काठमाडौं। आज प्रकाशित घटना र विचार साप्ताहिकले ‘आरजुका लागि खुल्यो बर्दियाको ढोका’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा छ–प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एव्म नेपाली काँग्रेसबाट समानुपातिक सांसद आरजु राणा देउवाले आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन लागेको जानकारी प्राप्त भएको छ । पहिलो डडेल्धुरमा केन्द्रित आरजुको ध्यान पछिल्लो समय बर्दियातर्फ मोडिएको छ र बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन जग राख्ने कार्यको आरम्भ भएको छ ।
जानकारी अनुसार आफ्नी आमा एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुत्ती गरेर पठाउनु र बर्दिया काँग्रेसका नेता संजय गौतमलाई सिँचाई मन्त्री बनाउनुको मुल कारण आरजु देउवाका लागि बर्दियाको ढोका खोल्नु भएको बताइन्छ ।
प्रतिभा राणाले बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएकोमा उनी राजदूत भएर गएपछि अव चार बर्षसम्म सक्रिय राजनीतिमा फर्कने सम्भावना क्षीण छ । राप्रपाको कोटामा पारेर प्रतिभालाई जापानको राजदूत बनाइएको भएपनि उनलाई राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुको मुख्य भूमिका रहेको थियो ।
त्यस्तै बर्दिया काँग्रेसका सभापतिसमेत रहेका प्रतिभाशाली यूवा नेता संजय गौतमलाई मन्त्री बनाउनका लागि आरजु र प्रधानमन्त्री देउवाको मुख्य भूमिका रहेको बुझिन्छ । गौतमलाई काँग्रेस महामन्त्री शशांक कोइरालाको कोटाबाट मन्त्रिमण्डलमा सामले गरिएको छ । यद्यपी कोइरालाको कोटमा बनाइएको भएपनि प्रधानमन्त्री देउवा र आरजुको इच्छाबाट गौतम मन्त्री बनेका हुन् । यसरी गौतमलाई मन्त्री बनाइएपछि भोलिका दिनमा राजनीतिमा आरजुलाई सजिलो हुने विश्वास छ ।