Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसा र समाधान

  |      19:12:00   |  
तस्विर : कान्तिपुर
तस्विर : कान्तिपुर

सुशीला कार्की  ►

भाद्र ४, काठमाडौं।  नेपालमा महिलाविरुद्ध हुने हिंसाका सन्दर्भमा केही मुख्य तथ्य आज पनि मेरो मस्तिष्कमा ताजा छन् । सूर्यबहादुरविरुद्ध नेपाल सरकार भएको २०६७ सालको ज्यानसम्बन्धी मुद्दा जुन धनकुटाको

 

हो, पीडक पतिले हिंस्रक रूपमा पत्नीको हत्या गरेको देखिन्छ । पति दिनभरि रक्सी खाई मात्तिएर हिंड्छ तर पत्नी मेलापात गरेर ल्याएको चामलले सन्तान र आफ्नो पेट पाल्ने गर्छे । त्यसमाथि घरबाहिर काम गर्न जाँदा दिनरात चरित्रमाथि आशंका देखाई पतिले पत्नीलाई हातपात गर्छ । हत्या गर्ने दिनको अघिल्लो रात मजदुरीको चामल र केही रकम बोकी पत्नी हतारहतार घर आउँछे अनि भातभान्सा तयार गरी बालबच्चालाई ख्वाउँछे । पीडक टन्‍न रक्सी खाई आउँछ र पत्नीको चरित्रमाथि टीकाटिप्पणी गर्न थाल्छ । पत्नीले त्यस राति उसलाई धकेलिदिन्छे । भोलिपल्ट बिहान, पत्नी हतारहतार बालबच्चा र पतिका निम्ति भातभान्सा तयार गरी घरबाहिर निस्कन्छे । ऊ मेलापात गर्ने थलोतर्फ जान लाग्दा पतिले पछ्याउँदै पछाडिबाट आग्लाले प्रहार गर्छ । पटकपटकको प्रहारपछि उसको मृत्यु हुन्छ । हत्याको कारण थियो, पुरुषको पुरुषत्व र अहम् । 

 

नेपालमा प्रत्येक वर्ष महिला हिंसाविरुद्ध दिवस माइन्छ । प्रत्येक वर्ष हिंसाविरुद्ध सोह्रदिने अभियान चल्छ । हामीले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि, १९७९ लाई अनुमोदन गरी स्वीकार गरेका छौं । थोरै भए पनि हामीकहाँ हिंसाविरुद्धका कानुन छन् । प्रहरीमा छुट्टै महिला सेल खडा गरिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबाट अन्तक्र्रिया चलाइएका छन् । यसै वर्ष प्रभावकारी महिला सभासदले बढ्दो महिला हत्याहिंसाका सन्दर्भमा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाए । यस्तो प्रयास निरन्तर भइरहेको पनि छ । सरकारले महिलाको विकासका निम्ति ठूलो रकम छुट्याएको छ । तापनि महिलाविरुद्ध हुने हिंसामा न्यूनीकरण नभएर वृद्धि हुँदै आएको देखिन्छ । यति मात्र नभई हिंसाको रूप परिवर्तन भई नयाँ प्रकृतिमा हिंस्रक घटना देखिन थालेका छन् ।

मेलमिलाप प्रवृत्ति
घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, महिलाको हत्या, बालविवाह, बहुविवाह, इच्छाविरुद्धको विवाह, जातीय भेदभावबाट हुने उत्पीडन, चलीबेटी बेचबिखनजस्ता अपराध गाउँ, नगर आदिबाट पनि मेलमिलापको प्रक्रियाबाट समाधान गरिन्छ । थोरै संख्यामा मात्र यस्ता विवाद अदालतमा प्रवेश पाउन सफल हुन्छन् । तीमध्ये पनि अधिकांश फितलो अनुसन्धानका कारण ठहर हुन सक्तैनन्, तथापि महिलाविरुद्ध हुने हत्याका वारदातको तथ्य पढ्‍दा मुटु काँप्ने तथ्य फेला पर्छन् । मौकामा भातभान्सा तयार नगरेको, मीठो नपकाएको, खानेकुराको जोहो गर्न नसकेको, यौनतृष्णा नमेटाएको, परपुरुषसँगको अवैध सम्बन्धको आशंका, पैसाका निम्ति आफन्त चेलीबेटीको बेचबिखन र वेश्यावृत्तिमा आफन्तले नै धकेल्नु, परस्त्रीसँगको नाजायज सम्बन्धका कारण पत्नीलाई यातना दिने वा षड्यन्त्रमूलक हत्या, वैदेशिक रोजगारमा महिलाले पाउने हिंस्रक तथा यौनजन्य दुव्र्यवहारजस्ता प्रकृतिका मुद्दा न्यायालयमा दर्ता हुन आउँछन् ।

 

बलात्कारका नब्‍बे प्रतिशत मुद्दामा पीडित महिला, बालबालिका तथा युवतीले प्रथम अवस्थामा वारदातको दाबी गरे पनि पछि न्यायालयमा बलियो हुन भने सक्दैन । हाम्रोजस्तो पुरुषप्रधान देशमा महिलाको हैसियत गौण हुन जान्छ । आमा, बाबु, इष्टमित्र, छरछिमेकी र स्वयम् पीडकको दबाब, प्रभाव र पैसाको प्रलोभनमा पीडितको हार हुन जान्छ । अर्कोतर्फ सामाजिक दागका कारण पीडितहरू आफूमाथि परेको अन्यायबारे मुख खोल्न सक्दैनन् । हुन त केही मुद्दामा सर्वोच्च अदालतले व्याख्या गर्दा पीडितको इन्कारी अस्वीर गर्दै वारदातको परिस्थिति, चिकित्सकको जाँच प्रतिवेदनका आधारमा अपराधलाई ठहर गरेको पनि छ । महिलाविरुद्ध हुने हिंसा हाम्रो समाजमा धेरै हुने गरेका छन् । पुरुषमाथि पनि हिंसा भएका समाचार यदाकदा सुन्‍न पाइन्छ । यसको संख्या तुलनात्मक रूपमा कम भए पनि ज्यादाजस्तो पीडक महिलालाई पीडित पुरुषले प्रताडित गरेको जरियाबाट धेरैजसो घटना घटेको देखिन्छ । यस्तो वारदातलाई प्रदाडित मानसिकता भनिन्छ । यससम्बन्धी कानुन हामीकहाँ छैन तर मुलुकी ऐनको अ.बं. १८८ का आधारमा व्याख्या गरी सजाय गर्ने गरिन्छ । महिला हिंसाविरुद्ध हामीकहाँ केही कानुन भए पनि ती प्रभावकारी छैनन् । यिनको प्रयोगमा प्रहरी प्रशासनले चासो देखिन्‍न। 

हिंसाको कारक वैदेशिक रोजगार
अहिले जल्दोबल्दो समस्या भनेको वेदैशिक रोगजारमा जाने महिलाविरुद्ध हुने हिंसा पनि हो । यसले रेमिट्यान्स त भित्र्याउँछ साथसाथै विकृति पनि प्रशस्त भित्र्याएको छ । वेदैशिक रोजगारका नाउँमा हाम्रा चेलीबेटी अरब मुलुकमा बिक्री भएका छन् र कतिपयको अत्तोपत्तो छैन । कतिले आफ्नो इज्जत बेच्नु परिरहेको छ । फर्कंदा रित्तो हात ज्यान बचाएर भाग्नुपर्ने, मानसिक र शारीरिक शोषणका कारण आत्महत्या गर्न विवश हुनुपर्ने अवस्था देखिन्छ । द्वन्द्वरत मुलुकहरूमा झुक्याएर पुर्‍याउने अनि अवैध सन्तानसहित फर्कनुपर्ने अवस्था कतिपयको छ । अवैध गर्भधारणका कारण आएका चेलीले सामाजिक प्रतिष्ठा जोगाउने क्रममा भ्रूण हत्या गर्दा आफ्नै ज्यान जोखिममा परेका घटना पनि छन् । यी सबै विकृतिका कारण सिंगो राष्ट्र आहत हुन पुगेको छ । 

 

