भाद्र १८, काठमाडौं । बालबालिकाको अधिकारबारे काम गर्ने एउटा समूहले उत्तरपश्चिम अफ्रिकाको लेक चाड क्षेत्रमा रहेका किशोरीहरू विद्रोही समूह बोको हराम र आफ्नै समुदायबाट हिंसाको खतरामा रहेका जनाएको छ।
प्लान इन्टरन्याशनलले नाइजेरिया, निजेर, चाड र क्यामरुनको केही भूभाग रहेको उक्त क्षेत्रमा रहेका किशोरीहरू निरन्तर त्रासमा बाँचिरहेको जनाएको छ।
लेक चाड क्षेत्रका किशोरीहरूको अवस्थाबारे प्रतिवेदन तयार गर्ने अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले यो वर्षको मार्च र एप्रिलमा उक्त क्षेत्रका १० देखि १९ वर्ष उमेरका ४ सय ४९ जनामाथि सर्वेक्षण गरेका थिए। उनीहरूका अनुसार यी उमेर समूहका बालिका तथा किशोरीहरू खासगरी लैंगिक र किशोरी अवस्थाका कारण बढी जोखिममा छन्।
दबाब
अनुसन्धानमा भाग लिएका किशोरीहरूका अनुसार उनीहरू घरेलु हिंसासहितका कैयौँ दुर्व्यवहारमा परेका छन्। आठ प्रतिशत किशोरीहरूले आफ्नो इच्छा विना आफूहरूलाई अनुचित ढङ्गले छोइएको बताएका छन्।
यौन दुर्व्यवहारको शिकार बनेका किशोरीहरूले उनीहरूलाई आफ्नो समुदायले जसले दुर्व्यवहार गरेको हो उसैसँग विवाह गर्न दबाब दिएको बताएका छन्। आन्तरिक रूपमा लेक चाड क्षेत्रमा २० लाख मानिसहरू विस्थापित भएका छन्।
मानवीय सहायताको क्षेत्रमा काम गर्ने समूहहरूले करिब १ करोड मानिसहरू सहायताको खाँचोमा रहेका जनाएका छन्। उक्त क्षेत्रमा देखिएको सङ्कट सम्बोधनबारे बर्लिनमा भइरहेको सम्मेलनले तत्कालका लागि सहयोग जुटाउनमात्रै नभइ दिगो विकासका लक्ष्यबारे छलफल गर्ने पनि उद्देश्य राखेको छ।
संयुक्त राष्ट्रसंघले यो सङ्कट सम्बोधनका लागि १ अर्ब ५६ करोड डलर चाहिने अनुमान गरेको छ।