Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तिम छाउपडी

  |      22:01:00   |  
अन्तिम छाउपडी
 
मनोज थापा  ►
 
साउन ३१, काठमाडौं।  बज्यै ‘छाउ भएँ’ भनेर आँगनमा आउनुपूर्व म नै ‘छाउ भएँ’ भनेर दौडदै आँगनमा पुगिसकेकी हुन्थें । त्यो गोठ अझ पनि सम्झन्छु म, जहाँ ढोका हुँदैनथ्यो–आमा पुरानो च्यातिएको धोतीले ढाक्थिन्, बिस्तरा हुँदैनथ्यो–बज्यै एक मुठो परालमा बोरा ओछ्याउँथिन् अनि म पनि पल्टन्थें फाटो तन्नो ओढेर । उनीहरू मासिक रूपमा एकपटक छाउ भए पनि म भने दुई–तीनपटक हुन्थें–बज्यैसँग, आमासँग र अरू आइमाईसँग । त्यो मेरो बालापनको बानी थियो–अरू छाउपडिँदा आफू पनि छाउपडिनु† उनीहरूलाई थाहा हुँदैनथ्यो, म किन छाउपडिएँ, तर मलाई यतिसम्म ज्ञान थियो कि छाउ हुँदा गोठमा सुतिन्छ ।
 
छाउपडी–प्रथा नेपालको राजतन्त्रको उत्पत्तिभन्दा पुरानो हो । यो महिलामाथिको शोषण हो वा उनीहरूले पाएको दासत्वको प्रतिफल † जे होस्, पुर्खाहरूको सामाजिक ‘विकास’ भए पनि आजसम्म भने नारीलाई ‘दाइजो’ दिइएको छ । यो ‘विकास’ (छाउपडी प्रथा) को पहिलो अंश, अर्थात् छाउपडी, लाई शाब्दिक परिभाषाबाट बुझ्दा दुई शब्दको संयोजन हो । ‘छाउ’ भनेको ‘छुन नहुने वा नछोइन हुने’ हुन्छ भने ‘पडी’ को अर्थ ‘भएकी’ भन्ने हुन्छ । समाजमा छुने क्रियालाई प्राय: नराम्रो मानिन्छ भने ‘छाउ’ को सकारात्मकता कहाँ खोजिन्छ र ? कुनै किशोरी, युवती वा आइमाई छाउ हुँदा घर छोइन्छ र देवता रिसाउँछन्, जसले गर्दा घरमा अनिकाल पर्छ वा परिवारमा कुनै विपत्ति आइपर्छ; गाई–भैंसी छोइए अशुभले ती दुब्लाउँछन् वा थोरै दूध दिन्छन् वा बाँझी हुन्छन् भन्ने धारणा गाउँघरमा अझै व्याप्त छ । त्यसैले छाउपडीलाई घरभन्दा पर गोठमा राखिन्छ ।
 
छाउपडी समस्या वास्तवमै परको, सुदूरपश्चिमको हो । तथापि राजधानीमा रहेका सुदूरपश्चिमेली परिवारमा पनि यो प्रथाको निरन्तरता अझै पाइन्छ– ‘मिन्स’ भएकी भनेर π केही महिनाअघि आन्टीको घरमा खाना खाइरहँदा सोधें– ‘नैनी (नाम परिवर्तन) खै त आन्टी ?’ उहाँले खाना दिँदै भन्नुभयो–‘तेरी बैनी छाउ भएर पल्लो कोठामा छे ।’ म मुसुक्क हाँसेँ र सम्झेँ–महलमा ‘छाउपडी गोठ’ पनि रहेछ ।
 
