Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारी पुरुष होइन, अपराधी

वेब तस्विर
वेब तस्विर

प्रतिमा भट्टराई

असोज १, काठमाडौं ।  अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् । यस्तो लाग्छ, यी समाचार पढ्दा–पढ्दै हाम्रा छोरी पुरुष आफन्तसँंग नजिकिनै छाड्ने दिन आउँदैछ । छोरीको सुरक्षा अब आमाको एकल दायित्व बन्ने स्थिति उत्पन्न भएको छ ।

 

बलात्कारका एकपछि अर्को घटना सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा पुरुषप्रति घृणा जगाउने स्टाटस आइरहेका छन् । हाम्रो सामाजिक संरचनामा पक्कै थुप्रै प्रश्न छन्, तर ती समस्या समाधानको यो बाटो उपयुक्त लाग्दैन । 

 

के पुरुष बलात्कारी हुन् ? तसलिमा नसरिनले भनेझैं के सबै पुरुषको नजर बलात्कारी हुन्छ ? अनि लैंगिक असमानताको मुद्दा महिलाको मात्र हो ? मलाई लाग्छ, बलात्कार गर्ने व्यक्ति पुरुष हैन, ऊ विशुद्ध अपराधी हो । अपराधीको कुनै लिङ्ग हुँदैन । जात वा धर्म हुँदैन । जसरी कुनै हत्या भयो भने अपराधीको परिचयमा पुरुष, जाति वा धर्म गौण बनिदिन्छ, उसैगरी बलात्कारीलाई पुरुषभन्दा अपराधीको नजरबाट मात्र हेरिनुपर्छ ।

 

यति धेरै बलात्कारका घटना भइरहनुको कारण के हुनसक्छ ? मथिंगल घुमाउने खालका घटनालाई मैले धेरै कोणबाट विश्लेषण गरेँ । लैंगिक भेदभावपूर्ण व्यवहार बलात्कारको स्रोत हो भन्नेमा म विश्वस्त भएँ । किनभने हामीले छोरा र छोरीमा भेदभाव गरिरह्यौं ।  सार्वजनिक खपतका लागि समानताको भाषण गरिए पनि व्यवहारमा खासै परिवर्तन भएको देखिँदैन । स्वास्थ्य मन्त्रालयका भर्खरैका तथ्यांकले छोरीभन्दा छोराको जन्मदर वृद्धि भइरहेको देखाउँछ । त्यसको मुख्य कारण पनि लिङ्गका कारण हुने भ्रूणहत्या हो भन्नेमा शंका छैन । 

 

महिलालाई होच्याउने प्रवृत्ति घर–घरमै छ । उनीहरूको क्षमतामाथि सधैं नजरअन्दाज गरिन्छ । बोलीवचन र व्यवहारले हेलाहोँचो र दुव्र्यवहार गरिन्छ । त्यो मान्यता हुर्किंदै जाँदा महिलालाई कमजोर ठान्ने र उसलाई निर्बल ठान्ने प्रवृत्तिले प्रोत्साहन पाइरह्यो । त्यस्ता मान्यतालाई पुरानो पुस्ताका आमा, हजुरआमाले पनि सही थाप्दै जानुभयो । त्यसले महिलालाई चाहेको बेला जतिबेला जे पनि गर्न सकिन्छ भन्ने आपराधिक मनोबल वृद्धि भइरहेको देखिन्छ । महिलामाथि हुने जबर्जस्तीलाई त्यही मनोरोगले सहज बनाइदिएको छ ।

 

कञ्चनपुरकी स्कुले किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा महिला सरोकारमा प्रहरीको बेवास्ता छरपस्ट भयो । किशोरी हराएको सूचनाप्रति प्रहरी संवेदनशील भएन । उल्टै भनेछ, ‘यति राति कहाँ खोज्न जाने ?  भोलि बिहानै निवेदन लिएर आउनु ।’ किशोरी हराएका अधिकांश घटनामा प्रहरीमात्र हैन, आफन्त र छिमेकीको पनि पहिलो अनुमान हुन्छ, ‘पक्कै पोइल गई होली ।’ यो अर्को बेवास्ता हो । मानिलिउँ, कम उमेरकी छोरीले भागेरै बिहे गरिन् । त्यो पनि गैरकानुनी भयो । उनीसंँग सहमतिमै हुने भनिएका सम्बन्ध पनि बलात्कारै हुन् ।

 

पत्रपत्रिकामा प्रकाशित समाचार पढ्दा धेरै प्रश्न अनुत्तरित लागे । यो घटना किन यति धेरै रहस्यमय भयो वा बनाइयो ?  प्रहरीले अपराधी पत्ता लगाउन सकेन वा पत्ता नलागोस् भनेर जालझेल गर्‍यो ? घटनाका प्रमाण मेट्न खोजिए जस्तो देखियो । प्रहरीको असक्षमताकै कारण यति जघन्य अपराधमा समेत सरकार लाचार बन्नुपर्‍यो । प्रधानमन्त्री र गृहमन्त्री निरीहजस्ता देखिए । उनीहरू जति संवेदनशील हुनुपर्ने हो, भएको देखिएन । 

 

निर्मलाको न्यायका लागि बरु सर्वसाधारण सडकमा उत्रिएर गोली सामना गरे । यति दुखद घटनाले एउटा जबर्जस्त सन्देश दियो, निर्मलाको न्यायका निम्ती ज्यान दिने पनि पुरुषै निस्किए । न्यायको खोजीमा काठमाडौं आएका निर्मलाका बुबाआमालाई शनिबार माइतीघर मण्डलामा साथ दिने ठूलो संख्या पुरुषकै थियो । अनि हामी कसरी ‘पुरुष बलात्कारी हुन्’ भनेर अपराधलाई सामान्यीकरण गर्न सक्छौं ? 

 

एउटा कोणबाट हेर्दा छोरीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैलाई अर्को कोणबाट हेर्‍यौं भने छोराको सुरक्षा त्योभन्दा ठूलो चुनौती बनेको छ । अभिभावकले छोरीको मात्र हैन, छोराको पनि चिन्ता गर्नुपर्ने बेला आएको छ । हामीले छोरीको तुलनामा छोरालाई स्वच्छन्द छाडेका छौं । छोरीलाई राम्रो संस्कार सिकाउँछौं । राम्रो बोलीचाली सिकाउँछौं । राम्रो व्यवहार र संगत गर्न सिकाउँछौं । ती सबै छोराका हकमा लागू हुँदैनन् । छोरा कहाँ गइरहेको छ ?  के गरिरहेको छ ? उसको संगत को–कस्तासँंग छ ? धेरैले वास्ता गरिरहेका हुँदैनन् । छोरा लागूऔषधको कुलतमा फसेपछि मात्र अभिभावक झल्यास्स हुन्छन् । बलात्कारीका रूपमा हत्कडी लागेपछि मात्र छोरालाई सुरक्षित राख्न नसकेकामा पछुताउँछन् । 

 

अब सवाल उठ्छ, छोरी सुरक्षाको दायित्व कसको हो ? जब हामी हरेक हजुरबुबा, बुबा, काका, मामा, दाजुभाइ र आफन्तलाई बलात्कारी देख्छौं भने एक्ली आमाले मात्र के छोरीको सुरक्षा गर्न सक्लिन् ? पक्कै सक्दिनन् । त्यसैले घटनालाई सामान्यीकरण गर्नुभन्दा अपराध विशेषका रूपमा लिनु उपयुक्त हुन्छ । महिला हिंसा, दुव्र्यवहार, भेदभावजन्य सामाजिक–सांस्कृतिक व्यवहारमा सुधार ल्याउन पुरुष र महिला दुबैको हातेमालो जरुरी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement