►विष्णुप्रसाद पोखरेल
चैत २०, दमक । दमक नगरपालिकाको बजार अनुगमन चल्दै थियो । दमकको वडा नं। ६ स्थित बसपार्क भित्र बजार अनुगमन भइरहँदा सानो बालकलाई क्रेटमा बाँधेको दृष्यले ध्यान खिच्यो ।
बालकको देब्रे खुट्टा बाँधिएको थियो । वरपर उ खेल्न सक्नेगरि बाँधिएको थियो । तर, बालक भने घिस्रिएर हिँड्न कोशिस गरिरहेको थियो । बालक अघि बढ्न खोजेतर्फ एक महिला होटलका जुठाभाँडा माझ्दै थिईन् ।मैले नजिकै गएर प्रश्न गरें, ‘यो बच्चालाई किन बाँधेको । बच्चाको आमा को हो ।हात पखाल्द भाँडा बाँझ्दै गरेकी महिला आइन् । र, आफ्नो बच्चा भएको बताइन्।उनले गएर बच्चाको डोरी फुकालिदिन् ।
त्यसपछि उनीबारे जान्ने उत्सुकता जाग्यो । सोधिखोजी गर्न थालें । हत्पत उनले बोल्न चाहिनन् । त्यतिबेलासम्म वरपर मान्छे जम्मा भइसकेका थिए ।अनि उनले मुख खोलिन् , ‘उमेर २५ वर्ष । नाम रनमाया लिम्बु । माइतीघर धनकुटाको जीतपुर । श्रीमानको घर इलामको चुलाचुली ।’
दुधे बालक भर्खर ११ महिनाको रहेछ । रनमायाले आफ्नो वास्तविकता खोल्दै गइन् ।श्रीमानको नाम हर्क राई रहेछ । उनी लगातारको घरेलु हिंसा सहन नसकेर घरबाट निस्किएकी रहिछन् । श्रीमानले कुटेर आफ्नो शरीरमा भएको घाउहरु देखाउन थालिन् । एकसाता अघिदेखि भोको रहेको र होटलमा अघिल्लो दिन मात्र आइपुगेको बताइन् ।
उनका अनुसार सासूले पनि यातना दिएर घरबाट निकालेको र श्रीमानले अर्को श्रीमती विवाह गरेका छन् । उनका श्रीमान्ले उनीसहित ४ वटा श्रीमती विवाह गरिसकेको उनले बताइन् ।
आफूलाई भने चिनजानको झुक्याएर विवाह गराइदिएको उनको भनाइ थियो । आफु खासै लेखपढ नगरेको उनले बताइन् ।दमकमा रहेको एक सुरक्षित आवास गृहमा छोरासहित राखिदिने भनेर उनलाई सम्झउँदा उनी मानिनन् । न त श्रीमानलाई उजुरी गर्न तयार नै भइन् ।महिला अधिकारकर्मी एवं साहित्यकार सुमित्रा वाङ्देल चेलीले पनि सेफ हाउसमा जान सम्झाइन् तर उनले मानिन् । सायद उनले सेफ हाउसको महत्व थाहा पाइनन् । एकप्रकारको त्रास उनको अनुहारमा झल्किन्थ्यो । विक्षप्त नै थिइन् ।
आफु भाडा नै माझेर बस्ने भनिन् ।
उनको स्वीकृति बेगर केही गर्न सकिएन । यद्यपि मनमा खेलिरह्यो घरमै हुने हिंसाका कारण एउटा अबोध बालक र महिलालाई बेघर बनाइदियो । यस्ता महिला तथा बालबालिकाहरुले कहिले पाउलान न्याय ।
स्रोत ःमहिला खबर