Advertisement
Advertisement
Advertisement
Advertisement

प्रचलित कुप्रथाका कारण बालिकामाथि अपराध

  |      12:25:00   |  
web imege
web imege

पुस २५, काठमाडौं । रुकुम पूर्वमा छोट्टी बस्ने र तानी विवाहको विकृत प्रचलनले बालिकाहरु सधैँ दबाब, हिंसा र बलात्कारको त्रासमा रहन्छन् । कसले कतिबेला श्रीमती बनाउन तान्ने हो भन्ने डरमा बाँचेका यहाँका बालिकाको जीवनको विकास क्रम नै यो कुप्रथाले अवरुद्ध पारेको छ । 

रुकुम पूर्व — त्यसदिन बाछीगाउँमा भूमे पर्वको रमझम थियो । गाउँमा डेरा गरेकी १७ वर्षीया किशोरी नाचगान हेर्न पुगेकी थिईन् । त्यति नै बेला एक्कासी चार जना केटा मिलेर उनलाई तान्न थाले । घिसार्दै तकसेरा बजारसम्म पुर्‍याए ।

तानीविवाहको घटना भएको रुकुमपूर्वको तकसेरा र लुकुमगाउँ । छोट्टी बस्ने र तानीविवाह गर्ने प्रचलनविरुद्ध क्रियाशील 'किशोरी अधिकार मञ्चुमा आबद्ध किशोरीहरू ।'

किशोरी रुकुमपूर्व, पुथाउत्तरगंगा–७, जाङबाट १२ कक्षाको परीक्षा दिन आएकी थिइन् । बाटोमा लछारपछार हुँदा उनका कपडा च्यातिए । बचाउ गर्न थालेका स्थानीय महिलाले पनि कुटाइ खाए ।

कुनै फिल्मको जस्तो यो दृष्य तानी विवाहका नाममा रुकुममा प्रचलित कुप्रथाका कारण भएको थियो । किशोरीलाई तान्नेमध्येका मुख्य व्यक्ति दुई सन्तानका बाबु थिए । उनीहरु किशोरीलाई जबर्जस्ती कान्छी श्रीमती बनाउन चाहन्थे ।

प्रहरीले समयमै खबर पाएपछि बीच बाटोमै रोकेर किशोरीको उद्दार गर्‍यो । तान्ने चारै जना पक्राउ परे । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान प्रहरीले गाडीमा राखिसकेको थियो । तर, स्थानीय अगुवा र जनप्रतिनिधिहरु बाटो छेक्न आइपुगे । ‘गाउँघरको परम्परा हो, कार्बाही गर्न पाइँदैन’ भन्दै अघि बढ्न दिएनन् ।

‘सुरूमा किशोरी जाहेरी दिन तयार थिइन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी अन्जना श्रेष्ठ भन्छिन्– ‘तर, अगुवा र जनप्रतिनिधिले परिवारलाई दबाब–धम्की दिएपछि उनले मानिनन् ।’

कतैबाट पनि सहयोग नभएपछि प्रहरीले मुद्दा चलाउन सकेन । ‘स्थानीय परम्पराका नाउँमा किशोरीमाथि हिंसा र यौन दुर्व्यवहार भैरहेको छ,’ डीएसपी श्रेष्ठले भनिन् ।

रुकुम पूर्वमा छोट्टी बस्ने नाममा किशोरीमाथि दुर्व्यवहार गर्ने र जबर्जस्ती तानेरै विवाह गर्ने प्रचलन छ । ‘यही प्रचलनका कारण किशोरीहरु सधैँ त्रासमा रहन्छन्,’ डीएसपी श्रेष्ठ भन्छिन्, ‘उनीहरुको पठनपाठन र दैनिक जीवन प्रभावित भएको छ । तर, पनि कसैले उजुरी गर्दैनन् ।’

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउापालिकास्थित किशोरी अधिकार मञ्चमा आबद्ध किशोरीहरुछोट्टी बस्ने र तानी विवाहबिरुद्ध सचेतना फैलाउँदै ।

छोट्टी बस्ने चलन रूकुममा पुरानो हो । साँझपख केटा–केटीहरू कुनै साझा ठाउँ वा केटीको घरमा भेला भई दोहोरी गाउने र नाच्ने, गीतबाटै प्रेम र विवाहको प्रस्ताव राख्ने प्रचलनलाई छोट्टी बस्ने भनिन्थ्यो ।

बुढापाकाकाअनुसार उहिले केटाहरू बाहिरको कोठामा बसेर गाउँथे भने केटीहरू भित्र परिवारकै साथमा रहेर गाउँथे । जिल्ला समन्वय समिति रूकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ बिस्तारै यो चलनले विकृत रुप लिँदै गएको बताउँछन् । ‘अहिले त केटीलाई समाउने, अंगालो हाल्ने र दुर्व्यवहार गर्नेसम्म हुन थाल्यो,’ उनी भन्छन्, ‘कोही केटी मान्छे देख्नै नहुने, जिस्काउने, कोठामा गएर दुर्व्यवहार गर्ने र तानेरै श्रीमती बनाउनेसम्म भइरहेको छ ।’

गएको साउन ४ मा कुचिबाङकी २० वर्षीया युवतीलाई लुकुमका चार युवाले हिंड्दाहिंड्दै तान्न थाले । तानिरहेको भिडियो खिचेर उनीहरुले सामाजिक सञ्जालमा समेत राखे । दुर्व्यवहारमा परेकी युवती जसोतसो उम्किन सकिन् । पीडित युवतीले प्रहरीमा जाहेरी दिने हिम्मत जुटाउन साउन २८ सम्म पर्खनु पर्‍यो । घटनामा संलग्न भूमे–२ का ४० वर्षीय जयकुमार पुन, २६ वर्षीय विकास पुन, २६ वर्षीय कमल पुन र भूमे–३ का २९ वर्षीय विकास रोका मगर पक्राउ परे ।

जिल्ला प्रशासन कार्यालयले असोज ४ गते प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना र पीडितलाई विकास रोका मगरबाट ४ हजार, जयकुमार पुन, विकास पुन र कमल पुनबाट ३र३ हजार क्षतिपूर्ति भराउने फैसला गर्‍यो ।

छोट्टी बस्ने र तानी विवाहका नाममा हुने हिंसाविरुद्ध जिल्लामा कार्बाही भएको यो नै पहिलो घटना भएको डीएसपी श्रेष्ठ बताउँछिन् । भन्छिन्, ‘पहिलोपटक पीडित युवतीबाट जाहेरी परेर कार्वाही भएको छ । समाजले साथ दिएमा यो क्रम अझै बढ्ने छ ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुम पूर्वमा १० देखि २४ वर्षसम्मका बालिकारयुवतीको संख्या ९ हजार ४३८ छ । उनीहरुमध्ये अधिकांशले यौन दुर्व्यवहार र हिंसा व्यहोरिरहेका छन् । यहाँका तीन स्थानीय तह सिस्ने, भूमे र पुथा उत्तरगंगामध्ये पुथा उत्तरगंगामा तानी विवाहका नाममा बालिकारकिशोरीमाथि हुने हिंसा बढी छ ।

‘हामीहरु पाइलापाइलामा जोखिममा छौं । विद्यालय जाँदै गरेकी किशोरी बाटोमै कसैको श्रीमती बन्न सक्छे,’ पुथाउत्तरगंगा–१० बाछीगाउँकी १६ वर्षीया संगीता राम्जाली भन्छिन्, ‘जीवन अनिश्चित हुँदा ठूलो सपना देख्न पनि पाइँदैन ।’

८२ प्रतिशत माथि दुर्व्यवहार

रुकुम पूर्वमा किशोरीरबालिका हिंसा कतिसम्म भयावह छ भनेर बुझ्न छोट्टी बस्ने र तानी विवाहको प्रचलन धेरै रहेको पुथा उत्तरगंगा गाउँपालिकाका नौ वटा वडाका १७९ किशोरीहरुमाझ हामीले नमूना सर्वेक्षण गरेका थियौं । सर्वेक्षणमा सहभागीमध्ये ८२.६८ प्रतिशत किशोरीहरुले छोट्टी बस्ने नाममा आफूभन्दा धेरै ठूलो उमेरका पुरुषहरुबाट यौन दुर्व्यवहार खेप्नुपरेको बताए । जसमध्ये ११ वर्षका बालिकाहरुको संख्या समेत उल्लेख्य छ । तीमध्ये ५६.४२ प्रतिशत किशोरीले एकपटक, २०.६७ प्रतिशतले दुईदेखि पाँचपटक र ५.५ प्रतिशतले पाँचपटकभन्दा धेरै यस्तो दुर्व्यवहार र हिंसा खेपेका छन् ।

सर्वेक्षणमा सहभागी ११ देखि २० वर्षसम्मका बालिकारकिशोरीमध्ये ७७.०९ प्रतिशतले तानी विवाह भएको प्रत्यक्ष देखेका छन् । १.११ प्रतिशत त आफैं तानी विवाहमा परेका छन् ।

अझ उदेकलाग्दो त बालिका र किशोरीमाथि यत्रो हिंसा भइरहँदा पनि सबैजसो ९९७.२० प्रतिशत० ले कतै उजुरी गरेका छैनन् । उजुरी गर्ने २.७९ प्रतिशतले पनि न्याय पाएका छैनन् ।
 

उजुरी नगर्नुको कारण के हो ?

धेरै (९३.८५ प्रतिशत ) ले हिंसा गर्नेलाई कार्बाही भएको देखेकै छैनन् । त्यसैले उनीहरुलाई न्याय पाउनेमा विश्वास नै छैन । यही कारण उनीहरु हिंसा चुपचाप सहिदिन्छन् । झण्डै एकतिहाई (२७।९३ प्रतिशत ) लाई समाजमा निरन्तर देख्दै–भोग्दै आएको यो प्रचलन हिंसा हो र पीडकलाई कार्बाही हुन्छ भन्ने नै थाहा छैन । उनीहरु भाग्य नै यस्तो भन्दै बस्छन् ।

त्यस्तै २२.९० प्रतिशतले कार्बाही हुँदैन भनेर, १५.६४ प्रतिशतले चलिआएको चलन भनेर, ११.१७ प्रतिशतले अभिभावक र समाजको डरले तथा २२.३४ प्रतिशतले माथिका सबै कारणले उजुरी दिएका छैनन् ।

छोट्टी बस्ने र तानी विवाहको त्रास बालिकाहरुमा यति बढी छ कि, ७८.७७ प्रतिशत किशोरीको दैनिक जीवन र पढाईमा यही पीडाको असर छ । यो परम्पराका कारण ३९.१० प्रतिशतले आफू सधैँ त्रासमा रहेको र त्यसैकारण परीक्षामा राम्रो गर्न नसकेको बताएका छन् । ८.९३ प्रतिशतले हिंसाकै डरले आफ्नो घरदेखि टाढा गएर पढ्न नसकेको जवाफ दिएका छन् । १४.५२ प्रतिशतले कसले कुन बेला तान्छ भन्ने त्रासकै कारण पढाइ नै छोड्नुपरेको छ ।

सर्वेक्षणमा सहभागी सबैलाई अन्योलपूर्ण भविष्यका साथ बाँच्नुपर्ने बाध्यताबाट तत्कालै छुटकारा चाहिएको छ । यसको उपचारका लागि कडा कानुनी कार्बाही, चेतना अभिवृद्धि र अभिभावकले पहलकदमी लिनुपर्ने उनीहरुको सुझाव छ ।

समाजमा स्त्रीद्वेषी सोचाई कतिसम्म छ भने एकपटक कसैले तानिसकेको किशोरीलाई समाजले ‘दाग लागेको’ ठान्छ । ‘फलानोले छोइसकेको केटी हो भनेर पछिसम्म अरुले विवाह गर्न रुचाउँदैनन्,’ बाछीगाउँकी १४ वर्षीया नबीना बुढा भन्छिन्, ‘अपहरण गरेर लगिएकी केटी फिर्ता आएपछि गाउँमा पुनर्स्थापना हुन सजिलो छैन । तानी विवाह स्वीकार्न बाध्य हुनुपर्छ ।’

हिंसाको यो हद

छोट्टी बस्ने र तानी विवाहको प्रचलनलको त्रासबारे प्रस्ट्याउँदै बाछीगाउँकी १६ वर्षीया बबिता शेर्पाइली भन्छिन्, ‘नयाँ केटी देख्नेबित्तिकै केटाहरु सिधै कोठामा आएर छुने, चलाउने गर्न थाल्छन् । राति पनि ढोका ढकढकाउन आउँछन् ।’

स्थानीय सरकारले पनि यो अमानवीय व्यवहार र हिंसालाई ठूलो समस्याका रुपमा लिएका छैनन् । त्यसैले यसलाई रोक्ने प्रयास समेत गरेका छैनन् ।

पहिले स्थानीय बाल क्लबमा आबद्ध बालिकाहरुले स्वतस्फूर्त रुपमा गठन गरेको किशोरी अधिकार मञ्चले अलिक सक्रियता बढाएपछि गाउँपालिकाले प्रोत्साहन त गर्न थालेको छ तर, मञ्चका प्रदर्शन, सभा र सन्देशमुलक कार्यक्रमको प्रभाव स्थानीय समाजमा परेको देखिँदैन ।

अभिभावकलाई सचेत बनाई किशोरीहरुमाथि भइरहेको यो यौन दुर्व्यवहार रोकथामका लागि गाउँपालिका र युनाइटेड मिसन टु नेपालको समन्वयमा गएको असोज २४ र २५ गते तकसेरामा बालिका सभा आयोजना गरियो । सभामा बालिकाहरुले गत जेठमा भएको तानी विवाहको घटनालाई आधार बनाई नाटक प्रदर्शन गरे । बालिका बचाउन अभिभावक र स्थानीय सरकारलाई हारगुहार गरे । तर पनि अभिभावकबाट साथ नपाएको उनीहरुको गुनासो छ ।

पुथाउत्तरगंगा गाउँपालिकास्तरीय किशोरी अधिकार मञ्चकी अध्यक्ष सरिता शेर्पाइली भन्छिन्, ‘धेरैको १५र१६ वर्षमै विवाह भइसक्छ । कति तानी विवाहमा पर्छन् त कतिलाई तानी विवाहबाट बचाउन छिट्टै विवाह गरिदिने चलन छ ।’ अभिभावकले समेत ‘ठिकै छ, यस्तै हो चलिआएको चलन’ भन्ने गरेको उनले सुनाइन् ।

यही कुप्रथाको त्रासले पढाई र परीक्षामा समेत असर परेको तकसेराकी १५ वर्षीया आरती घर्ती बताउँछिन् । स्थानीय विद्यालयमा नौ कक्षामा पढ्ने उनी भन्छिन्, ‘पढ्दापढ्दै पनि कतिबेला कसले के गर्छ भन्ने चिन्ता हुन्छ । यस्तो नराम्रो चलन रोक्न कोही अघि सर्दैनन् ।’

विद्यालयस्तरका प्रतियोगिता, किशोरी समूहका कार्यक्रम र अन्य काममा घरदेखि टाढा जानुपरे धेरैपटक सोचविचार गर्नुपर्ने अवस्था रहेको पुथाउत्तरगंगा–१२, कोलकी रुपा बिक बताउँछिन् । १० कक्षामा अध्ययनरत उनी भन्छिन्, ‘घरबाट निस्कन डर छ । कतै केही सिक्न जान सक्दैनौं । हाम्रो सुरक्षा गरिदिने कोही छैन ।’

यो गलत प्रचलन नियन्त्रणका लागि समाजले सहयोग नगर्दा प्रहरी एक्लैलाई कठिन भइरहेको ईलाका प्रहरी कार्यालय तकसेराका ईञ्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक डम्बर गिरी बताउँछन् । उनी भन्छन्, ‘यो अभ्यासलाई सबै मिलेर रोक्न नसके अझै लामो समयसम्म यहाँका महिला मानिस भएर बाँच्न नपाउने स्थिति छ ।’

बालविवाह, तानीविवाह र छोट्टी बस्ने प्रथाले बालिकाहरु समस्यामा रहेको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर स्वीकार्छिन् । तर, उनी समाधानको जिम्मेवारी पनि किशोरीलाई नै दिन्छिन् । उनले भनिन्, ‘किशोरीहरु नै सचेत हुनुपर्छ । उनीहरुको पनि केटाहरुसँग सजिलै भुल्ने बानी छ ।’
 

अवसरबाट बञ्चित

तानी विवाहको प्रचलनका कारण रुकुम पूर्वमा बालविवाह दर पनि उच्च छ । तानी विवाहमा परेका बालिका कलिलै उमेरमा सन्तान जन्माउन बाध्य छन् । त्यसैले अरु कसैबाट तानिनु भन्दा, गतिलो लागेको मान्छेसँग सानैमा विवाह गर्नु बालिकाका लागि बाध्यता भइदिन्छ वा परिवारले नै कथित सुरक्षाका नाममा विवाह गराइदिन्छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुम पूर्वमा १५ देखि १७ वर्ष उमेरमा विवाह गर्ने बालक १४.८ प्रतिशत र बालिका २९.७ प्रतिशत छन् । बालक भन्दा बालिका विवाहको दर दोब्बर हुनुको कारण यही बालिकाद्वेषी प्रथा हो । यहाँका सबै स्थानीय तहमा बाल विवाहको यो दर उस्तै उस्तै छ ।

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ यो गलत चलनले बालविवाह बढाएको र विशेषगरी बालिकाहरुको शिक्षा र सीप विकासमा असर पुगेको बताउँछन् । भन्छन्, ‘विद्यालय पढ्दै गरेका केटाभन्दा केटीहरुको धेरै विवाह भएको छ । यस्तो चलन रोक्न गाउँपालिकाले योजना बनाएर काम गर्न खोज्दै छ ।’

गाउँपालिकाले काम गर्न खोजिरहेको भन्ने अध्यक्षको जवाफले नै थाहा हुन्छ, जनप्रतिनिधि आफैं कति संवेदनशील छन् ।

रुकुम पूर्वको कुल जनसंख्या ५६ हजार ७८६ हो । साक्षरता दर ७१.४ प्रतिशत । यिमध्ये ६३.७ प्रतिशत महिला र ७९.७ प्रतिशत पुरुष साक्षर छन् । प्राथमिक तहसम्म अध्ययन् गरेको जनसंख्या ३४.८ प्रतिशत छ । निमावि तहमा पुग्दा यो संख्या घटेर २१.४ प्रतिशत र १० कक्षामा ६.९ प्रतिशतमा झरेको छ । स्नातक तहमा पुग्ने विद्यार्थी त ६८८ जना (१.९ प्रतिशत) मात्रै छन् ।
सर्वेक्षणमा सोधिएका प्रश्न र उत्तर

समाजमा रहेको स्त्रीद्वेषी प्रचलनका कारण बालिकारमहिलाको जीवनमा गम्भीर नकारात्मक असर परिरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम बताउँछन् । उनी भन्छन्, ‘परम्पराका नाममा बालिकामाथि भइरहेको हिंसाले उनीहरुको शिक्षा र स्वास्थ्य मात्र होइन जीवनको दिशा नै अर्कैतिर मोडिदिएको छ ।’

प्रयाजसो एसईई परीक्षाको केन्द्र अध्ययन गरिरहेको विद्यालयभन्दा टाढा हुने गरेको र, त्यस्तो अवस्थामा केन्द्र नजिक डेरामा बसेका बालिकारयुवती जोखिममा पर्ने उनले सुनाए । ‘परीक्षाका बेला उनीहरुको तनाव दोब्बर हुन्छ– छोट्टी बस्ने युवा आएर दुर्व्यवहार गर्लान् भन्ने त्रासले,’ उनले भने, ‘यस्तो गलत चलन रोक्न स्थानीय सरकारले प्रभावकारी काम गर्नुपर्छ ।’

खै सम्मानित जीवनको हक?

‘रुकुममा पहिले रोदी बस्ने, मामाकी छोरीमाथि अधिकार ठान्ने चलन थियो,’ जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ भन्छन्, ‘त्यसैको विकृत रुप यौन दुर्व्यवहारसम्म आइपुग्यो । अहिले त थप गलत हुन थाल्यो ।’

सामाजिक मान्यता एकैपटक हटाउन कठिन हुने भएकाले पहिले समाजमा चेतनाका लागि काम गर्नुपर्ने र त्यसपछि कानूनी कार्वाहीमा जानुपर्ने उनको सुझाव छ ।

छोट्टी बस्ने, तानी विवाह, बालविवाह र बहुविवाह कानुन विपरितका काम रहेकाले यसलाई कानुनीरुपमा निरुपण गर्नसकिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा बताउँछन् । उनी भन्छन्, ‘यस्ता घटनामा तत्काल प्रहरीलाई खबर दिएमा हामी पीडितको उद्दार र पीडकलाई कार्बाही गर्छौं । समाजले साथ दिनुपर्छ ।’

तानीविवाह र छोट्टी बस्ने प्रचलन दुवै कानुन विपरितका काम हुन् । कानुनले निषेध गरेका कामलाई अपराध नमान्ने सरकारी निकाय र सामान्य प्रचलन ठान्ने समाजिक सोच बालिकारमहिलाका लागि दुर्भाग्य भएका छन् ।कानुन थाहा छैन

तानीविवाह, बहुविवाह, बालविवाह, छोट्टी बस्ने नाममा हुने यौन दुर्व्यवहार र शरीर बन्धकको यो प्रथामा मुलुकी अपराध संहिता २०७४ का दफा १७१, १७५, २११, २१२, २१९ र २२४ आकर्षित हुन्छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७१ अनुसार मञ्जुरीबिना कसैले कसैलाई विवाह गर्न वा गराउन पाइँदैन । मञ्जुरीबिना भएको विवाह बदर हुन्छ र त्यस्तो गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ । विवाहको मञ्जुरी २० वर्ष उमेर पुगेका व्यक्तिका हकमा मात्रै लागू हुने व्यवस्था छ । बालविवाह गर्ने गराउने व्यक्तिलाई त तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

त्यस्तै दफा १७५ को उपदफा १ र २ मा बहुविवाह गर्न नहुने प्रावधान छ । उपदफा ४ मा बहुविवाह गर्नेलाई एक देखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानको व्यवस्था छ र यस्तो विवाह स्वतः बदर हुन्छ । तर, तानीविवाह गर्नेमध्ये पहिले विवाह गरिसकेका पुरुषहरु उल्लेख्य संख्यामा छन् ।

तानी विवाह अपहरण वा शरिर बन्धक सम्बन्धी कसुरको काम हो । मुलुकी अपराध संहिता २०७४ को दफा २११ अनुसार अपहरण गर्न नहुने र दफा २१२ अनुसार शरीर बन्धक लिन नहुने कसुरमा तानी विवाहको घटनामा मुद्दा चलाउन सकिन्छ । यसमा सातदेखि दश वर्षसम्म कैद सजाय र ७० हजारदेखि १ लाख रुपयाँसम्म जरिवानाको व्यवस्था छ ।

तानेर जबर्जस्ती श्रीमती बनाउने काम मुलुकी अपराध संहिताको दफा २१९ अनुसार जवर्जस्ती करणी गर्न नहुने कसुरअन्तर्गत पनि पर्छ । जसमा सात वर्षदेखि जन्मकैदसम्मको सजाय र तीन लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

छोट्टी बस्ने नाममा हुने हरेक क्रियाकलाप यौन दुर्व्यवहारका घटना हुन् । यो काम मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार यौन दुर्व्यवहार गर्न नहुनेविरुद्धको कसुर हो ।
दफा २२४ को उपदफा २ मा कसैको मञ्जुरीबिना करणीको आशयले समातेमा, निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा, अस्वभाविक रुपमा एकान्त ठाउँमा लगेमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा, अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा यौन दुर्व्यवहार गरेको मानिने प्रावधान छ ।उपदफा ३ मा यस्तो कसुर गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपयाँसम्म जरिबाना हुने व्यवस्था छ । तर ऐनका यी व्यवस्था कार्यान्वयन गराउन जनप्रतिनिधि, सरकारी निकाय र समाज कोही तयार देखिंदैनन् ।

छोट्टी बस्ने र तानी विवाह गर्नेलाई कार्बाही गर्न सकिने यति धेरै कानुन भएको विषयमा जानकारी दिँदा अभिभावकहरु पनि जिब्रो टोक्छन् । ‘हामी त जसले तान्छ उसको जोई भन्दै बस्यौं,’ पुथा उत्तरगंगा–११, उपल्लो सेराकी ५३ वर्षीया दिलज्योति बुढा भन्छिन्, ‘छोट्टी बस्ने भनेर तरुनी समाउने र तानेर विवाह गर्ने कुरा पुरुषको अधिकार जस्तो लाग्थ्यो ।’

दिलज्योतिकाअनुसार रुकुमपूर्वका बालिका युवतीहरु आजसम्म आफ्नो भविष्य पुरुष र भाग्यको भरमा छोडेर बसेका छन् । यहाँका बालिकारयुवतीहरुले रोजेको मान्छेसँग विवाह गर्न नपाउने र पढेर ठूलो मान्छे बन्ने कुरा सोच्न पनि नसक्ने उनी बताउँछिन् । भन्छिन्, ‘हेर्दाहेर्दै यो चलन हट्यो भने हाम्रा छोरीहरुले ज्यूँदै स्वर्ग देख्थे ।’साभार कान्तिपुर दैनिक


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement