काठमाडौं। देउकी प्रथाबारे बनाइएको डकुमेन्ट्री फिल्म ‘इन सर्च अफ देवकी’ को प्रदर्शनीसँगै राजधानीमा बिहीबार पाँचौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु भएको छ ।
देवकी विष्टले बनाएको उक्त डकुमेन्ट्रीले पश्चिम नेपालमा बालिकाहरूलाई देवीका नाममा मन्दिरमा चढाउने प्रथाको चित्रण गरेको छ ।‘राजधानीमा बस्नेहरूलाई देउकी प्रथा अन्त्य भइसकेको जस्तो लाग्छ,’ डकुमेन्ट्री प्रदर्शनपछिको अन्तरक्रियामा विष्टले भनिन्, ‘अझै पनि देउकी प्रथा बाँकी छ ।’
पहिलो दिन देखाइएका प्रायस् डकुमेन्ट्री र फिल्महरू महिलाका विषयसँगै सम्बन्धित थिए ।अदनान जान्डी निर्देशित ‘बटरफ्लाइज’ मा इरानमा एउटी मुस्लिम आमाले आफ्नो शिशुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन गर्नुपरेको संघर्ष देखाइएको छ ।
क्यानाडाका रगहद चाराबाटीको ‘आलिया’ मा गृहयुद्धका बेला बसमा यात्रा गरिरहेकी आफ्नी प्रेमिका गुमाएको कथालाई बुनिएको छ । म्यान्मारका एच टट ए खाय निर्देशित ‘द गुडस’ मा चीनकी अनाथ बालिकामाथि भएको अन्यायलाई देखाइएको छ । अफगानिस्तानको ‘हाउस’, टर्कीको ‘दी इन्ड अफ गुड डेज’, इरानकै ‘आना’, स्विट्जरल्यान्डको ‘सोनिटा’, सिरियाको ‘चेरी डेज’, फिनल्यान्डको ‘जिनिन द ट्रान्स’, भारतको ‘दयाट्स माई ब्वाई’, बेलायतको ‘डान्सिङ विथ डली’ र ‘दे विल हयाभ टु किल अस फस्र्ट’ पनि देखाइए ।
महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘अडियो, भिडियो, फिल्म, डकुमेन्ट्रीहरूले सामान्य मानिसको पनि मन र मस्तिष्क हल्लाउन सक्ने’ बताए । ‘नेपालमा फिल्ममेकरहरूले समेट्न सक्ने थुप्रै विषय छन्,’ उनले भने, ‘फिल्ममार्फत छाउपडी, कुमारी, दलित, पिछडिएका वर्गहरूका समस्या उजागर गर्न म फिल्ममेकरलाई आग्रह गर्छु ।’
ब्राजिलकी राजदूत मारिया टेरियाले स्वास्थ्य सेवा, शिक्षा, महिला, बसाइँसराइ, शरणार्थी, बालबालिकाको अधिकार स्थापनामा विश्वव्यापी रूपमै चुनौती रहेको बताइन् । महोत्सवका सुरुवाती वर्षहरूमा मानवअधिकारका विषयमा नेपालमै बनेका सिर्जना पाउन कठिन भएको उल्लेख गर्दै महोत्सव निर्देशक अरुणदेव जोशीले अहिले भने नेपालमा पनि मानवअधिकारसम्बन्धी फिल्महरू बन्ने क्रम बढ्न थालेको बताए ।