प्रिय,
आज म भित्रको ‘म’ ले अजिव सोच्दैछ
तिम्रो छातीको सिरानीमा विश्राम गरिरहेको
यो भारी टाउकोले केही भिन्न सोच्दैछ
तिमीले महसुस गर्यौ कि गरेनौं थाहा छैन
मेरो केशहरू सुम्सुम्याउँदा
नसा नसामा दौडिरहेको रगतको भेलले
केही सन्देश छोड्यो कि छोडेन थाहा छैन
कि, थाहा पाएर पनि नपाएझैं गर्यौ
मलाइ त्यो पनि थाहा छैन ।
प्रिय,
यो सामिप्यताको पल आज
महान् बहसमा उत्रिएका भावनाहरू ओकल्न चाहन्छु
सायद अझ धेरै गुम्साहटमा त्यो विस्फोट हुनसक्छ
र, म पटक्कै चाहन्न तिमीलाई र मलाई जोडेको
‘र’ लाई विस्फोटको छर्राले छर्राले घाइते बनाओस्
त्यसैले प्रिय मलाइ ओकल्न देऊ ।
सुनिता मैनाली
प्रिय,
म भित्र धड्किने ढुकढुकी भन्दा पनि नजिक छौ तिमी
मेरो विगत, वर्तमान अनि सपनाको विज्ञ हौ तिमी
मैले हिँड्न अठोट गरेको मुक्तिको बाटोमा
मेरा खुट्टा काट्न सुर्रिएकाहरू बिरुद्ध
मसालको राँको सल्काउदै अग्रपंतीमा उभिँदै
जीवनमा रस भरिदिने मृत्युञ्जय हौं तिमी
भिन्न पुरुष मैले सोचेको भन्दा पनि
जसलाइ पुरुषवादको मैमत्ताले छुन पनि सक्दैन
असमानताको ज्वारभाटा निभाउने अभियानमा
सत्ताधारीहरूले पस्केका विलासी महलहरूमा
जसको विचारले देह त्याग गर्न सक्दैन
मैले बुझेको तिमी यही हौ ।
प्रिय,
म आफैले कुँदेको कल्पनाको फुलबुट्टे रुमालमा
चित्र पनि कोरेको छु तिम्रा लागि
जहाँ सबैलाई समान देख्ने तिम्रा दुई नजर छन्
महिला या पुरुष समान अवसर अनि क्षमता देख्ने
शासक र शासितरहित समाजको सपना देख्ने
ती नजरभित्र
तिमीभित्रको निश्छलता प्रतिबिम्बित छन्
तिम्रा यस्तै सोचहरूप्रति म नतमस्तक हुन्छु
र त हाम्रो सम्बन्ध दीर्घायुले बारिएको देख्छु ।
प्रिय,
म चाहन्छु समानताको सहर बनाउने यो अभियानमा
तिमी र म हातेमालो गर्दै अग्रमोर्चा सम्हालौं
त्यो अभियानमा निःसन्देह विपक्षीहरूले विपक्षीहरूले
तिमी विरुद्ध विष ओकल्नेछन्
तिमी आइमाईको मुतमा बगेको घोषित हुनेछौ
आइमाई तह लाउन नसक्ने नामर्द हुनेछौ
बराबर हिस्सा नै बराबर माया भन्ने तिम्रो नाराले
तिमी विवेक गुमेको गवाँर हुनेछौ
प्रिय म ढुक्क छु तिमी विचलित हुनेछैनौ
तिमी अबिरल गंगा हौ, जसले गन्तव्यलाई भुल्दैन
जसलाइ समयको बेगले पनि रोक्न सक्दैन
तिम्रो मानवीय बौद्धिकताले
सम्हाल्ने छ तिमीलाई
हामीले जन्माएको विश्वासले सम्हाल्ने छ तिमीलाई
साँच्चै प्रिय,
तिम्रो साथमा नयाँ युगको रचना गर्न चाहन्छु
त्यो युगमा पोथी इज्जतले बास्नेछ
थोती इज्जतले हाँस्नेछ
आइमाईको बुद्धि पनि विज्ञानलाई नै छक्क पार्दै
घुच्चुकबाट टाउको तिर सर्नेछ ।
प्रिय,
सुन्दैमा पनि कति सुन्दर छन् है यी सपनाहरू
म बुझ्छु त्यो सपनाको संसारमा पुग्ने गोरेटा र गल्लीहरू
साँघुरा छन्, काँडेतारले जेलिएका छन्
हामीले साथमा अवरोधहरू फाँड्दै
लक्ष्यको घडेरी फराकिलो पार्नु छ
त्यही घडेरीमा हामी एकीकृत बस्ती बसाल्ने छौं
हाम्रा सन्तानहरू समतामुलक समानताको बगैचामा
ताते ताते गर्दै फक्रनेछन्
मलाइ फूलेको हेर्न मन छ, फक्रेको हेर्न मन छ
त्यसैले प्रिय यो महान अभियानमा मेरो साथ नछोडिदेउ
तिमी भित्रको मानवतालाई नतोडिदेउ ।