Advertisement
Advertisement
Advertisement
Advertisement

किन चुँडिन्छन् कोपिलामै निर्मलाहरू ?
कारबाही गर्ने क्रममा राजनीतिक दबाब र प्रभावलाई तौलिएर बस्ने हो भने अपराध नियन्त्रण कदापि हुने छैन ।

वेब तस्विर
वेब तस्विर

सुशीला कार्की

भाद्र १२, काठमाडौं ।  महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९ वर्ष भएछ । आम महिला जहाँ थिए, त्यहीँ छन् ।

 

तर महिलाको हकमा केही पनि विकास भएकै छैन भनिहाल्न भने मिल्दैन । महिलाले राजनीतिमा ठूलो फड्को मारेका छन् । यस क्षेत्रमा हुनेखाने र राजनीतिक–पारिवारिक पृष्ठभूमि भएका अधिकांश सहरिया महिलाको उन्नति भएको पाइन्छ । आम महिलाको दैनिक जीवन हेर्दा भने समस्या र विकृति बढेको छ ।

 

परिवर्तनका साथै देखापरेका तिनै विकृतिबाट अधिकांश महिला र बालिका प्रताडित छन् । महिलाको सुरक्षा गर्ने दायित्व परिवार, समाज र राज्यको हो । परिवारको सहयोग सन्दर्भमा हामीकहाँ केही उदाहरण छन्, जसलाई इन्कार गर्न मिल्दैन । हाम्रै घरगाउँबाट महिला र बालिका स्वजनबाट बिक्री भएर नारकीय जीवन बिताउन बाध्य भएका घटना छन् ।

 

वैदेशिक रोजगारीको नाममा कुन कामका निम्ति छोरीचेली विदेश जाँदैछन् भन्ने हेक्कासम्म नराखिएका उदाहरण पनि छन् । उल्टै साहुसँग ऋण काढेर, परिवारका निम्ति पैसा आर्जन गर्ने र आर्थिक स्तर उकास्ने नाममा भाषा नबुझिने, संस्कृति नमिल्ने, द्वन्द्वरत मुलुकहरूमा बिना तालिम, मानव तस्करलाई दोहोरो नाफा हुनेगरी काम गर्न जान परिवारले छोरीलाई प्रेरित गरेको देखिन्छ । यसलाई सरकारले पूर्णतः नियन्त्रण गर्नसकेको छैन ।

 

दोस्रो कुरा, समाज यति धेरै व्यक्तिवादी अनि भौतिक सुख प्राप्तिको चिन्तनमा निर्लिप्त छ, क्रमशः आध्यात्मिक र मानवतावादी सोचविहीन बन्दै गएको छ । सामाजिक परम्परा, मूल्य–मान्यता र एकता नेपाली समाजबाट हराइरहेको प्रतीत हुन्छ । अहिले यत्रतत्र राजनीतिको पकड छ । हरकुरालाई राजनीतिक चस्माद्वारा मूल्यांकन गरिन्छ ।

 

हत्या र वारदातलाई लिएर सडकबाट इन्साफका निम्ति आवाज उठ्दा महिलाविरुद्ध हिंसा भएको भन्दा सरकार अनुसन्धान गर्न छाडी विपक्षी दललाई जनता भड्काएको दोषारोपण गर्छ । छिटै धनी बन्ने, बिना परिश्रम अथाह कमाउने आजको प्रवृत्ति हो । दलहरूले आफ्नो संगठन स्थापित गर्ने नाममा गाउँका गुन्डा, मवाली र जाली–फटाहाहरूलाई प्रश्रय दिएपछि सामाजिक मूल्य र मान्यतामा स्वाभाविक खलल पर्ने नै भयो । नेपालीमा एउटा कथन छ– जस्तो रोप्यो, त्यस्तै फल्छ । परिणामतः मुलुकभित्र जब मानव तस्कर, बालुवा तस्कर, गिट्टीढुंगा, माटो तस्कर, वन तस्करहरूको शिर ठाडो भएपछि र तिनकै हुकुम चलेपछि आमजनता कसरी सुरक्षित रहन सक्लान् ?

