काठमाडौं। रिसाउँदा मान्छेको अनुहारको रंग कस्तो हुन्छ रु खुसी हुँदा रु छटपटीका बेलाचाहिँ कस्तो हुन्छ रु मौसमजस्तै बदलिरहने मान्छेको अनुहारबारे चितवनको भरतपुरकी लक्ष्मी पोखरेललाई सोध्नु अधर्म हुन्छ ।
स्कुल पढ्दाताका उनलाई कसैले यही प्रश्न सोधेको भए उनी भन्ने थिइन्, मान्छेको अनुहार कसरी संवेग, आवेग र अनुभूतिसँगै बदलिन्छ भनेर । स्कुल पढ्दासम्म उनको दृष्टि पूरै गुमिसकेको थिएन । उनी अक्षरसम्म चिन्थिन् । त्यतिबेला उनका निम्ति साँझ छिटो ढल्किन्थ्यो । अरू साथीहरू गाढा साँझसम्मै खेलिरहँदा उनी छामछामछुमछुम गर्नुपर्ने अवस्थामा पुगिसक्थिन् । तैपनि उनलाई थाह थिएन, आफ्ना निम्ति रात किन छिटो पर्छ रु बाआमाले पनि उनको कमजोर दृष्टिको समस्या बुझेका थिएनन् । कालोपाटीमा सरले लेखेका अक्षर उनी देख्दिनथिन् ।
जन्मेदेखि नै लक्ष्मीका आँखाको दृष्टि कमजोर थियो । पाँच कक्षा पुगेपछि मात्रै उनले थाहा पाइन्, आफ्ना आँखामा समस्या अर्थात् ‘लो भिजन’ छ भनेर । सात कक्षा पुग्दा मात्रै उनका अभिभावकले थाह पाए, छोरीको आँखामा समस्या छ । आमाको हात पक्रेर काठमाडौंको तिलगंगा आँखा अस्पताल आएपछि उनले थाहा पाइन्, उनका आँखाको रेटिनामा समस्या रहेछ । डाक्टरले भने, ‘यस्तो समस्याको उपचार सम्भव छैन । उमेरको वृद्धिसँगै दृष्टि झनै कमजोर हुँदै जान्छ ।’ नभन्दै भयो पनि त्यस्तै, एसएलसी पास गर्दा उनले अक्षर चिन्नै छाडिन् ।
आँखा नदेख्ने भए पनि लक्ष्मीको आत्मविश्वासको पारो एसएलसीपछि झनै बढेको थियो । अक्षर नचिने पनि उनी लेख्न सक्थिन् । घुर्मैलो दृश्यका भरमा छामछामछुमछुम गर्दै उनले आफूलाई अगाडि बढाइन् । अरूले पढेको सुनेको भरमा, अरूले पढेर सुनाइदिएको भरमा उनले पढाइ अघि बढाइन् । स्नातक पढेपछि काठमाडौं आइन्, मामाघर बसेर त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट इतिहासमा स्नातकोत्तर गरिन् । त्यसपछि चितवन फर्किन् । शैक्षिक उपाधि र आत्मविश्वासका भरमा भरतपुरको वीरेन्द्र क्याम्पसमा पढाउने काम पाइन् ।
केही साताअघि मात्रै काठमाडौंमा राष्ट्रिय नेत्रहीन संघबाट सम्मानित भएकी उनले सुनाइन्, ‘अरूले तैले सक्दिनस् भन्दा आफूलाई झनै ईख पलाउँदो रैछ ।’ यसरी आत्मविश्वासले सुरु भएको उनको विद्यावारिधिको यात्रा ५ वर्ष ६ महिनासम्म चल्यो । २०७१ भदौ २९ गते उनले त्रिविबाट ‘देवघाट धामको ऐतिहासिक तथा धार्मिक महत्त्व’ शीर्षकमा विद्यावारिधि सकेको प्रमाणपत्र हात पारिन् ।
यो बीचमा उनले गरेको संघर्षको व्याख्या थोरै शब्दमा गर्न सकिन्न । ब्रेललिपि नजान्ने र किताब पढ्न नसक्ने । यी दुई समस्याको चेपबाट पनि उनले अध्ययनलाई जारी राखिन् । उनका छोरीहरू आमालाई किताब पढेर सुनाउँथे । उनी ध्यानमुद्रामा सुन्थिन् । बेलाबेलामा त उनले किताब पढेर सुनाइदिने र अनुसन्धानका लागि मान्छे भेट्न सहजीकरण गरिदिनका लागि मासिक तलब दिएर सहयोगी नै पनि राखिन् । भनिन्, ‘सहयोगीले किताब नपढिदिएको भए, मान्छे भेट्न नसघाइदिएको भए कहाँ सकिन्थ्यो र रु’ १५ वर्षयता भरतपुरको वीरेन्द्र क्याम्पसमा पढाइरहेकी लक्ष्मीका आँखामा १५ प्रतिशत मात्रै दृष्टि बाँकी छ ।
(जनकराज सापकोटाको कान्तिपुरमा प्रकाशित लेख)