Advertisement
Advertisement
Advertisement
Advertisement

सम्भव छ बलात्कारको अन्त्य
चेलीबेटी कति स्वतन्त्रतापूर्वक हिँडडुल गरेका छन्, त्यसले उक्त मुलुकको समग्र मानव अधिकार, लोकतन्त्र र विधिको शासनको मापन गर्छ ।

सम्भव छ बलात्कारको अन्त्य

आरजु राणा देउवा

भाद्र १९ काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तलाई निर्ममतापूर्वक बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको १ महिना नबित्दै त्यही जिल्लामा फेरि अर्की एक महिला सामुहिक बलात्कारमा परेकी अप्रिय खबर बाहिर आएको छ ।

 

यो १ महिनामा देशका अन्य भागमा पनि अरु थुप्रै महिला बलात्कृत भएका छन् । गएको १ वर्षमा मात्रै १२ सयभन्दा बढी बलात्कारका उजुरी प्रहरीकहाँ परेका छन् । यो तथ्यांकले नेपालमा हरेक दिन कम्तीमा ३ महिला बलात्कृत भइरहेको देखाउँछ । अर्थात् हरेक दिन मेरै, तपाईंकै वा हाम्रा कुनै नातेदार–साथीभाइकै छोरीचेलीको बलात्कार भइरहेको छ । युवतीहरू मात्रै होइन, कोपिलाजस्ता कलिला बालिकाहरू पनि बलात्कृत भइरहेका छन् ।

 

बलात्कारको ग्राफ उकालो लाग्नुको अर्थ महिला विरुद्धको पाशविक अपराध बढ्नुमात्रै होइन । दण्डहीनता मौलाउनु पनि हो । हाम्रा छोरीचेलीलाई सम्मान र सुरक्षासाथ बोल्ने, हिँडडुल गर्ने र जिउने वातावरण निर्माण गर्नुबाट राज्य नराम्ररी चुक्नु पनि हो ।

 

बलात्कार एउटा देखिने रोग हो । तर त्योभन्दा पनि बढी एउटा नदेखिने रोगको लक्षण हो । महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने राज्यको स्त्रीद्वेषी सोच र पुरुषवादी सामाजिक संरचनाका कारण भित्रभित्रै महामारीकै रूपमा फैलिरहेको अदृश्य रोगको लक्षण हो, बलात्कार । फितलो कानुन र त्योभन्दा फितफो कार्यान्वयन प्रणालीका कारण बलात्कारको विषवृक्ष अझ झाङ्गिँदै गएको छ ।

 

प्रहरीले जुन शैलीमा निर्मला पन्त बलात्कार–हत्याकाण्डको छानबिन गर्‍यो, त्यसले हाम्रो न्यायप्रणाली कति सुस्त र निष्प्रभावी रहेछ भन्ने छर्लङ्ग पारेको छ । यो अनुसन्धानका महत्त्वपूर्ण कडी जोड्ने प्रयास नै गरिएन । संदिग्धहरूसँग सामान्य सोधपुछ गर्नुपर्ने आवश्यकता पनि प्रहरीले महसुस गरेन । बरु यथेष्ट प्रमाणबिनै एक मानसिक रोगीलाई अभियुक्तको रूपमा पेस गरियो ।

 

अन्य निर्दोषलाई अपराध सकार्न भन्दै चरम यातना दिइयो । र सत्य–तथ्य छानबिनको माग गर्दै सडकमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको छातीमा गोली दागियो । यसबाट प्रहरी छानबिन सुस्त र निष्प्रभावी मात्र नभई बद्नियतपूर्ण पनि हुँदोरहेछ भन्ने देखाएको छ । यसैले अब हामीले हाम्रो न्याय प्रणालीमा संरचनागत तथा प्रक्रियागत सुधार गर्न ढिलो भइसकेको छ ।

 

अबको बाटो फास्ट ट्रयाक कोर्ट 
जब बलात्कारीले तत्काल दण्ड पाउन थाल्छ, तब जोकोही बलात्कार गर्नुअघि १० पटक सोच्न बाध्य हुनथाल्छ । जब समाजले बलात्कृत हुनेलाई नभई बलात्कार गर्नेलाई कलङ्कितको व्यवहार गर्न थाल्छ, तब दबिएर रहेका अन्य पीडित पनि न्यायका लागि बाहिर आउन थाल्छन् ।
 यसैले बलात्कार सम्बन्धी दण्डविधान एवं प्रक्रिया चुस्त–दुरुस्त र आधुनिक हुन जरुरी छ । कतिपय देशले बलात्कारको महामारीसँग जुध्न द्रुत अदालत ९फास्ट ट्रयाक कोर्ट गठन गरिसकेका छन् । नेपालमा पनि यस्तो कोर्ट गठन गर्न जरुरी छ ।

 

फास्ट ट्रयाक कोर्टले चुस्त न्यायमात्रै दिँदैन, सही न्याय पनि दिन्छ । यस्तो कोर्टले बलात्कारका घटनाको प्राथमिकतासाथ निरुपण गर्नेमात्र होइन, त्यसको संवेदनशील सुनुवाइ पनि गर्ने गर्छ । यस्ता अदालतमा लैंगिक रूपले सचेत दक्ष न्यायमूर्ति र न्याय प्रशासन कर्मचारी हुनुपर्छ । घटनाको संवेदनशीलतालाई ख्याल राख्दै बढीमा ३ महिनाभित्र बलात्कार मुद्दाको अन्तिम फैसला आउने प्रावधान गर्नुपर्छ । एउटी बलात्कृत चेलीले न्याय पाउन वर्षौं लाग्ने परिपाटीको अन्त्य गर्न ३ महिनाको सीमा राख्न जरुरी छ । यद्यपि छिमेकी मुलुक भारतमा यो सीमा २ महिना राखिएको छ ।

 

विशेष कोर्ट रुमको व्यवस्था
बलात्कार जस्तो संवेदनशील घटनाको मुद्दा दर्तादेखि प्रमाण संकलन, सुनुवाइ र बहस पनि संवेदनशील रूपमै हुन जरुरी छ । त्यसैले सबै फास्ट ट्रयाक कोर्टमा विशेष कोर्ट रुम डेडिकेटिड कोर्ट रुम को व्यवस्था गरेर प्रक्रियागत काम गर्नुपर्छ ।
 यस्तो रुममा सम्बन्धित व्यक्ति बाहेक अरुको प्रवेशमा नियन्त्रण गर्ने, त्यहाँका सवाल–जवाफको गोपनीयता कामय गर्ने र पीडितमैत्री तालिम प्राप्त जनशक्ति नियुक्त गर्नुपर्छ । उपलव्ध प्रमाणहरू सुरक्षित राखेर संयमतापूर्वक अघि बढाउने पद्धतिको विकास गर्नुपर्छ ।

 

मुद्दा दर्ता गर्ने विधिमा पनि निकै सुधार गर्नुपर्ने देखिन्छ । मुद्दा दर्ताका लागि अहिले अपनाइएको विधि र प्रक्रियालाई सहज र व्यक्तिगत गोपनीयताको दृष्टिकोणबाट समेत सुरक्षित हुनेगरी प्रबन्ध गर्न आवश्यक छ । यसको लागि अनलाइन केस रजिष्ट्रेसनको पनि व्यवस्था गर्न सकिन्छ । मुद्दा सुनुवाइमा नगएसम्म मुद्दा दर्ताको सार्वजनिक नगर्ने, भूमिगत शैलीमा अनुसन्धन वा अन्य अदालती कार्य अघि बढाउने लगायतका रणनीति अपनाउनु आवश्यक हुन्छ ।

 

पछिल्ला अनुसन्धानहरूले नेपालमा ८० प्रतिशतभन्दा बढी बलात्कारका मुद्दाको रिपोर्ट नै नहुने देखाएका छन् । यसले पनि हामीले हाम्रो सामाजिक संरचना अनुसार महिला सुरक्षित हुनेगरी बलात्कारका मुद्दामा दोषीलाई कठघरामा उभ्याउने रणनीति अपनाउन आवश्यक छ ।

 

आत्मसुरक्षा कक्षा
पछिल्लो समय बढेको बलात्कारको तथ्यांकले चेलीहरूलाई आत्मसुरक्षा तालिमको आवश्यकता औंल्याएको छ । चेलीहरूले आत्मसुरक्षाको आधारभूत ज्ञान वा रणनीतिको अब जरुरी भइसकेको छ ।
 अब स्कुलको पाठ्यक्रमदेखि युवाका सिकाइका कक्षामा चेलीहरूलाई बलात्कार विरुद्ध आत्मसुरक्षाको कक्षा सञ्चालन गर्नुपर्ने देखिएको छ । सरकारले देशभरका सबै वडासम्म यस्तो तालिमको व्यवस्था गरेर महिलाहरूलाई मानसिक, भौतिक र सैद्धान्तिक रूपमा बलियो बनाउनुपर्छ ।

 

प्रहरीलाई विशेष तालिम 
बलात्कारका विषयमा गठन हुने अनुसन्धान टोलीमा कसैको प्रभाव नहोस् भनेर विशेष अधिकार सहितको विशेष तालिमको व्यवस्था गर्न जरुरी छ । हामीकहाँ धेरै राम्रा, अनुसन्धानमा खारिएका प्रहरीहरू पनि छन् । तर बलात्कार निकै संवेदनशील विषय हो ।
 यसको अनुसन्धान गर्न मानव अधिकार, महिला अधिकार, गोपनीयता, सामाजिक प्रभाव लगायत विविध विषयमा ध्यान पुग्न जरुरी छ । यसमा हामीसँग बलात्कारका मुद्दामा अनुसन्धान गर्ने प्रहरीभित्रै विशेष सेल गठन गर्नुपर्छ । त्यस्तो नहँुदा कञ्चनपुरकै घटना फेरि दोहोरिन्छ, झुटा अभियुक्त खडा गर्ने कृत्य दोहोरिन सक्छ ।