 

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भयो । त्यसपछि हाम्रो आवासमा सुरक्षार्थ प्रहरीहरू खटिए । एक लट प्रहरी हामीकहाँ पनि आयो । वरपर छुट्टै ठाउँ नमिलेको हुँदा म बसेकै घरको तल्लो तलामा उनीहरूलाई बस्ने व्यवस्था मिलाइयो । केही समयपछि राति–राति गाँजाको गन्ध आउन थाल्यो । निरन्तर त्यो गन्ध आए पनि केही समय मैले सहेँ ।

 

पछि एकजना हवल्दारलाई भनेँ, ‘यहाँ घर वरिपरि गाँजा खाने मानिस आउँदारहेछन्, तपाईंले हेर्नुपर्‍यो । तिनलाई पक्राउ गरी कारबाही गर्नुपर्‍यो ।’ उनले निगरानी गर्दा गाँजा खाने अरू कोही नभएर तिनै सुरक्षामा बसेका प्रहरीहरू भएको यकिन भयो । त्यसबखतको एउटा लट प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कुनै सांसदको सेटिङमा नियुक्त भएको भन्ने सुनियो । सक्षम र योग्यले जागिर नपाउने, पैसाको बलमा हुनेखाने धनी बाबुआमाका बिग्रेका सन्तानले दामभेटी चढाएको भरमा प्रहरीजस्तो संवेदनशील निकायमा जागिर पाउने  कस्तो अवस्था होला ? अनि यस्तो के सुरक्षाको आस राख्ने ?

 

सन् २०१० मा म दक्षिण कोरियाको राजधानी सोलमा एउटा सम्मेलनमा भाग लिन जाँदा थाहा पाएँ, त्यहाँ महिला हिंसाबारे कतै वारदात हुनलागेको सूचना पाउनासाथ प्रहरीहरू पुग्ने र पीडित महिलाको सुरक्षा गर्ने गरिँदोरहेछ । सन् २०१४ मा चीन गएका बेला नेपालीले दिएको एउटा भोजबाट फर्कंदा राति २ बजेको थियो । त्यस्तो राति पनि सडकमा महिला एक्लाएक्लै निस्फिक्री हिँडिरहेका थिए ।

 

भन्दा आक्षेप लगाए जस्तो हुने, हाम्रा प्रहरीको तालिम पञ्चायतकालमा अराष्ट्रिय तत्त्व निवारणमुखी बढी रह्यो । बहुदल प्राप्तिपछि पनि नेता र दलमुखी हुने संस्कार पलायो । अहिलेको सुन तस्करी काण्डले आम प्रहरीको साख गिराएको छ । यसले गर्दा आम जनताको प्रहरीप्रति विश्वास उठेको हो कि भन्ने देखिन्छ । यसको अर्थ नेपाल प्रहरी कमजोर छ वा कामै गर्न सक्दैन भन्ने होइन । चाहेमा प्रहरीले काम गर्न सक्छ । त्यो क्षमता पनि प्रहरीमा छ । किनकि रणबहादुर बम हत्याकाण्ड, रानीबारीका इन्जिनियर दम्पतीको हत्याकाण्ड वर्षौंपछि पनि प्रहरीले पत्ता लगाएको थियो । यद्यपि इच्छाशक्ति, लगनशीलता अनि पीडितको पक्षमा संवेदन हुनुपर्दो रहेछ । राजनीतिक क्षेत्रको दबाब, प्रभाव र भनसुनलाई झेल्न सक्नुपर्छ ।

 

नियुक्तिमा दाम चढाउने र आफन्तवादको संस्कार अन्त्य हुनुपर्‍यो । तालिम यस्तो हुनुपर्‍यो, जसले मानवीय संवेदनशीलता कायम गर्न सकोस् । ‘मेरी श्रीमती हराई, खोजी पाऊँ हजुर’ भनी एउटा गरिब निमुखाले गुहार माग्दा त्यसलाई संवेदनशील भएर लिइदिनुपर्छ । किनकि कर त खाई–नखाई गरिबले पनि तिरेको हुन्छ, बलात्कृत हुने महिलाले पनि राज्यबाट पाउने सुरक्षानिम्ति पेट काटेर कर तिरेकी हुन्छिन् ।

 

पश्चिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा मृतकको बाँच्ने अधिकार हरण भयो । त्यो समाजमा उत्पन्न भएको नकारात्मक प्रवृत्ति र विकृतिको परिणाम हो । अहिले तिनै कुरा रोगका रूपमा समाजमा बढ्दैछ । पहिला मानिसमा जेसुकै भए पनि धर्म, पाप र पुण्यका कुराले समाजलाई केही नियन्त्रण गरेको थियो ।

 

सामाजिक लोकलज्जाको प्रश्न पनि उठ्थे । तर अब ती सब मूल्य–मान्यता हराएर गए । यही प्रवृत्ति निरन्तर कायम रहिरहने हो भने कुनै न कुनै दिन सबैले त्यसको मार भोग्नुपर्ने हुन्छ । फोहोरबाट मुक्ति प्राप्त गर्नसके रोग लाग्दैन, तर हैजा आए त्यसले मान्छे छान्दैन, सबैलाई सोहोरसाहार पारेर लानेछ । उक्त घटनामा प्रहरीले उजुरी पर्नासाथ कारबाही गरेको भए सायद मृतकको ज्यान जाने थिएन । यो संवेदनशीलताको कमी हो ।

