- सरस्वती कटुवाल
असार १६, काठमाडौं । फिल्म ‘चिसो मान्छे’को ट्रेलर हेर्दा नै यो फिल्म चाँहि हेर्नैपर्छ भनेर मनले ठानिसकेको थियो । कस्तो चाँहि फिल्म बनेछ भन्ने हुटहुटीले हलसम्म पुर्याएरै छाड्यो । फिल्म रिलिज भए पश्चात मानिसहरुको फिडब्याक ठिकै भन्ने सुनेकी म हलमा छिरेपछि ठिकैमात्र हैन भन्ने तर्क गर्न सक्ने भएँर निस्किए । ‘चिसो मान्छे’ले यथार्थपरक र चित्तबुझदो बनेछ भन्न सक्ने बनायो।
सिनेमाको क्षेत्रफल काठमाडौंदेखि बाजुरासम्मको अनवरत यात्रामा टुङ्गिन्छ । काठमाडौं र बजुराबीचको यात्रामा फिल्मले ओभरसिज र नेपालको सम्पूर्ण भू–भागमा बसोबास गर्ने सारा नेपालीको वास्तविकता चिरफार गर्न भ्याएको छ ।
दिपेन्द्र के खनालको लेखन, छायंकन तथा निर्देशनमा बनेको ‘चिसो मान्छे’ काठमाडौंबाट सुरु हुन्छ । सामान्य परिवारको ड्राइभर अर्थात फिल्मको मुख्य पुरुष पात्रको रुपमा कलाकार अर्पण थापा प्रस्तुत भएका छन् । अर्का पात्र उमेरले साठिठ् कटिसकेका बृद्ध बा जस्को टाउकोमा कालो कपाल देख्न मुस्किलै पर्छ । उनी बाजुरासम्म जाने गाडीको चाँजोपाँजो मिलाउने ध्याउन्नमा एक्कासी फिल्ममा देखपर्छन् । उनी कलाकार देशभक्त खनाल हुन् । यस लगतै गाउले पहिरन र निर्दोष आवरणमा भर्खरै विवाह हुने उमेर पुगेकी महिलाको भूमिकामा नायिका स्वस्तिमा खड्का देखापर्छिन् । बाजुरा जिल्लामा जन्मिहुर्कि गरेकी महिलाको भूमिकामा खरो उत्रिन सफल नायिका खड्का ठ्याक्कै सुदूरपश्चिमका महिलाहरु जस्तै दुरुस्तै देखिन्छन् । बाजुरा जिल्लाको पनि एउटा गाउँमा सिमित बनाइएकी उनी विवाहिता महिला हुन् । काठमाडौं शहरको यथार्थ दृश्यमा अनभिज्ञ पाराले अवलोकन गर्दै हराउँदा उनको निश्चल हेराईमा थुप्रै अर्थहरु बोलिरहेका छन् जस्तो भान हुन्छ । उनी खासमा पहिलो पटक काठमाडौं आएकी हुन्छिन् । यस पछाडि एकाएक त्रिभुवन इन्टरनेश्नल एयरपोर्टको अराइभल वेयको बारमा अडिएर कसैलाई पखिरहेका तिन पात्रहरुको दृश्यमा गएर फिल्म ठोकिन्छ । जिपमा उनै बाजुराकी विवाहित महिला, उनका ससुरा र जिप ड्राइभर कतारबाट आउँदै गरेको लास लिन पुगेका हुन्छन् । त्यो लास उनै मुख्य महिला पात्रका श्रीमान र अर्का पात्र बृद्ध बाका छोराको हो । लास बुझिलिएपछि जिप गन्तव्य स्थल बाजुरातर्फ अघि बढ्छ।
काठमाडौंदेखि बाजुरातर्फ हुँइकिएको उक्त जिपमा चार पात्र हुन्छन् । बैकुण्ठबासतर्फ उडिसकेको चिसो मान्छे, श्रीमती, बा र लासलाई बाजुरासम्म पुर्याउन रिजर्भ गरेको जिप चालक । थोरै पात्र, यथेष्ठ सामाजिक चित्रण, परिकल्पना भन्दा बाहिर नेपाली समाजका घटित थुप्रै परिघटनाहरुको संचय हो ‘चिसा मान्छे’ भन्दा फरक पर्दैन्।
नेपाली समाजमा महिलाहरुको यथार्थ कथन र उनिहरुको विवेकमाथि बनावटी समाजले कोरेको लक्षमण रेखामा महिलाहरु कसरी बाँधिएर बाच्नुपर्छ भन्ने भूमिकामा नायिका स्वस्तिमा खड्काले दमदार भूमिका निर्वाह गर्न सफल भएकी छिन् । १५ वर्षको उमेरमा परिवारले विवाह गरिदिएपछि उनले जीवनमा उज्यालो पाटो कस्तो हुन्छ भन्ने कहिँल्यै महसुस गर्न पाएकी हुनन्। श्रीमानले जनवार जस्तो व्यवहार गर्दा पनि सहेर बस्नुपर्छ भन्ने मानसिकता लादेको चिसो समाजमा महिलाहरुको पहिले तन सति जान्थ्यो भने अहिलेको आधुनिक समाजमा महिलाहरुको मन सति जानु परेको तिखो र यथार्थ व्यग्य नायिका मार्फत प्रहार गरिएको छ । सामाजिक सहिष्णुता, मानवियता छेदविच्छेद भईरहेको छ भन्ने यथेष्ठ सिम्बोलहरु कथामा भेटिन्छन् ।
यात्रामा गुडिरहेको लासलाई अन्तिम सदगद गर्ने अवस्थामा पुग्दा पनि मानिसले तल्लो तहको तुच्छ व्यवहार गरेको कुरा देखाएको छ । काठमाडौंबाट लामो यात्रा गरेर राती खाना खाने रुटमा गाडी रोकिन्छ । एकातिर कोरोना संक्रमणले आक्रान्त बनेको विश्वको दैनिकी अस्तव्यस्त त छनै ति माथि एउटा लासलाई आफ्नै गाउँठाउँमा लिएर जादै गरेका तीन पात्रलाई लास बोकेकै कारण भोकभोकै हिड्नु पर्ने वाध्यता आइलाग्छ । खाना खाने योजना मुताविक गाडी रोकिन्छ, होटलमा कार्यरत एक पुरुषले लास बोकेको देखेर खाना छैन भन्दै गरेको कटु व्यवहारले मानविय संवेदनाको अस्तित्व जिर्ण हुँदै गइरहेको छ भन्ने कुरा ‘चिसो मान्छे’ले छर्लङ्ग पारेको छ।
काठमाडौंदेखि बाजुरासम्मको यात्राका क्रममा चिसो मान्छे अर्थात देह उडिसकेको मन्छेको लासले समेत हदैसम्मको अमानविय व्यवहार झेल्नुपरेको तितो यथार्थ कथन फिल्ममा देखाउन खोजिएको छ । कतिसम्म हुन्छ भने एकातिर लासलाई आफ्नै जन्मथलो बाजुरासम्म पुर्याउनका खातिर संघर्षशिल सेतै फुलिसकेका बृद्ध बुबा, श्रीमती र छ महिनाकी छोरीलाई छोडेर भर्खरै कोरोनाले ज्यान गुमाएकी श्रीमतीको शोकाकुल श्रीमानको जीवन चिसो लासलाई न्याय दिन लागि परेका हुन्छन् । तर यात्रामा मान्छेले उनीहरुलाई पिट्ने, बाटो छेकेर जानै नदिने, ट्राफिकले बिना अर्थ बाटो रोकिदिने र पैसा माग्ने गर्छन् । यसरी मान्छेको लास घरसम्म पुर्याउन फिल्मका प्रमुख तीन पात्रहरुको भूमिकाले नेपाली समाजको अहिलेको अवस्थालाई ऐनाले झै छर्लङ्ग देखाएको छ ।
फिल्मको मध्यान्तर भन्दा अलिक पछाडीको एउटा दृष्यले दर्शकको भावुक भएको मनलाई थोरै भएपनि आकर्षक ब्रेक दिन्छ । १५ वर्षको उमेरमै विवाह भएकी बाजुरेली ठिटीलाई मायाको अर्थ बल्ल थाहा हुन्छ, जब उनी कतारबाट आउँदै गरेको आफ्नो श्रीमानको लास लिन काठमाडौं शहर पुग्छिन् । जीपका ड्राइभरसँग उनको मन जोडिन्छ । उनले मायाको अनुभूति गर्छिन् । उनको मनमा जीप चालकको लागि मन प्रफुल्ल हुन्छ । शोकको घडीमा पनि उनले आफ्नो दायित्व निर्वाह गर्दै आफूभित्र फक्रेको प्रेमलाई सरल ढंगले व्यवस्थापन गर्छिन् । अव्यक्त मायामा एकअर्काको लागि नै बनेको प्रेमिल जोडिको रुपमा चिसो मान्छेकी श्रीमती र जीप चालकले चुपचाप गरेको प्रेम निकै नै मन छुने खालको छ । फिल्ममा उनीहरुको मायालाई साच्चै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
बल्लतल्ल बाजुरासम्म लास पुर्याउन सफल फिल्मका प्रमुख पात्रहरुले बाजुरा आफ्नै जन्मथलोमा पुगिसकेपछि खप्नुपरेको सास्ति झनै मुटु छुने खालको छ । गाउँका हुनेखानेले आफ्ना सन्तानलाई शहर पठाउने र गाउँ फर्कदा उनिहरुले निमुखालाई गर्ने व्यवहार राजनीतिक रवैयाका कारण युवाहरुले सिकेको नकरात्मक व्यवहार अमानविय र निच खालको हुन्छ भन्ने देखाइएको छ । आफ्नै गाउँलेलाई परेको मर्का नबुझ्ने र आफ्नो गाउँको भन्दा राजनीतिक परिपाटीलाई प्राथमिकता दिएर गर्ने व्यवहार नेपाली समाजमा झाँगिदै गइरहेको छ भन्ने कुरा फिल्मको अन्तिम भागतिर देख्न सकिन्छ ।
