्याइदेउ,
किन कि निराश भैसकेका छन्
मेरा आँखाहरु धुवाँ र धुलो देख्दा देख्दै ।
ए आमा
उप्काउन चाहन्छु तिम्रा राता टिकीहरु
सुन्न चाहन्छु राता चुराहरुको छिन्छिन्।
कहिल्यै नथाक्ने तिम्रा हत्केलामा
थिरै नानी, थिरैथिरै
उभिन चाहन्छु,
टाढैबाट चिन्न सक्ने
तिम्रा गुन्युहरुमा लोटुपुटु भएर
खेल्न चाहन्छु,
काउबुडी काउबुडी
खै मैले त हाँस्न बिर्सिसकेको छु
आएर लगाउ मेरो पेटमा
कि म खित्का छोडेर हांस्न चाहन्छु ।
ए आमा
आउ लगाउ आज फेरि
मेरो निधारमा कालो टिका
कि कसैको म नारी माथि
गिद्धे नजर नलागोस् ।
भोक लागेको छ आमा
मेथी पड्काएको
अङ्गेनामा गूद्गगूद् पाकेको
नरम जाउलो लिएर आउ ।
संसार देखिसकेका मेरा आँखाहरुले
आज तिम्रो उही गाजलु नयन
लाली लत्पतिएका ओठका
मायालु मुस्कान हेर्न चाहन्छु ।
ए आमा
सक्छ्यौ आउ,
आज म पनि
तोते भाषामा
पूराना यादहरु सुनाउन चाहन्छु ।