असोज ७, सुर्खेत । बालकुमारी नेपाली वीरेन्द्रनगर बजारमा अवस्थित नेपाल राष्ट्रिय माविमा ९ कक्षा पढ्दै थिइन् । २ वर्षअघि सत्तरी गाउँका जय नेपालीसँग प्रेम बस्यो । त्यसपछि उनी माइतीमात्र होइन, पढाइ नै छोडेर जयको पछि लागिन् । ‘छिटो बिहे गर्दा सबैभन्दा पछुतो पढाइको भइरहेको छ,’ १८ वर्षीया बालकुमारीले भनिन्, ‘बिहे नगरेको भए अहिले एसईई सकेर कलेज गइहाल्थें कि ?’
साटाखानीको गँगटेबजारमा शनिबार बालकुमारीजस्ता थुप्रै ‘किशोरी–आमा’ भेटिए, जो काखीमा शिशु च्यापेर खोप लगाउन हिँडेका थिए । उनीहरूको मनभित्र भने एउटैखाले पश्चातापको ज्वाला दन्किरहेको थियो– ‘सानैमा बिहे गर्दा पढाइ छुट्यो ।’ बालकुमारीले त ९ कक्षा पढ्दै गर्दा पढाइ छोडिन् । १९ वर्षीया सुस्मिता बोहराको भने मुखैमा आएको एसईईसमेत छुट्यो । उनी वीरेन्द्रनगरको ढोडेखाली माविमा १० कक्षा पढ्दै थिइन्, २ वर्षअघि रुप्सेका सन्तोष बोहराको मायाजालमा परिन् ।
‘बिहे गरे पनि उहाँ पतिले पढाउँछु भन्नुभएको थियो, बच्चा जन्मिएपछि त पढ्ने धोको मनमै मर्यो,’ उनले भनिन्, ‘बच्चा हुर्कियो भने घर व्यवहार मिलाएर पढ्ने सोच बनाएकी छु, हेरौं के हुन्छ ।’
सुर्खेतमा पछिल्लो एक दशक सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाहविरुद्ध अभियान चल्यो । यस क्रममा साटाखानीसहित साबिकका थुप्रै गाविस बालविवाहमुक्त घोषणा भए । बालविवाहको क्रम भने अझै रोकिएको छैन । चौरासेमा यही असारमा ६ कक्षा अध्ययनरत १३ वर्षीया बालिकाले बिहे गरिन् ।
सोही समयमा मावि गँगटेमा ८ कक्षा पढ्दै गरेकी अर्की एक बालिकाको बिहे भयो । ‘बिहे गरी गएपछि स्कुल फर्केर पढेका घटना बिरलै छन्,’ मावि कुइनेपानीका प्रधानाध्यापक श्यामकुमार दर्लामीले भने, ‘जति रोक्न प्रयास गरे पनि फर्काउन गाह्रो हुँदोरहेछ ।’ ३ वर्ष अवधिमा यहाँका करिब १५ छात्राले विवाह गरी पढाइ छोडेका उनले बताए ।
बिहे गर्ने बेला अधिकांश किशोरीको संकल्प हुन्छ– म जसरी पनि पढाइलाई निरन्तरता दिन्छु । व्यावहारिक रूपमा भने उनीहरूको जीवनमा त्यो सम्भव हुँदैन । २० वर्षीया रचना बिरकट्टा त्यस्तै प्रतिनिधिपात्र हुन् । ३ वर्षअघि ११ पढ्दै गर्दा बिहे गरेकी उनले बिहे गरे पनि पढाइ सक्ने योजना बनाएकी थिइन् । ‘अब त पढेर जागिर खाने सपना पूरै हराइसक्यो, सोचेजस्तो हुँदो रहेनछ,’ उनले भनिन्।
मावि चौरासेका प्रधानाध्यापक टंक लामिछाने बिहे गरी गएका छात्रालाई पुनस् विद्यालय फर्काउन पहल भए पनि उनीहरूले असहज मान्ने गरेका बताउँछन् । ‘सहपाठीहरूले नै कक्षाकोठामा ‘भाउजू’ भनेर जिस्काउँदा रहेछन्,’ उनले भने।
लेकबेंसी नगरपालिका ८, गँगटेमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका भगवती लामिछाने बालबिवाहले स्कुले छात्रछात्राको पढाइ छुट्नेमात्र होइन, स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको बताउँछिन् । उनका अनुसार १५ वर्षसम्मका किशोरीसमेत गर्भवती भएर परामर्शका लागि आउने गरेका छन् । ‘जति प्रचार गरे पनि बालविवाह रोकिएको छैन,’ उनी भन्छिन्, ‘यसले गर्दा एकातिर उनीहरूको पढाइ छुटेको छ, अर्कोतिर स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ ।’