कार्तिक ३,काठमाडौं ।प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्ने देखिएको जनाएकी छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको बताइन् । उनले एसियाली विकास बैंकले गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरेकी थिइन् ।
नेपाल जैविध विविधतामा विश्वमा २७ औँ र एसियामा १० औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पती र जीवहरू छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव ३ प्रतिशत हिस्सा हो ।