काठमाडौं। स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन तहमा प्रमुख र उपप्रमुखमा विद्यार्थी नेताले जित हात पारेका छन् । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को कार्यसमितिमा रहेका तीन महिला नेताहरूले जित हात पारेका हुन् । ठूला संगठनबाट उम्मेदवार धेरै भए पनि निर्वाचित भने थोरै भएका छन् ।
नेविसंघबाट केन्द्रीय कमिटीका दुईजना र जिल्ला अध्यक्ष एकजना निर्वाचित भएका छन् । महामन्त्री अम्बिका चलाउने अछामको विनायक नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । केन्द्रीय सदस्य कौशल्या भट्ट डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको वर्तमान कार्यसमितिमा रहेका नेताहरू ४ ठाउँमा प्रमुख तथा उपप्रमुखमा विजयी भएका छन् । क्रान्तिकारीकी सचिवालय सदस्य कविता ढुंगाना पहिलो चरणको निर्वाचनमा नुवाकोटको बेलुवाकोटगढी नगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी छिन् । केन्द्रीय सदस्य दर्शना नेपाली कालीकोटको तिलागुफा नगरपालिकाको उपमेयरमा विजयी भएकी छिन्।
अनेरास्ववियुकी केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । अनेरास्ववियुबाट मेयर र उपमेयरमा थोरै उम्मेदवारी परेको थियो । वडामा भने धेरै केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन् ।