पुस १३,काठमाडौं — तेह्र वर्षअघि बाराको रतनपुरी जंगलमा एक रहस्यमयी किशोर तपस्वी देखापरे, रामबहादुर बम्जन । निराहार तपस्या गरेको भनेर उनले धेरैको ध्यान खिचे । उनको छवि रोमाञ्चक बन्यो, सर्वसाधारण मात्र होइन, राज्यका लागि पनि ।
उनले आफूलाई लिटिल बुद्ध भनेर चिनाए । कतिले उनलाई भगवानै माने । उनलाई ढोंगी मान्नेहरू पनि थिए, आफ्नो आवाज मुखर बनाउन सक्दैनथे ।संसार यस्तै छ– धर्मसँग जोडिएपछि प्रश्नहरू वर्जित हुन्छन् । ‘धर्म’ कै आडमा बम्जनले आफ्नो ‘साम्राज्य’ फैलाइरहे । कैयौं मानिस उनका अनुयायी बने । आनी बन्ने पनि उत्तिकै ।बारा, सर्लाही, सिन्धुपाल्चोक र सिन्धुलीमा उनका आश्रम छन् । बारा हलखोरियाको आश्रम सरकारी हो । अन्य निजी हुन् जहाँ उनको कैयौं सम्पत्ति छ । नियमित हेलिकप्टर चढ्ने हैसियत राख्छन् उनी । सुरुवातमा उनी निर्दोष थिए होलान् तर उनको वरिपरि जम्मा भएको शक्ति र त्यसको संरचनाको प्रभावले उनलाई पनि बेग्लै बाटो निर्देशित गरेको हुन सक्छ ।
राज्यका अंगहरूले कुनै खोजीनीति नगर्दा र उनको पवित्रता स्थापित नहुँदा तपस्वीको अनुहारको एउटा पाटो विकृतिका रूपमा उदांग भएको छ । उनकामा आनी बसेकी गंगामाया तामाङले आफू बलात्कृत भएको आरोप लगाएको पत्रकार सम्मेलनपछि तीन महिना खोजी पत्रकारिता गरेर सेतोपाटी डिजिटल पत्रिकाले गम्भीर तथ्य सार्वजनिक गरेको छ । उनका अनुसार कलिला आनीहरूमाथि बम्जनले यौन हिंसा गरेका छन् । बम्जनद्वारा तीन आनी बेपत्ता पारिएको भन्दै परिवारजनले उजुरी गरेका छन् । फूलमाया रुम्बा र कर्म वाइबा, सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको मकवानपुर जिल्ला प्रहरीले जनाएपछि बम्जनबारे छानबिन गर्ने सरकारको दायित्व बनेको छ ।
बम्जनको कार्यशैलीले केही प्रश्न जन्माएका छन् । पहिलो, हामी नागरिकहरू किन कोहीप्रति यति धेरै अन्धभक्त हुन सक्छौं ? असामान्य जीवनयापन गरिरहेका बम्जनका क्रियाकलापप्रति राज्यले किन सुरुदेखि निगरानी गरिरहन सकेन ? उनीमाथि आरोप लागिसकेको अवस्थामा राज्यले अनुसन्धान गर्न कतिको तदारुकता देखाउँछ ,प्रहरीकामा बम्जनबारे तीन महिना पहिल्यै उजुरी आइपुगेको थियो । गंगामायाले भदौ ३० गते बम्जनले आफूलाई बलात्कार गरेको भन्दै जावलाखेल प्रहरी परिसरमा उजुरी दिन खोजेकी थिइन् । त्यहाँ उनलाई टेकुस्थित महानगरीय अपराध महाशाखा जान भनियो । उनी भोलिपल्ट त्यहाँ पुगिन् । महाशाखा प्रमुख धीरजप्रताप सिंहले उजुरी लिएनन् । उनलाई बालबालिका संरक्षण गर्ने संस्थाको जिम्मा लगाइदिए ।
गंगामायाको उजुरी लिएर बम्जनबारे अनुसन्धान थालेको भए अहिलेसम्म धेरै सत्यतथ्य बाहिर आइसक्थ्यो । प्रहरीले गंगामायाको उजुरी लिएर सत्यतथ्य पहिल्याउनुपथ्र्यो । आरोपउपर छानबिन नगरी नागरिकका पहरेदार मानिएका प्रहरी त्यसै पन्छन मिल्दैन । प्रमाण जुट्दै गथ्र्यो, तथ्य पहिल्याउन लागिहाल्नुपथ्र्यो । आनीको अनुरोध स्विकारिएन । सञ्चारमाध्यममा आएका विषयलाई आफ्नो ज्ञान क्षेत्रमा राखेर प्रहरी चनाखो बन्न सक्छ । आफ्नो सतर्कता र निगरानी बढाउन सक्छ । कानुनी अनुसन्धान नथाले पनि केही भएको छ/हुन सक्छ कि भनेर सजग रहनुपर्छ । उजुरी परिसकेपछि प्रहरीले तथ्यान्वेषण गर्नुपर्छ । मुद्दा स्थापित गर्नेतर्फ लाग्नुपर्छ । शंकास्पद गतिविधि अवलोकन गर्नुपर्छ । पीडित पक्षबाट अनुसन्धानलाई सघाउने धेरै सूचना मिल्न सक्छ । बेपत्ता भएकाहरू खोजिनुपर्छ । आरोपमाथि अनुसन्धान हुनुपर्छ ।
बम्जन एउटा छवि बनिसकेका र राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्ति भएकाले यो मुद्दा चुनौतीपूर्ण छ । यस प्रकरणलाई प्रहरीले मात्र होइन, पूरै सरकारले गम्भीर रूपमा लिनुपर्छ । प्रहरीले सुरुमै मान्छे पक्रनुभन्दा निगरानीमा राख्दै समानान्तर रूपमा अनुसन्धान बढाउनुपर्छ । तथ्यान्वेषण गरेर, अघि बढ्न सक्ने आधारहरू पहिल्याएर, पर्याप्त प्रमाण जुटाएर मात्रै मुद्दा स्थापित हुन्छ । तपस्वी भनेको गैरकानुनी अभ्यास गर्ने अनुमति प्राप्त लाइसेन्स होइन । सरकारले उनीबारे तत्काल छानबिन गरी कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्छ, बहकावमा परेका नागरिकलाई मुक्त गर्न‘पर्छ । उनीमाथिका आरोप मिथ्या हुन्, उनलाई बचावट गर्नेहरूका तर्फबाट भनिएजस्तो विधर्मी वा कुनै अमूक स्वार्थी समूहका षड्यन्त्र हुन् भने त्यो पनि सत्यतथ्य उजागर गर्ने राज्यको दायित्व हो ।