धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकाको उपाध्यक्षमा दलित समुदायबाट यज्ञकुमारी रुचाल विजयी हुनुभएको छ । एमालेबाट उमेदवार हुनुभएकी रुचालले संघीय समाजवादी फोरमका उपेन्द्र लावतीलाई करिब हजार मतको अन्तरले पछि पार्दै विजयी हुनुभएको हो।
रुचालले ३ हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको छ भने लावतीले २ हजार ६ सय ९९ मत मात्र प्राप्त गर्नुभयो । जिल्लामा नै दलित समुदायको तर्फबाट माथिल्लो तह उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी रुचाल समाजमा रहेको महिलाहरुमाथिको विभेद अन्त्य गरेर छाड्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘अहिले पनि महिला दिदीबहिनी आफ्नो अधिकारको बारेमा खुलेर कुरा गर्न सक्दैनन् । तर म यो पितृसतात्मक सोचलाई जसरी पनि परिवर्तन गरेर छाड्छु । महिलामाथिको विभेद अन्त्य गर्छु ।’