पढेलेखेका महिला जो स्नातकसम्मै छन्, मुलुकमा रोजगारी अभावमा आफ्रिकाको गर्मी भूभागमा डान्सबारमा नांगै नाच्न पुगेका छन् । नेपाली मानव तस्करहरू छाती ठोकेर चेलीबेटीलाई रोजगारी दिलाएका छौं भन्छन् । सरकार मौनता साधरे बसेको देखिन्छ । धेरै पैसा भएका यिनै मानव तस्करहरूकै हालीमुहाली र पहुँच सरकारमा छ भन्‍ने धेरैको कथन छ । वैदेशिक रोजागर पेसा वस्तुत: दलालका निम्ति लाभप्रद छ, रोजगर गर्नेहरू र राष्ट्रका निम्ति छैन । एकातर्फ दलालले देखाएको आकर्षणमा प्रभावित भएर जाने युवकहरू मृत्युको ट्‍याग भिरेर फर्केको देखिन्छ । अर्कोतर्फ यसले हाम्रो समाजमा जताजतै भाँडभैलो सिर्जना गरेको पाइन्छ । हाम्रो आदर्श, नैतिकता, चरित्र, परम्परा र मौलिकतामाथि यो पेसाले ठूलो प्रहार गरेको समेत छ । स्वयम् वैदेशिक रोजगारमा जाने पुरुषको परिवार मुलुकभित्र सुरक्षित छैन । शोषण, जाली, फटाहाको फेरमा पर्नाले हत्याहिंसा, लुटपाट, अपहरण र महिला हिंसा वृद्धि भएको छ । यसले परिवारहरू विखण्डन गरिदिएको छ । 
 

महिलामाथि हुने हिंसा नियन्त्रण र रोकथाम राज्य शक्तिको इच्छामा निर्भर हुन्छ । मुलुकभित्रबाट नभई भारत, श्रीलंकामार्फत वैदेशिक रोजगारीका नाउँमा मानव तस्करी गरेका प्रशस्त उदाहरण छन् तर सरकार यसको नियन्त्रणतर्फ उदासीन छ । प्रहरी, प्रशासन र सरकारले सक्रियतासाथ कारबाही गरेको देखिँदैन । मानव तस्कर पहिचान गरी कानुनको कठघरामा उभ्याई कडा सजाय दिए मात्र केही हदसम्म हिंसा नियन्त्रण हुने थियो । दलालहरूको मनोबल बढेको छ र ग्रामीण क्षेत्रको भित्री भूभागमा गई सोझासिधा महिलालाई आयआर्जनको प्रलोभन देखाई तिनैबाट र पुन: बिक्री गरेर दोहोरो आर्जन गर्छन् । कल्याणकारी राज्यमा नागरिक स्वतन्त्रता र शोषणविरुद्धको हक संरक्षण राज्यले गर्ने गरेको हुन्छ । नपढेका, अशिक्षित, ग्रामीण, राजधानीसम्म नदेखेका, वेदैशिक भाषा नबुझ्ने, कामको मेलोसम्म नपाएकालाई महिलाको स्वतन्त्रताबारे नकारात्मक अवधारणा रहेको अरबजस्तो मुलुकमा रोजगारीमा पठाउनु भनेको समुद्रमा चार हातखुट्टा बाँधेर फाल्नुसरह हो ।

 

सरकार वैदेशिक रोजगारका नाममा रेमिट्यान्स प्राप्तितर्फ सचेत छ । महिला जो हिंसाको सिकार भएका छन्, अपांग छन्, अवैध सन्तान पाउन बाध्य छन्, अचेत भएर फर्केका छन्, अंगभंग भएका छन्, आर्थिक रूपबाट शून्यमा पुगेका छन्, तिनको पुन:स्थापनाबारे मानवतासम्म राख्दैन । मुलुकको अहिलेको वातावरण हेर्दा सबैमा पैसा भएपछि पद, प्रतिष्ठा, इज्जत, सम्मान सबै खरिद गर्न सकिन्छ भन्‍ने अवधारणा विकास भएको देखिन्छ । मानव तस्करहरूले अहिले पैसाका बलमा सबै कुरा पाएका छन् । यो धन्दा एउटा उद्योगका रूपमा खडा छ । जबसम्म यो पेसामा नियन्त्रण र नियमन हुँदैन, महिला हिंसाको शृंखलामा कमी आउनेछैन । यसको नियन्त्रणका निम्ति सरकारले केही अभियान सुरु गर्नुपर्छ । योग्यताअनुसारको रोजगारी, तालिम, गन्तव्य मुलुकको भाषा, सामान्य लेखपढको शिक्षा, जोखिममा परे ज्यान जोगाउने उपाय, सम्बन्धित मुलुकको भौगोलिक तथा सामाजिक अवस्था आदिबारे ज्ञान दिनु नितान्त आवश्यक छ । यसका अतिरिक्त हिंसाग्रस्त मुलुकमा जान प्रतिबन्ध लगाउनुपर्छ । अवैध मार्ग (भारत, श्रीलंका) बाट पनि जान दिनु हँुदैन । मानव तस्कर र दलालका बारेमा यकिन गरी सजाय र क्षतिपूर्ति दिलाउनुपर्छ । बैदेशिक रोजगारमा गएका आफ्ना नागरिक बसोबास गरेको ठाउँ हिंसाग्रस्त क्षेत्र घोषित भए संरक्षण दिनुपर्छ । महिलाको आम्दानीलाई अरूबाट हुने ठगी/किर्तेबाट जोगाउनुपर्छ । 

अपराधीलाई उन्मुक्ति 
हाम्रो समाजमा महिलाविरुद्ध घरेलु हिंसा प्रशस्त हुने गर्छ । यसको उजुरी महिला सेलमा परेको अवस्थामा सामान्यत: पतिपत्नीको झगडालाई परालको आगो भनी नजरअन्दाज गर्ने गरिन्छ । यस्ता विवाद कहिलेकाहीं झाँगिँदै जान्छन् र घातकसिद्ध हुन सक्छन् । सामान्यत: महिला सेलमा विवादलाई मेलमिलापबाट समाधान गर्ने प्रयास गरिन्छ । अन्याय नै परेको हो भने पनि न्याय दिलाउनेतर्फ सेलले प्राय: जाँगर देखाउँदैन । यसरी अपराध गर्नेले उन्मुक्ति पाउने हो भने निश्चय नै अपराधीको मनोबल बढेर जान्छ, यसले आपराधिक प्रवृत्तिमा बढोत्तरी ल्याउँछ । वास्तवमा महिला हिंसामा बाधक वैचारिक विभाजनद्वारा खडा भएका राजनीतिक दलहरूमा अहिले देखिएको प्रवृत्ति पनि एक हो । आस्थाका आधारमा अपराधीको संरक्षण र प्रहरी प्रशासनबाट अभियुक्तहरूलाई उन्मुक्ति गराउनुले पनि पीडितहरूलाई अन्याय पर्न गएको हुन्छ ।

उपादेयताविहीन कार्यक्रम
नेपालमा जति रफ्तारमा महिलाको शिक्षा, रोजगारी तथा आयआर्जनबाट आत्मनिर्भर भई विकास हुनुपथ्र्याे, त्यो हुन सकेको छैन । योजना–परियोजनामा सरकार तथा अन्तर्राष्ट्रिय संघसंगठनले प्रशस्त लगानी गरेका छन् तर लगानीबमोजिमको प्रतिफल कम छ । हामी महिला हिंसाविरुद्ध गरिने कार्यक्रमका नाउँमा भोजभतेर, कार्यदल र भ्रमणका कार्यक्रममा सीमित हुने गर्छौं । विपन्‍न, पिछडावर्ग, गरिबीको रेखामुनी रहेका र पीडित महिलाका निम्ति आयआर्जन, पेसा, रोजगार र सामाजिक सुरक्षा चाहिन्छ । तिनका निम्ति सहरबजारमा गरिने भाषण, कार्यक्रम र कार्यपत्रको पाठको कुनै औचित्य छैन । कार्यक्रम सञ्चालकलाई मात्र लाभ हुने यस्ता कार्यक्रमको उपादेयता छैन । बरु शिक्षा र चेतनामा वृद्धि हुन जरुरी छ । शिक्षा, प्राविधिक तालिम, सानातिना व्यवसाय, रोजगारी व्यवस्थाका अतिरिक्त हाम्रो कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लगेर रोजगारीको सिर्जना गर्न आवश्यक छ । नेपालमा अधिकांश महिला कृषि क्षेत्रमा आश्रित छन् । त्यसैतर्फ आकर्षित गराउनु र यो पेसालाई सरल र व्यावसायिक बनाउनु जरुरी छ। 

वस्तुत: नेपालमा कृषि क्षेत्र जटिल भएकाले यसतर्फ आकर्षण कम छ । मल, बीउविजनको एकातर्फ अभाव छ भने अर्कोतर्फ खरिद गर्न पाए पनि कमसल भइदिँदा उब्जामा ह्रास आउने गर्छ । कृषि क्षेत्रमा पनि व्यापारीको ठगी छ । दस कर्म गरी कमाए पनि किसानका हातमा उत्पादन रहेसम्म भाउ हँुदैन । यही कारण पनि युवा शक्ति पलायन भएका छन् । अर्कोतर्फ पम्परागत पेसामा वैज्ञानिकीकरण नगरिएकाले उति नाफा छैन । त्यसैले युवा पनि राजनीतितर्फ लागेका छन् । राजनीतिमा व्यक्तिलाई लाभ होला तर जग्गामा उत्पादन नभए त्यसबाट आश्रित हुने र जीविका चलाउनेहरूलाई समस्या हुन जान्छ । 


सामाजिक आन्दोलनको खाँचो
नेपालमा सामाजिक आन्दोलन भएको छैन । सामाजिक आन्दोलनबाट जनचेतना जगाउन सकिन्छ । सामान्य आयस्रोतबाट पनि सरलैसँग बाँच्न सकिने (सादा जीवन उच्च विचार) अवधारणा कसैमा छैन । बढ्दो भौतिक सुखसुविधा उपभोग गर्ने लालसाका कारण आयव्ययमा तालमेल नहुँदा परिवार–परिवारबीच वादविवाद भएर हत्याहिंसाजस्ता आपराधिक गतिविधि निम्तिन्छन् । अवैध स्रोतबाट प्राप्त आय हुनेसँग नहुनेले खर्चमा दाँजिन खोज्दा सामाजिक द्वन्द्व र अपराध बढेका हुन् । सादगीसँग जिउने प्रवृत्ति हराएको छ । पहिले मानिस घाँटी हेरी हाड निल्नु भन्थे तर अहिले सामाजिक व्यवहारमा लाखौं करोडौं खर्च हुने गरेको छ जसको कुनै अर्थ छैन । तसर्थ समाजमा सरल जीवन जिउन जगाउन अभियान नै चलाउनुपर्ने अवस्था छ । 

 

हामीकहाँ पारिवारिक विवाद समाधानका निम्ति सरसल्लाह दिने निकायको पनि अभाव छ । कतिपय हिंस्रक घटनामा परिणत हुने विवादका सन्दर्भमा सामाजिक तौरमा अग्रज र जानकारहरूले सरसल्लाह दिए आपसी सद्‍भाव र मायाप्रेम बढ्न सक्छ । ग्रामीण क्षेत्रमा हत्याहिंसाका घटना चेतना अभावमा भएका हुन्छन् । सानो रिसइबीका कारण पत्नीको हत्या गरेका प्रशस्त घटना छन् । अहिले पनि पुरुषवर्गले महिला भनेपछि आफू समानको हो भन्‍ने सोच राख्दैनन् । यो पुरातन सोचका कारण पुरुषमा अहंकार भएकाले सानातिना विवादमा पनि सहन नसकी हात छाड्ने र दुर्घटना हुने गरेको पाइन्छ । त्यसैले संविधान, कानुनले प्रदत्त गरेको समानता र स्वतन्त्रताका हकका विषयमा पुरुष वर्गमा चेतना जगाई सद्‍भावपूर्ण सामाजिक वातावरण कायम गर्न जरुरी छ । कान्तिपुरमा प्रकाशित  विचार/ विश्‍लेषण 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement