पोखरा । संचारिका समूह पश्चिमाञ्चलले संचारिका महिला पत्रकारिता पुरस्कार २०७३ बाट पश्चिमाञ्चलका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिल भएको भन्दै बसन्ती बास्तोला र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बिहीवार पोखरामा आयोजित एक समारोहमा सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारद्वय बास्तोला र अधिकारीलाई पुरस्कृत गर्नुभएको हो ।
पोखरा घारीपाटनस्थित पोखरा किण्डर गार्टेन ९पिकेजी०का संस्थापक प्रिन्सिपल शिक्षासेवी कमला प्रधानले समाज रुपान्तरणमा निरन्तर कलम चलाइरहेका पत्रकार महिलाको सम्मानका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
उहाँले पुरस्कार वितरण गर्न अयोजित कार्यक्रममा अक्षयकोषमा रकम थप १ लाख बढाएर २ लाखको बनाउने घोषणा गर्नुभयो । सोही कोषको व्याज मार्फत प्रत्येक दुई वर्षमा सक्रिय पत्रकार महिलालाई पुरस्कृत गर्ने सञ्चारिका समूह पश्चिमाञ्चलले जनाएको छ । पुरस्कारको क्रमशः राशि २० हजार १ सय ११ रुपैयाँ र दश हजार १ सय ११ रुपैयाँ रहेको छ ।
१२ वर्षदेखि पत्रकारितामा क्रियाशिल बास्तोला कान्तिपुर दैनिक हुँदै हाल सञ्चारिका समूहद्वारा उत्पादित टेलिभिजन कार्यक्रम समकोण र महिला खबरको फिचर संयोजक छन् ।
त्यसैगरी संचाारिका समूह पश्चिमाञ्चलले वितरण गर्ने अर्को गुरुङ ब्यूटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३ बाट अन्नपूर्ण पोष्ट स्याङ्जाका संवाददाता भवानी अधिकारीलाई पुरस्कृत गरिएको छ । १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल अधिकारी सामुदायिक रेडियो स्याङ्जाको समाचार,सम्पादन प्रमुख समेत हुन् ।
सौन्दर्यविद् चिनु गुरुङले पत्रकार महिलाका लागि स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल पश्चिमाञ्चलका एकजना महिलालाई प्रदान गरिन्छ । यस पुरस्कारका लागि गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष स्थापना गर्नुभएको छ ।