 

आजभोलि नाबालिका बलात्कृत भएका र मारिएका वारदात प्रशस्त घटेका छन् । समाजमा दण्डहीनताले प्रश्रय पाएको छ । जसले जे गरे पनि हुन्छ भन्ने भावना पलाएको छ, जुन दण्डहीनताको पराकाष्ठा हो । न्यायालय, प्रहरी र सरकारी वकिलले यस्ता दण्डहीनता विरुद्ध अनुसन्धान गरी कठोर कारबाहीद्वारा सजाय दिलाउने जमर्को गरेमा नियन्त्रण हुनेछ । तर कारबाही गर्ने क्रममा राजनीतिक दबाब र प्रभावलाई तौलिएर बस्ने हो भने अपराध नियन्त्रण कदापि हुने छैन । त्यस्तै सरकारका हरेक निकायले गरिब–धनी, जातीय र दलगत विभेद नगरी आवश्यकता अनुसार सुरक्षा प्रदान गर्न सक्नुपर्छ ।

 

महिला हिंसाको रोकथामका निम्ति मृत्युदण्ड प्रभावकारी कानुनी बाटो हो जस्तो लाग्दैन । सबैले जोड गरे त्यो कानुन पनि बन्ला । तर हाम्रोजस्तो मुलुकमा बलात्कार र हत्या एउटा बलिष्ट पहुँचवालाले गर्ला, तर डोरीमा अर्को निर्दोष नझुन्डिएला भन्न सकिन्न ।

 

महिलाका पनि आफ्ना केही दायित्व छन् । धनसम्पत्ति आर्जन हुने र सुख पाउने नाममा जोकोहीलाई विश्वास गरिहाल्नु राम्रो होइन । अहिलेको समयमा प्रेमी पनि प्रेमीजस्ता देखिँदैनन् । आफ्नै प्रेमिकालाई बोलाएर मवालीहरू भेला पारी बलात्कार गर्न लगाउने कस्ता प्रेमी हुन् ? महिला सुरक्षालाई लिएर कतिपय घटनामा बाबु, दाइ, भाइ, आफन्तमाथि शंका जन्मिएका छन् ।

 

महिलाविरुद्ध हिंसा नियन्त्रण गर्न प्रहरी सक्षम र कानुनी रूपमा भरपर्दो निकाय हो । अन्यायमा परेकालाई न्याय दिलाउनु, क्रयविक्रयमा परेकालाई उद्धार गर्ने अख्तियारी प्रहरीलाई छ । तर अहिले प्रहरीले बलात्कारको सिकार हुने नाबालिकालाई जोगाउन किन सकेको छैन ? जनताले यस कुराको प्रश्न उठाउनु जायज हो । अब प्रहरीले महिलाविरुद्ध हुने हिंसाका घटनामा गम्भीर भएर नियन्त्रणका कदम चाल्नु आवश्यक छ । यसका लागि रेकर्ड राख्ने, संदिग्ध र पहिले त्यस्ता गतिविधिमा संलग्नमाथि निगरानी राख्ने गर्नु आवश्यक छ ।

 

सामान्यतः बलात्कारपछि हत्या किन हुन्छ भने अपराधी प्रायजसो बलात्कृत महिला वा बालिकाको जानपहिचानको परिचित व्यक्ति हुने गर्छन् । तसर्थ अहिले महिला आफन्तबाटै असुरक्षित छन् ।

 

सामाजिक दायित्व निर्वाह गर्ने क्रममा महिलाले पनि दलीय वा अन्य आधारमा विभाजित नभई टोल, गाउँ, नगरवासी महिलाको सर्वाङ्गीण विकास र सुरक्षाका निम्ति एकता कायम गर्नैपर्छ । यस्तो एकता भए ग्रामीण क्षेत्रमा समूहमा मिलेर आयआर्जन वा व्यवसाय गर्नमात्र होइन, सुरक्षाको अनुभूति पनि हुनसक्छ ।

 

हिंसामा परेका वा पर्नसक्ने अवस्थाका महिलालाई समूहले मिलेर बचाउ गर्न पनि सक्छन् । सरकारले दिने सहयोग, शिक्षारप्रौढ शिक्षा तथा रोजगारीरतालिमको फाइदा सबैलाई दिलाउन सक्नुपर्छ । गाउँका बालिकालाई सुरक्षा प्रदान गर्ने, तिनलाई आइपर्ने खतराबारे सजग गराउने कर्तव्य बुज्रुक महिलाको हो । अन्यथा आपसी द्वन्द्व र विभक्त मानसिकता राख्ने हो भने महिलाले अहिले भइरहेका हिंसाबाट मुक्ति पाउन कठिन छ ।

कार्की पूर्वप्रधानन्यायाधीश हुन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement