दीपेश केसी ►
समाचार विश्लेषण । रेणु दाहालका लागि माओवादी अध्यक्ष प्रचण्डले जुन तहसम्मको रणनीति बनाएर राजनीतिक चार्तुयता देखाइरहेछन् त्यही चार्तुयता कुनैबेला छोरी सुजाताका लागि कुनै समय गिरिजाप्रसाद कोइरालाले देखाएका थिए । रेणुलाई भरतपुरमा जिताउन प्रचण्डले सबै शक्ति केन्द्रित गरे त्यसको परिणाम के होला यसै भन्न सकिन्न । घटनाले देखाउँछ प्रचण्ड आफ्नो उत्तराधिकारीका रूपमा रेणुलाई स्थापित गर्न खोज्दैछन् । चितवनमा व्यक्तिगत पकड जमाउने रणनीति मात्र होइन प्रचण्डको । उनी छोरी भविष्यमा देशको नेतृत्व तहमा पुगुन् भनेर नेतृत्व विकास गर्दैछन्।
कुनैबेला सुजाता काँग्रेसका प्रभावशाली नेताहरूलाई उछिन्दै उपप्रधानमन्त्री सम्म बनिन् तर प्रधानमन्त्री बन्नबाट रोकिइन् । देशले महिला प्रधानमन्त्री पाउनेछ—नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको यो अभिव्यक्तिले नेपाली राजनीतिमा तरंग ल्याएको थियो । कोइरालाले सुजातालाई प्रधानमन्त्री बनाउने तयारी गरेको चर्चा चल्यो ।
राजनीतिमा सक्रिय महिलामध्ये त्यतिबेला सुजाता कोइराला सबैभन्दा शक्तिशाली थिइन् । विवादमा आइरहने निडर स्वभावकी गिरिजाप्रसादकी एकमात्र छोरी सुजाता प्रधानमन्त्री बन्न सक्ने आँकलनहरू भएका थिए । जसरी जवाहरलाल नेहरूले छोरी इन्दिरा गान्धीलाई र जुल्फिकर अलि भुट्टोले छोरी बेनजिर भुट्टोलाई पाकिस्तानमा पूर्वतयारीका साथ नेतृत्व विकास गरेर प्रधानमन्त्री बन्ने मार्ग तयार गरेका थिए त्यसरी नै सुजाता नेतृत्वमा पुग्ने सम्भावनाहरू थियो । काँग्रेसको एउटा शक्तिशाली समूह नै सुजातासँग नजिक थियो । काँग्रेसभित्र सुजातालाई रोक्ने खेलहरू भइरहेका थिए जुन राजनीतिमा स्वाभाविक थियो । शक्तिशाली बाबुको विरासतको आँडमा आफ्नो क्षमतासमेत प्रयोग गरेर अवरोधहरूलाई पन्छाएर देशको प्रथम महिला प्रधानमन्त्री बन्ने अवसर सुजाताले सदुपयोग गर्न सकिनन् । यद्यपि उनी अझै राजनीतिमा सक्रिय छिन् र कुनैपनि बेला मौका आउने आशामा छिन् । राजनीति सम्भावनाको खेल हो असम्भव भन्ने हुँदैन । तर, सुजाताका लागि देशको प्रधानमन्त्री पदमा पुग्न सजिलो चाहिं छैन ।
आरजुको आँखा
जसरी सुजातालाई राजनीतिमा अगाडि बढाउन गिरिजाप्रसाद कोइरालाले भूमिका खेलेको चर्चा चल्थ्यो त्यसरी नै काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई बढाउन खोजेको चर्चा चल्न थालेको छ । देउवाले आरजुलाई संसद सदस्य बनाएपछि काँग्रेसवृत्तमा त्यसबारे छलफल चल्न थालिसकेको थियो । देउवा प्रधानमन्त्री बनेको बखत आरजुको जुन किसिमको सक्रियता देखिदैछ त्यो प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गर्ने उद्देश्यले प्रेरित रहेको चर्चा काँग्रेसवृत्तमै हुनथालेको छ । भविष्यमा देउवाको विरासत थाम्ने आरजुको पूर्वतयारी देखिदैछ ।
