काठमाडौं। मोटरसाइकल मर्मत गर्न सिपालु दाङकी कमला चौधरी मेकानिक हुन् । उनले पाँच जना कामदार राखेर आफ्नै वर्कसप खोलेकी छन् । पूर्वकमलरी उनले एसएलसीसम्म अध्ययन गर्ने अवसर पाएपछि मोटरसाइकल यो सिप सिकिन् । कुनै पनि कामलाई निरन्तरता दियो भने मानिसले पनि विश्वास गर्ने रहेछन् भन्ने उनलाई अहिले लागेको छ । सविता भण्डारी ब्यवसायिक कृषक हुन् । उनले २०५१ सालदेखि ब्यवसायिक रुपमा गाइ पालन र तरकारी खेति गर्न थालेकी हुन् । उनले अहिले १५ वटा गाइ पालेकी छन् ।
यसरी कमाएको पैसा बचत गर्नका लागि उनले साना किशान कृषि सहकारी पनि खोलेकी छन् । सहकारीसँगै महिला कृषकले उत्पादन गरेका दुध बिक्रिका लागि डेरी र मसला पिस्ने मिल पनि संचालन गरेकी छन् । गाउँका पुरुष सबै बिदेशिए पनि घर संचालन र बच्चाको पढाईको जिम्मा महिलाकै काँधमा परेको छ । यही जिम्मेवारीलाई आफूले कृषि ब्यवसायमार्फत राम्रोसँग निभाएको बताउँने सविता सबै खर्च कटाएर महिनामा १५ हजार बचत गर्छिन् । कृषि पेशा भनेको पढेका र नपढेका सबैले गर्न सक्ने भएकाले कृषिप्रधान देश नेपालमा कृषिमा लाग्ने किशानको उचित मुल्य सरकारले निर्धारण गर्नुपर्ने उनको माग छ ।
आफू जस्तै कृषक महिलाले उत्पादन गरेका बस्तुको उचित बजार ब्यवस्थापन सरकारले गरिदियोस भन्ने पनि उनको चाहना छ । कमला र सविता जस्तै धेरै महिलाले आफूले श्रम गरेर बसेका क्षेत्रका बारेमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बताउँदै सरकारले आफ्ना काममा सहयोग गर्नुपर्ने माग राखे । सफा टेम्पो चालक बिमला थापा मगरले आफ्नै लगानीमा टेम्पो चलाइरहेका ९३ जना महिला चालकलाई सरकारको टेम्पो हटाउने निर्णयले साह्रै अप्ठेरोमा पारेको गुनासो गरिन् । सरकारले बैंकको ब्याज अलि सस्तो बनाइदिए यातायात ब्यवसायमा लागेका महिलाका लागि सहज हुने उनको धारणा छ । चौधरी ग्रुपमा फ्लोर म्यानेजरको रुपमा रहेकी नीता श्रेष्ठले महिला जुन ब्यवसायमा लागेपनि शिक्षा उनीहरुका लागि अति आवश्यक रहेको बताइन् ।
कहिले पनि आफूलाई कोही भन्दा कम नठान्ने र पढाईलाई निरन्तरता दिने महिला नै सफल हुने अनुभव सुनाइन् । अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा श्रम र रोजगारीको क्षेत्रमा सम्लग्न महिला तथा किशोरीसँग राष्ट्रपतिको भेटघाट कार्यक्रममा जनकपुरबाट आएकी मिथिलादेवी यादवले घुम्टोबाट बाहिर आएर मिथिला कलाको काम गर्दा सबैले औंला उठाउँने गरे तापनि आफूले काम नछाडेको बताइन् । २०५१ सालमा दाइको सहयोगले करिव ४५ जना महिलालाई तालिम दिएपछि ब्यवसायिक रुपमा मिथिला कलामा लागेकी उनले हाल पनि करिव १५
जना कामदार राखेर यो काम गरिरहेकी छिन् । ‘म एउटा साधारण गृहिणी मात्रै थिएँ, अहिले राष्ट्रपति भवनसम्म आएर बोल्न पाउँदा धेरै खुसी लागेको छ' सबा नेपालकी सदस्य हरिदेवी श्रष्ठले बताइन् । उनले ठमेलमा संचालन गरेको भिलेज क्याफेले गत यमरी पुर्णिमाका दिन मात्रै ८ हजार यमरी बनाएर करिव पाँच लाख रुपैंयाको ब्यापार गरेको छ । घरबाट ननिस्कने र हस्ताक्षरसम्म पनि गर्न नसक्ने महिलालाई क्याफेसम्म ल्याएर आफूले कमाएको बचत समेत गर्न उनले सिकाएकी छिन् । त्यसैगरी क्याफेसम्म आउन नसक्नेलाई आ-आफ्नै ठाउँमा बसेर तरकारी उत्पादन गरी त्यहाँ ल्याइदिने गरेका पनि उनले बताइन् ।