अभिषाप नै भन्नुपर्छ आधुनिकताको नाममा विश्वको प्रभाव नेपालमा परेको छ । तर विकसित मुलुकहरुमा अभ्यासमा भइरहेको देशप्रतिको विकसिल चेतना र जनताले खोजेको सुशासनको चेत हाम्रो देशका शासकहरुमा छैन् । कसरी हुन्छ जनतालाई सास्ति दिन र गैरजिम्मेवार भएर सत्ता मोहमा मात्रै लिप्त भइरहेका हाम्रो देशका नेताहरुको यथार्थ चित्रण ‘चिसो मान्छे’ले छर्लङ्ग हुनेगरि देखाएको छ। राजनीतिका कारण नागरिकले अनाहकमा भोग्नु परेको व्याथाका बारेमा अन्जान बन्दै आफ्नै स्वार्थ पूर्तिमा लागेका दलका नेताहरुमा मानवियताको चेत मासिदै गइरहेका दृष्टान्त प्रसस्तै भेटिन्छन् ।
शहरदेखि गाउँसम्मै मानिसले मानिसलाई गर्ने व्यवहार आजभोलि धन, राजनीतिले मापन गर्न थालिएको छ भनेर फिल्मले व्याग्यात्मक रुपमा प्रष्ट्याउन खोजेको छ । यद्यपि, सदनदेखि गाउँसम्मै नकरात्मक राजनीतिक संस्कार मौलाएको कुरा चिसो मान्छे हेरेर अनुभव गर्न सकिन्छ । यति सम्मकी कतारदेखि बजारा आफ्नै जन्म आगनमा पुगेपछि पनि मरेको मान्छेले सास्ति भोग्नुपर्छ । यात्राका क्रममा मानिसले बाटो छेकेर जीपको टायर पम्पचर गरिदिएको र अन्य थुप्रै दुःख र सास्ति भोगेर पुनः यात्रा गर्दै घरसम्म आइपुगेपछि आफ्नाहरुले कोरोनाका कारण लास छुन नमानेको र दाहासंस्कार गर्न समेत सामेल नभएका गाउँले जनप्रतिनिधीहरुको तुच्छ व्यवहारले फिल्म हेर्न गएका दर्शकहरुलाई भावुक बनाउँछ । यस्तै आफन्तहरुले नछोएपछि गाउँकै दलित युवा लास बोक्न तम्सिदा अजातले छुनु हुन्न भनेर होच्याइएको व्यवहार हाम्रो समाजको यथार्थ चित्रण हो । बृद्ध पिता, श्रीमती, ड्राइभर र एक दलित छिमेकी युवाले अन्तिम दाहासंस्कारका लागि लास लादै गरेको दृस्य साह्रै मन छुने छ । न मलामिको लर्को न लासलाई अन्तिम बिदाइको लागि गरिने धार्मिक परम्पराको बन्दोबस्त । फिल्ममा देखाइएको यस्तो दृष्य हेरेर शायद हलमा नरुने कमै होलान भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो ।
जसरी फिल्ममा लासले समेत धर पाउँदैन् उसैगरी आजभोली मानिस सामाजिक, राजनीतिक, विभेद, नैतिक जिम्मेवारी र संस्कारबाट अलग हुँदै असाधारण जीवनमा जेलिदै गइरहेको छ भन्ने संन्देश फिल्मले दिन खोजिरहेको जस्तो लाग्छ । यथार्थमा त तपाई हामी आफै भुक्तभोगी छौ कि हामी बाँचिरहेको समाज कतातिर मोडिदैछ भनेर । ‘चिसो मान्छे’ एउटा नेपाली कथानक चलचित्र मात्र नभएर अहिलेको नेपाली समाजको पर्दा भित्रको यथार्थलाई प्रस्तुत गर्न सक्ने ओजिलो सिनेमा बन्न सकेको छ जस्तो लाग्छ । पात्रहरु सरल सहज र दुरुस्तै प्रस्तुत भएका छन् । यस्तै, पात्रहरु सूदुरपश्चिमको भाषिक शैलिमा उतिकै भिजेर सरल र उत्कृष्ट रुपमा प्रस्तुत भएका छन् । फिल्म नयाँ पुस्ताका लागि दस्ता बन्न सक्ने संभावनाका मार्गहरु प्रशस्त लिएर उत्कृष्ट बनेको छ भन्दा फरक पर्दैन् ।