विद्यावारिधी गरेकी टाठीबाठी आरजुले पनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेको देखिदैछ । उनी संसद सदस्य पनि छिन् र राजनीतिक धरातल बलियो बनाउन सक्रिय छिन् । लामो समययता गैर सरकारी संस्था चलाएकी र समाज सेवासम्वद्ध क्रियाकलापमा लागिपरिरहने आरजुले पति प्रधानमन्त्री हुँदाको बखत महिला हक अधिकारका लागि दबाब सृजना गर्ने गतिविधिलाई जोडबल दिइरहेकी छिन् । महिलासँग जोडिएको विषयलाई उनले उच्च प्राथमिकता दिनुका पछाडि राजनीतिक महत्वाकांक्षासँग जोडेर हेर्न थालिएको छ ।
राणा खान्दानकी आरजुको शिक्षादिक्षा विदेशमा भएको देखिन्छ । विद्यालयस्तरको पढाई देखि उच्च शिक्षा समेत भारतमा भएबाट त्यसको लाभ लिन सक्रिय देखिन्छिन् । नेपाली राजनीतिमा दक्षिणको प्रभाव रहने र त्यसमा आफूलाई समाहित गर्ने तत्परता आरजुको पनि छ । त्यसैले, उनको भारत आवत्जावत् निकै बाक्लिएको छ । यूरोप र अमेरिकातर्फ उनको पानीपधेरो जस्तै छ । बेलायतमा छोरा जयवीर सिंह देउवालाई पढ्न पठाएकी छिन् । चाणक्यले भनेजस्तै राजनीति गर्नेको विवाह पनि राजनीति हो । राजनीतिमा लाग्नेहरूमध्ये कतिपयको विवाह देखि सन्तानको अध्ययनको विषय पनि राजनीति नै हुन्छ । यो विषय आरजुको विवाह देखि छोराको पढाईसम्म जोडिएर आउँछ।
अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिबारे दख्खल राखेपनि देशको तल्लो तहको जनताको भावना र अवस्थाको गहिरो ज्ञानचाहिं उनमा कमी देखिन्छ । हुनत सामाजिक संस्था चलाएकी उनले त्यो बुझेको र देखेको दाबी गर्लिन् तर उनले भोगेकी छैनन् । त्यसैले छाउपिडीबारे संसदमा बोल्दा विवादमा परिन् । कतिपय सुदुरपश्चिमवासीले छाउपिडीबारे अपव्याख्या गरेर क्षेत्रलाई बदनाम गर्न खोजिएको तर्क गर्न थालेका छन् । आरजुप्रति नेपाली समाजको तल्लो तह नबुझ्दाको राजनीतिक घाटा आरजुलाई पनि छ जुन सुजातालाई भयो । संभ्रान्त वर्गका राणा शाहहरूलाई मन नपराउने ठुलो तप्का काँग्रेसभित्र पनि छन् । जुन, आरजुको नेतृत्वमा पुग्ने महत्वाकांक्षामा अवरोध हुनसक्छ।
विरासतको राजनीति कठिन हुँदै
विरासतको राजनीति गर्न काँग्रेसमा पनि कठिन हुनथालिसकेको छ । काँग्रेस पार्टीसँग मनमुटु जोडिएको कोइराला परिवारका लागि समेत नेतृत्वमा पुग्न चुनौतीको पहाड छ । काँग्रेसभित्र लामो संघर्ष गरेर आएका एक से एक युवा नेताहरू उदाइसकेका छन् । उनीहरूले विरासतको राजनीतिलाई चुनौती दिने सम्भावना उत्तिकै छ । गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायाण निधिपुत्र विमलेन्द्र निधि हुन् या वीपीपुत्र सशांक कोइराला नै किन नहुन् विरासतको राजनीतिसँग जोडिएका छन् । तर, पिताको नामाबट मात्र उनीहरूको राजनीति धानिएको होइन । सुजाता हुन् या आरजु, रेणु होस् या मानुसी विरासतको भरमा मात्र देशको महत्वपूर्ण पदमा पुग्न सजिलो छैन ।
अबको सम्भावना
विरासतको राजनीतिको बलमा विद्या भण्डारी एमालेको राजनीतिमा उदाइन् । मदन भण्डारीको निधनपछि राजनीतिमा पुनः प्रत्यक्ष सक्रिय भएकी उनले त्यसपछि निकै संघर्ष गरिन् । मिहेनत र भाग्यको जोडले विद्यालाई देशको प्रथम महिला राष्ट्रपतिको पदसम्म पुर्यायो । विद्यालाई देशको प्रथम महिला प्रधानमन्त्रीको सम्भावितका रूपमा लिइन्थ्यो । राष्ट्रपति भइसकेकाले अब उनी प्रधानमन्त्रीको दाबेदार नहुन सक्लिन् । यस अवस्थामा एमालेले तत्काल प्रथम महिला प्रधानमन्त्री दिन सक्ने सम्भावना न्युन छ । अष्टलक्ष्मी शाक्य उपाध्यक्ष छिन् तर उनको पकड पार्टीभित्र बलियो देखिदैन ।
काँग्रेसबाट प्रधानमन्त्री बन्न सक्ने महिलामा सुजाता, चित्रलेखा र आरजु नै हुन् । गिरिजाप्रसाद कोइरालाको निधनपछि सुजाताको पकड कमजोर भयो । अहिले पुनः शक्तिसंचयमा लागेकी छिन् । तर, पुरानो अवस्थामा फर्केर प्रधानमन्त्रीको बाटो खोल्न कठिन छ असम्भव छैन । आरजुले शेरबहादुर देउवामार्फत् आफ्नो राजनीतिक भविष्य दरिलो बनाउन सक्छिन् । अन्तर्राष्ट्रिय समर्थन जटाउने क्षमता राख्छिन् तर आन्तरिक राजनीति मिलाउने क्षमतामा उनी पनि कमजोर देखिन्छिन् । काँग्रेसको तल्लो तहको संरचना देखि काम गर्दै उठेका प्रभावशाली नेताहरूलाई उछिन्न सजिलो छैन । राजनीतिक परिस्थिति कुनैपनि बेला उनका लागू अनुकूल नबन्ला भन्न सकिन्न ।
माओवादी अध्यक्ष प्रचण्डले छोरी रेणु दाहालको राजनीतिक भविष्यका लागि व्यर्थमा शक्ति लगाएका होइनन् । जुन तहमा छोरीलाई जिताउने रणनीति बनाएर लागेका छन् त्यसले भविष्यमा छोरीलाई नेतृत्वमा स्थापित गर्ने महत्वाकांक्षा जोडिएको देखिन्छ । प्रकाश दाहाल विवादमा आइरहने भएकाले पनि प्रचण्डले रेणुलाई स्थापित गर्न खोजेका होलान् । माओवादीभित्र एकछत्र प्रभाव बनाएका प्रचण्डले छोरीको राजनीतिक भविष्य बलियो बनाएर भावी प्रधानमन्त्रीका लागि ढोका खोल्न खोजेको हुनसक्छ ।
माओवादीभित्र ‘जनयुद्ध’ कालबाट संघर्ष गरेर आएकाहरूले रेणुको नेतृत्वलाई स्वीकार्ने सम्भावना कम छ । तैपनि, प्रचण्डले भरतपुर घटनालाई प्रयोगका रुपमा ल्याएका छन् जसमा छोरीलाई जिताउन सबै रणनीति अपनाइसके । भविष्यमा छोरीलाई देशको प्रधानमन्त्रीका लागि उभ्याउने तयारीमा प्रचण्ड पुगेको भन्दा अतियुक्ति नहोला । नेपाली राजनीतिमा महिलाहरू कमजोर होइनन् र छैनन् । तर, विरासतबाहेकको राजनीतिबाट उदाएकाहरू प्रधानमन्त्री बन्न सक्ने सम्भावना अझै देखिइसकेको छैन । अबको दश वर्षमा प्रथम महिला प्रधानमन्त्री बनेमा विरासतको राजनीतिबाट आएकाहरूबाटै बन्नेछन् । होइन भने देशले अझै केही दशक कुनुपर्नेछ । रिपोर्टर्स नेपाल डटकममा प्रकाशित समाचार विश्लेषण ।