 छाउपडी प्रथाको विषयमा बूढापाकाले ‘किन’ को उत्तर दिन नसके पनि कोही बाठाहरू यसको निरन्तरताको लागि बोल्छन्–‘यो प्रथा असभ्य कहाँ हो र ? हामीले पो विचारले असभ्य बनायौं । यो अवस्थामा उनीहरूको रक्तस्राव जहाँ, जहिले पनि र बढी मात्रामा हुन्छ । घरायसी काममा बढी नै मात्रामा व्यस्त रहने भएकाले सरसफाइको अवसर मिल्दैन । त्यसैले घर जथाभावी फोहोर नहोस्, आफूलाई सरसफाइको अवसर प्राप्त होस् र स्वास्थ्यका लागि आराम मिलोस् भनेर हो ।’ यो शाब्दिक संयोजनको व्याख्या, तर यो पंक्तिकारलाई स्वीकार्य छैन । यो कुरा आजकी छाउपडीको विषयमा नभएर उनीहरूलाई देखाइएको प्रलोभन भने हो, हिजोकी ‘लखेटिएकी’ छाउपडीको विषयमा प्रस्ट्याइएको कारण हो । 
 
अघिल्लो अनुच्छेदमा थियो–‘जथाभावी फोहोर नहोस् ।’ अब भन्नुहोस्, सफाइ कहाँ, कहिले र कसरी हुन्छ ? कुनै कपडामा रक्तस्राव हुनु भनेको मात्र फोहोर हुनु हो ? वा घरको अरू कुनै फोहोरमैला ? यस्तो फोहोर त सधैं भैरहन्छ । रक्तस्राव हुनुअघि र पछि सरसफाइ गरिन्छ भने यो अवस्थामा गरिँदैन भन्नु मुख्र्याइँ होला । सुनिन्छ, यो अवस्थामा उनीहरू शारीरिक कमजोर हुने भएकाले सक्दैनन् । यही जवाफ हो भने हामी घमण्डी पुरुष उनीहरूलाई, यस अवस्थामा मात्रै भए पनि, सहयोग गर्दैमा जोइटिंग्रे बन्दैनौं । 
 
अझ भनियो–‘सरसफाइको अवसर प्राप्त होस् π’ अरे π बैकान (पुरुष) सरसफाइ नुहाइ–धुवाइलाई मात्र ठान्छ ? यो समयको नुवाइ–धुवाइले महिनाभरि सफा रहिँदैन । कोही छाउपडी नजिक पर्छ भने खोलातिर लाग्छिन् ; होइन भने अलग्गै (उनीहरूको कुनै पनि चीज–वस्तुलाई नछोएर) दिइएको एक बाल्टिन पानीले नुहाउनुपर्छ र कपडा धुनुपर्छ । यसरी बैकिनी (महिला) लाई दुर्दुर् गरेकाले हामी आफैं सुदूर भयौं । आजसम्म बैकानले, ल मानौं फुस्रँे समाजकै दृष्टिमा, जोइटिंग्रे बनेर पनि उनीहरूको काममा सघाएर प्रतिदिन १/२ घन्टा सरसफाइका लागि मिलाईदिन सक्दैनांै भने ऊ पोइ हुनुको मतलबै के रह्यो र ? लाग्छ हामीले अझै पनि दिदी–बहिनी, आमा–काकी, फुपू–भतिजी, बज्यैहरूलाई हप्ताको दुई–तीन घन्टा पनि खाली गराउन सकेका छैनौं ।
 
भनियो–‘स्वास्थ्यका लागि आराम मिलोस्,’ कोही पनि धावक एक घन्टा दौड्छ, ५/६ मिनेट रोकिएर फेरि दौड्छ भने उसले आरामको अनुभव पक्कै पनि गर्दैन । त्यस्तै, बैकिनी २०/२५ दिन लगातार शारीरिक श्रम गर्छे । एक हप्ताको आरामपछि चोखिएर फेरि कामको त्यही बोझ अँगाल्छे भने छाउ हुँदा ‘नाप सजि त भ’ (अलिकता सजिलो त भयो) भन्नु महिलाको आफ्नै मुख्र्याइँ हो र पुरुषको त अझ नाङ्गोपन । उनीहरूको १ हप्ताको घरायसी/शारीरिक काम पनि ‘ती जान्दिछन् तिनकै हा’ (तिनी जान्दछिन् तिनकै हो) भनेर पुरुषले अस्तव्यस्त बनाइदिन्छन्; जुन काम घरमा रहेकी अरू महिलाले अनभिज्ञ भएर गरिरहेकी हुन्छिन् । जसले गर्दा कामको निरन्तरतासँगै छाउपडीलाई ‘थप अस्तव्यस्तताको कोसेली’ स्वत: प्राप्त हुन्छ । ‘चोखिएपछि’ यत्रो शोषण र दमन हुन्छ भने त्यो एक हप्तामा के मासिक–आराम भयो र ? उनीहरूले एक हप्तामा आफ्नो कमजोरी सुध्रिएको महसुस पक्कै पनि गरेनन्; जसलाई मानवजस्तै दर्जाबाट पनि च्युत गरेर पठाइन्छ परको गोठमा सुख्खा भात (दाल) र नुन–खुर्सानी ।
 
बाठाले मानौं ठीक भने–‘सरसफाइ, नुहाइधुवाइ र आराम ।’ तर महाशय π यो जवाफ उद्धरण चिन्ह र अल्पविराममा मात्र सीमित छैन । होला, परम्पराले त्यो ‘महिला अधिकार’ प्रदान गर्‍यो, तर गोठतिर किन भनियो ? गोठ–पशुहरूको बास गर्ने स्थल हो, नारी पशु हुन् जसलाई गोठतिर बास दिइन्छ ? वा पशुभन्दा नीच ? पशुलाई अशुभ हुने ठानेर छाउपडी गोठमा निर्देशित गरिन्छ । अनि अछुत किन ठानियो ? जसलाई त हामी न्यानो कोठामा सफा बिस्तरा–सिरक प्रदान गरेर हेरचाह गर्नुपर्छ । यो कुरो, किनभने, कति छाउपडीले ‘मेरो बाटो काटी वा अशुभ गरी’ भनेर कुटपिट गरिएका, जहाँसम्म मारिएका पनि छन्,–विवशता तिनै गोठमा भत्केर गए । अझै पनि छाउपडीलाई गोठमा एक्ली भेटाएर बलात्कार गरिन्छ । के यो घटनाले तिनका आफ्ना पुरुषलाई घोच्दैन ? लाग्छ, छाउपडीको समाजलाई त्यो स्वतन्त्रता छ, वा भनौं ती बलात्कृतका महाशयले पनि अरूकी छाउपडीलाई गोठ–गोठमा खोज्छन् । के यो अपराध गर्दा त्यो बलात्कारी अछूत भएन ?
 
सुदूरपश्चिमेली कुनामा छाउपड्याइले महिलाहरू स्वयंलाई नै बढी तनाव छ । जहाँ देख्नु हुनेछ सासू–बुहारीको घर झगडाको मूल कारण प्राय: यही हुन्छ । सासूलाई पनि आफ्नी सासूबाट छाउपडिएको र पतिबाट हेपिएको पीडा र दर्दनाक अवस्थाको राम्रो अनुभव हुन्छ । त्यो दर्दनाकतालाई परम्परागत मान्यता ठानेर बुहारीसँग प्रतिद्वन्द्व गर्छन् । यो अवस्थामा पुरुष मौन रहिदिनाले ‘द्वन्द्व’ तरल अवस्थामा रहन्छ । पछि गएर महिलामा छाउपडिनुको मानसिक प्रभाव अज्ञात रूपमा पर्न जान्छ । त्यसैले निरन्तरता दिनुको रहर हुन्छ, किनभने पुरुषको रक्तस्राव कहिल्यै हुँदैन । यस्तो द्वन्द्वले क्रमश: २१ औं शताब्दीलाई पनि छाउपडिन सिकाउँछ । महिला स्वयं असमर्थ बन्छे (जो माइतबाट नै आमाबुवाको निर्देशनमा छाउपडिएकी हुन्छे) भने उपलब्धि कसरी प्राप्त हुन्छ ?
 
‘छाउपडी–प्रथाको उन्मूलन’ को बहस नभएको होइन । यो विषयमा केही समाचार छापिन्छ, तर सहरिया–पाठक (पत्रिका प्राय: गाउँमा पुग्दैनन्) पढ्छन् र ‘यस्तो पनि हुँदो रै’ छ भनेर पल्टाउँछन्, अर्को पाना । लेख र अनुभव पनि प्रकाशित हुन्छन् । यी पाठक, जो बाला छाउपडिएका कथा पढ्छन् र हाँस्छन्–नारीलाई असभ्य ठानेर; तर एकान्तमा श्रीमती र छोरीलाई छाउपडिएको संकेत गर्छन् । यस्तै–यस्तै बेवास्ता र दमन हुने भएकाले नै एक साथीले भने– ‘यो छाउपडी प्रथाको अन्त्यका लागि आन्दोलन सुरु गरौं ।’ मैले सोधें–‘क्रान्तिकारी ?’ ‘हो π’ उसले जवाफ दियो–‘सबै घर–घरका गोठमा आगो लगाउने; प्रत्येक छाउपडीलाई घरभित्र छिराउने; ती ‘रिसाउने द्यौता’ का मूर्ति फोड्ने; मान्दैनन् भने कारबाहीसम्म गर्ने ।’ त्यसैबेला सम्झन्छु म, राष्ट्रको राजनीतिक क्रान्तिको बारेमा–राणा शासनको अन्त्यका लागि सहिद हुनेहरू, प्रथम जनआन्दोलन तुहिँदाको राजतन्त्रको निरन्तरता र दस वर्षे जनयुद्धका हजारौं वीरले स्वीकार गरेको शान्ति–सम्झौता । तर प्राप्ति–शून्य ।
 
अहिले, हुन त यदाकदा, केही व्यक्तिले परिवर्तन ल्याउन खोजेको (वास्तविक ?) सङ्केत दिन्छन् । जस्तो कि, नवौं अनुच्छेदमा झैं घरायसी द्वन्द्व–प्रतिद्वन्द्वको अवस्थामा पुरुषले आÏना माता–पितालाई सम्झाउन सक्दैनन् भने, भागबन्डा लिएर अलग बस्छन् । यो आधुनिक पुँजीवादी युगमा (सांस्कृतिक परम्परागत मूल्य र मान्यता अमान्य रहने भएकाले) ‘भागबन्डा’ एउटा क्रान्तिकारी आन्दोलन नै हो । वास्तवमा, यो आधुनिक–नारीको आधुनिक–पुरुषसँगको समर्थनले भएको आन्दोलन नै मान्नुपर्छ किनभने यी परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासले ग्रस्त बूढाबूढीको पुरानै घेराबन्दीमा बसेर आधुनिक युगमा प्रगति गर्न सकिँदैन । ‘सुदूर’ को भन्दा बाहिरको समाज ठीक उल्टो छ । ती बूढाबूढीभन्दा अलग बस्न सक्यौं अथवा ती बूढाबूढीलाई छाउ नहुन आफैले निर्देशन दिन सक्यौं भने परिवर्तन किन हुँदैन र ?
 
 होला ! अहिलेको प्रचण्ड–दिनले त्यो सम्साँझअघि नछाउपडिनु नै उत्तुङ्ग विजय ठानेको छ । तर म, यो व्यक्तिगत धारणा हो, वास्तविक रूपमा भएको उन्मूलन मान्दिन–तपाईंलाई अमान्य होला, एक दिन मामाघर जाँदा आमाकी आमाले मसँग गुनासो गर्नुभो– ‘बा ऽ ! त्यल्ले देउताकन छुइएली (बाबु त्यसले, बुहारीले छाउ हुँदा, देउतालाई छोई हाली) अनि फलानो–फलानो अशुभ भयो ।’ उनका आँखाबाट तपक्क आँसु झरे । अब के वृद्ध–वृद्धालाई उनीहरूको देवता रिसाउँदाको अशुभले रुवाएर के आफैलाई (अ) शुभ चाहने ?
 
 प्रत्येकका आ–आफ्ना समय, चाहना र विश्वास हुन्छन् । बज्यैको ‘विज्ञान’ भनेको ईश्वरमाथिको विश्वास नै हो । हामी वैज्ञानिक भाषाले उनलाई पूर्ण आधुनिक बनाउन सक्दैनौं, किनभने हिजोको उनको ‘विज्ञान’ बाट ज्ञानसम्म पनि पाइनन् । त्यसैले बुहारी छाउपडिऊन् भन्ने चाहनालाई हामीले के गाली गर्ने ? हो, यी कुरा अन्धविश्वास हुन्, तर यिनको विश्वासतर्फको मार्गमा पूर्ण अन्धकार भएकाले आफ्नै चाल छ, जुन चाललाई हामी अन्धाको चाल भन्छौं । पूर्णतया अन्धकारमा बसेको व्यक्ति पूर्ण उज्यालोमा आउँदा उसको दृश्य झनै तिर्मिराउँछ र वास्तवमै देख्न सक्दैन । त्यसैले हामीले ‘नाप जान्या, राऽ’ (अलिकति जानेका बुझेका) भनेर बूढाबूढीलाई हेला गरेर निर्देशन गर्नु हुँदैन । यो भनेको त अब ती बुढियालाई थुक्न मात्र बाँकी छ । परिवर्तनको नाममा उच्छृङ्खलता गर्नु ठूलो अपराध हो ।
 
छाउपडी प्रथाको आधा–परिवर्तन तर नवीन–परिवर्तन अब भएको छ । यो परिवर्तन सम्पूर्ण सुदूरपश्चिममा नभएर तराई, विशेषत: सहरी क्षेत्रमा भएको हो । महलिा महिलालाई रक्तस्राव हुँदा गोठतिर बाध्य नबनाई (इज्जतका लागि हो कि ?) घरकै एउटा कोठामा राखिन्छ । खाना, नुहाइ–धुवाइको अवसर पनि प्राप्त हुन्छ, … …तर अछुत भने राखिन्छ । यसरी बुहारीले ‘छाउ’ (आधा–परिवर्तन) स्वीकार गर्दा सासूले ‘सुविधा’ (नवीन–परिवर्तन) दिएको संशोधित ‘मिन्स–प्रथा’ हो । परिवर्तनको नाममा ‘आधुनिक–छाउपड्याई’ ले निरन्तरता अवश्य पाउँछ ।
 
वास्तवमा कुनै पनि मान्यताको निकृष्टतालाई सैद्धान्तिक विशिष्टताले समाप्त पार्न सकिँदैन । जब कि हामी चर्पीमा छिर्छौं (यो तुच्छ होला तर मान्य हो) पहिलो स्वाँसमा गन्ध नपाएर छिर्नै मिल्दैन । अर्को शब्दमा भन्नुपर्दा, हामीले मान्यता (छाउपडी–प्रथा) को निकृष्टता (परम्परागत निरन्तरता) लाई केही अंश (निश्चित समय) सम्म स्वीकार गर्नुपर्छ । किनभने योजनाशून्य जोसले छाउपडी–प्रथाविरूद्ध क्रान्ति गर्दा ‘प्रथा’ विगठन भएर पनि ‘छाउपडी’ भने शेष रहिरहन्छ । त्यसैले, एक निश्चित समयका (वर्तमान) महिलाले छाउपडी प्रथाको निकृष्टतालाई स्वीकार गर्नुपर्छ, नत्र युगौंसम्म आफैमाथि शोषण हुन्छ । आमाहरूले बाजेबज्यैको मन र ‘धर्म’ लाई खुसी राखेर उनको मृत्यु नहुँदासम्म छाउपडिनुपर्छ । हिजोकी बज्यै अस्तिका बाजे–बज्यैबाट ‘धर्मको शोषण’ ले छाउपडिनुको मानसिक तनाव रह्यो भने आजकी आमाको वैज्ञानिकताले पनि शोषिनु हँुदैन होला । भूतका कट्टर छाउपडीबाट संघर्ष गरेर आए पनि पीठपछाडि वर्तमानलाई पनि छाउपडिनुको गुह्य छाप र आन्तरिक इच्छा हुन्छ । भविष्यलाई ‘अछुत’ बनाउने बाह्य शिष्टता भए पनि उनीहरूले दैलोमै छोडेको र बुइँगलमा आएको संस्कृतिले आक्रमण गर्छ ।
 
आमाहरूले ‘मौन–आन्दोलन’ अर्थात् ‘अन्तिम छाउपड्याई’ को सन्दर्भमा पूर्णतया सजग, सतर्क, संवेदनशील र दृढ रहनुपर्नेछ । सासूको आस्थावादी दमनलाई स्वीकार गर्दै व्यंग्यात्मक तरिकाले छाउपडिनुपर्छ । यो ज्ञात पीडा र शोषणको प्रतिशोध मनमा लगेर आउने छोरी–बुहारीलाई भने गोठतर्फ लखेट्नु हुँदैन । उनीहरू हामीभन्दा थप ‘वैज्ञानिक’ भएकाले छाउपडीका (अन्तिम छाउपडीबाहेक, किनभने उनीहरू मौन–आन्दोलनमा व्यंग्यका लागि छाउपडिन्छन्) नैराश्य जीवन र जीवनका दु:ख बारे ‘सम्भाव्य छाउपडी’ लाई स्पष्ट, दृढ र बलियो बनाउनुपर्छ । होइन भने ‘विज्ञान’ को तिरस्कार र हेलाबाट छाउपडिएर ‘तैं त छाउ भई’ भनेर मजाकसम्म ××× गर्न पाइने छैन ।
 
मौन–आन्दोलनको विजयपछि सासू–ससुराका चितासँगै छाउपडी गोठलाई भत्काउनुपर्छ । सम्भवत: यो पंक्तिमा शंका पलाउन सक्छ, श्रीमान्को रोकावट आउन सक्छ । सासू–ससुरासँग लडेर ‘महिला अधिकार’ खोज्नेले आँटिलो नजरमा ‘अधिकार’ को अहंले सीधा श्रीमान्का आँखामा हेर्नुपर्छ । यो युगमा महिलाहरू शिक्षित, संवेदनशील र आँटिला भैसकेका छन् । लाग्छ, श्रीमतीको यस्तो अहिंसात्मक आन्दोलनले पुरुषहरू, जो अब सबै बुझ्छन्, सन्तुष्ट रहन सक्छन् अथवा यी श्रीमती आफ्नो एक्लो पतिसँग दसकौं रहेर आजका वर्षहरूमा के प्रेम बाँड्न सक्दिनन्–××× हिजो ‘एक पोइकी साझा जोई’ हुन्थिन् रे ? ती अँध्यारा गाउँमा मात्र केही बैकान पुख्र्यौली द्यौताको खुसीका लागि च्यातिएको धोतीले ढाकिएका छन् ।
 
अब सकिन्छ भने, सम्पूर्ण बालादेखि पाका बूढीहरू एकत्रित भएर ‘पुरुषमाथिको विजय’ को नाराले जलाउनुपर्छ ती भत्किएका, चुहिने गोठहरू । यो विजयको प्रक्रिया र सन्दर्भ सर्वमान्य हुँदैन भने अरू दुई तरिकाले गर्न सकिन्छ–तपाईं जसरी चाहनुहोस् † तर हिंसात्मक अहंको तरिकाले तपार्इंलाई सुविधा भए पनि वृद्घा (अपवादमा राखिएकी महिला) को भने शोषण हुनेछ । त्यसैले तपाईं आधुनिक–महिला पुरानो–महिला (वृद्घा) का लागि, मैले अझ छाउ हुनुहोस् भनेको होइन, अन्तिम छाउपडी बनिदिनुहोस् । यो मौन संघर्षले छाउपडी आउँदा सन्ततिका लागि इतिहासमा सीमित ‘एकादेशको कथा’ हुनेछ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement