काठमाडौं। समाजसेवी अनुराधा कोइराला भारत सरकारको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्म श्रीबाट विभूषित भएकी छिन् । माइती नेपालमार्फत चेलिबेटी बेचबिखन एवं मानव तस्करीका विरुद्ध क्रियाशील कोइरालाले भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन भोग्न बाध्य हजारौं युवतीका पक्षमा काम गर्दै आएकी छिन् । उक्त पुरस्कार पाउने ७५ जनामध्ये कोइराला एक्ली विदेशी महिला हुन् ।
महिलामाथि हुने अत्याचारका विरुद्ध आवाज बुलन्द गर्नुका साथै अनेकौं बेसहाराका सहारा बनेकी कोइरालाले यसअघि सन् २०१० मा सीएनएन हिरो अफ द इयर घोषित भएकी थिइन् भने सन् २००८ मा कोरियाको प्रसिद्ध ग्रान्ड मान्हे पुरस्कार हात पारेकी थिइन् । आफ्नो जीवन नै दाउमा लगाएर समाज सेवामा खटिएकी अनुराधाको उपलब्धिले समग्र नेपालकै शिर उँचो भएको छ ।