देवकी पौडेलले नुवाकोटका एकल महिलालाई आत्मनिर्भर बनाउने काममा जुटेकी छिन् । घरबाट बाहिर निस्कन गाह्रो हुने अवस्थामा उनले गाउँगाउँमा गएर एकल महिलाको समूह बनाई उनीहरुलाई क्रिस्टलको गहना बनाउने तालिमको साथै काम पनि दिइन् । उनीहरुले बनाएका सामानलाई विभिन्न संघसंस्थामा विक्रिका लागि पुर्याएर त्यहाँबाट आएको रकम उनीहरुलाई दिँदा ती महिलाको मुहारमा झल्कने खुसीले उनलाई पनि सन्तुष्टि मिल्छ । ट्राफिक प्रहरी प्रभाग थापाथलीकी प्रमुख रुपा लाबुङले आफ्नो पेशामा काम पनि एउटै र खटिनुपर्ने समय पनि एउटै भएकाले पुरुष सरह महिला ट्राफिकले पनि काम गर्न सकेकोमा गर्व गर्छिन् । प्रभागअन्र्तगतका ४० जना ट्राफिकले हाल थापाथली त्रिपुरेश्वर खण्डको ट्राफिक नियन्त्रण गर्ने गरेको र महिला भएकै कारणले हुने केही आन्तरिक समस्यालाई आफैले ब्यवस्थापन गर्दै आफ्नो काममा खट्ने गरेको उनले बताइन् ।
सरकारले निश्चित क्षेत्रका लागि छुट्टाएको बजेट लक्षित समूहसम्म पुग्यो कि पुगेन त्यसको अनुगमन हुनुपर्ने राष्ट्रपतिको भनाई ।कार्यक्रममा मनोरन्जन तथा अन्य श्रम क्षेत्रमा काम गर्ने किशोरीले पनि आफ्नो पीडा पोखे । रेष्टुरेन्टमा काम गर्ने सोलुखुम्बुकी सावित्री बस्नेतले रेष्टुरेन्टमा आउने ग्राहकले शाररीक दुब्र्यवहार र अपशब्द बोल्ने गरेको गुनासो गरिन् । राति अबेरसम्म काम गर्नुपर्ने बाध्यता, काम धेरै तलब थोरै, जसरी पनि ग्राहकलाई खुसी पार्नुपर्ने बाध्यताको साथै राति घर जाँदा ट्याक्सी ड्राइभरले समेत गर्ने दुब्र्यवहार बताउँदै सरकारले अनुगमन गरेर यस क्षेत्रलाई मर्यादित बनाउनुपर्ने माग उनले राखिन् ।
इटा भट्टामा काम गर्ने गीता श्रेष्ठ, गलैंचा कारखानामा काम गर्ने तिला बोले र घरेलु श्रमीकका रुपमा रहेकी सोनिया श्रेष्ठले पनि शिक्षा, स्वास्थ्य र आफूलाई मनमा लागेको कुरा भन्न पाउने, खान पाउने, समयसमयमा अभिभावकलाई भेट्न पाउनेलगायतका अधिकार सुनिश्चत गर्न माग राखे । सबै महिलाका कुरा सुनेर कार्यक्रममा उपस्थित महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले राजनीतिमा लागेका हामीले आफूलाई धिक्कार्नुको सिवाय विकल्प नभएको बताए । उनले नेपाली छोरीहरु आगामी दिनमा यस्तो पीडामा पर्न नपरोस भनेर सरकारले संवेदनशील भएर लाग्ने पनि प्रतिवद्धता जनाए ।
राजनीति गरेकोमा धिक्कार भन्ने महिलामन्त्रीको शब्दमा आफू असहमत रहेको जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिलाई औषधिको संज्ञा दिइन् । सरकारले निश्चित क्षेत्रका लागि छुट्याएको बजेट लक्षित समूहसम्म पुग्यो की पुगेन त्यसको अनुगमन हुनुपर्ने बताउँदै उनले भनिन्,‘कृषिमा सरकारले बजेट त बढायो तर मलाई चिन्ता के छ भने बढेको बजेट अनुसार काम हुन्छ की हुँदैन । संसारका कतिपय देशका तुलनामा लैंगिक समानता, सहअस्तित्व र हक अधिकारको कुरामा नेपाल अग्र स्थानमै रहेकोले आज महिलाले पाएका राष्ट्रपति, प्रधान न्यायधिश र सभामुख पदलाई कसरी निरन्तरता दिने भन्नेमा महिला लाग्नुपर्ने धारणा राष्ट्रपति भण्डारीले राखिन् ।