 

फास्ट ट्रयाक लागू भएका कतिपय मुलुकमा बलात्कारको घटना नघट्नु वा सोचेजस्तो परिणाम नआउनुको कारण न्यायाधीश र अनुसन्धान अधिकृतहरू तालिम प्राप्त नहुनु अध्ययनहरूले देखाएका छन् । हामीले ती देशबाट सिकेर परिणाम निस्कनेगरी तालिमयुक्त जनशक्ति सहितको फास्ट ट्रयाक कोर्टका लागि तयार गर्नुपर्छ ।

 

भारतको बैङ्लोरस्थित सेन्टर फर ल एन्ड पोलिसी रिसर्चले सन् २०१७ मा कर्नाटक राज्यको १० वटा फास्ट ट्रयाक कोर्टमा गरेको अध्ययनले ८० प्रतिशत बलात्कारका मुद्दा साक्षीले आफ्नो दाबी बदलेर र प्रहरीको फितलो अनुसन्धानले गर्दा पुष्टि हुन नसकेको देखाएको छ । हामीले यस्तो परिणामबाट पहिला नै सजगता अपनाएर तालिम प्राप्त जनशक्ति तयार गर्नुपर्छ ।

 

सरकारी संरचनाका साथै बलात्कारका विषयमा कानुन व्यवसायीहरूमा पनि सचेतना वा विज्ञताको आवश्यकता छ । यसका लागि सरकारी र गैरसरकारी दुवैको सहकार्यमा तालिम प्राप्त अधिवक्ताहरू उत्पादन गर्नुपर्छ । कतिपय सन्दर्भमा हाम्रा कानुनका पाठ्यक्रममा सुधार, अध्ययन विधिमा सुधार र बहसको आचारसंहितामा सुधार गर्न जरुरी छ ।

 

सुधारको कानुन पाटो
भर्खरै लागू भएको मुलुकी संहितामा बलात्कारको विषय पहिलाको कानुनभन्दा एक कदम पछाडि फर्किएको छ । महिलाहरूलाई पनि सानातिना गतिविधिका आधारमा बलात्कारका मुद्दा कमजोर गर्ने अर्थात न्यायाधीशको तजविजीमा छोड्ने छुट दिएको छ । बलात्कारमा कानुन कडा हुनैपर्छ । संहितामा उल्लेख भएको बलात्कार सम्बन्धी कानुन संशोधन गर्दै दण्ड र सजायलाई थप कडा बनाउनुपर्छ ।

 

अन्त्यमा,
कुनै पनि मानवले खुला रूपमा हिँडडुल गर्न पाउने ग्यारेन्टी हाम्रो संविधान, ऐनरकानुन र अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेका छन् । आधुनिक युगको सबैभन्दा सुन्दर पक्ष पनि यही स्वतन्त्रता हो । त्यसमा पनि लोकतान्त्रिक मुलुकको सुगन्ध नै नागरिक स्वतन्त्रता हो । त्यसैले बलात्काररहित समाज स्थापना गर्नु हामी सबै मानवजातिको दायित्व हो ।
 यसमा हामी सबैको आआफ्नो ठाउँबाट सहयोग हुन जरुरी छ । हाम्रो जस्तो अझै महिलाको ठूलो हिस्सा चुलो–चुलेसोमा अल्झनुपर्ने मुलुकमा झनै बलात्कारका विषयमा सचेतना बढी हुन आवश्यक छ । सरकारी, गैरसरकारी संघरसंस्था र नागरिकको पहलबाटै हामी सबैको सम्मानसहितको समाज निर्माण गर्न सक्छौं ।

 

बलात्कार निर्मूल गर्न सरकारले नागरिकलाई पनि ‘इन्गेज’ गराउनेगरी कार्यक्रम ल्याउन जरुरी छ । अझै सञ्चार माध्यमको भूमिका यसमा बढी हुन्छ । सञ्चार माध्यमले नै आमधारणा बनाउन सहयोग गर्ने भएकाले पत्रकारहरू पनि यस विषयमा गम्भीर हुन जरुरी छ । समाचार कसरी पस्कने भन्ने शैलीले बलात्कार रोक्ने कि झन् उत्तेजित पार्ने भन्ने सन्देश दिन्छ । तसर्थ मिडिया सचेतना पनि बलात्कार निर्मूल गर्न अझै आवश्यक छ ।

 

यी विषयमा सरकारको गम्भीर ध्यान जतिसक्दो चाँडो पुग्न सक्यो, त्यति चाँडो हाम्रा चेलीहरू सुरक्षित हुन्छन् । म यो लेखमार्फत सरकारलाई बलात्कार निर्मूल समाजका लागि परम्परावादी होइन, आधुनिक रणनीति लागू गर्न आग्रह गर्छु । चेलीबेटी कति स्वतन्त्रतापूर्वक हिँडडुल गरेका छन्, त्यसले उक्त मुलुकको समग्र मानव अधिकार, लोकतन्त्र र विधिको शासनको मापन गर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement