पुस ११, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने जनाएकी छन् ।
सन्देशमा उनले बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेका बताएकी छन् ।
विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो ।