Advertisement
Advertisement
Advertisement
Advertisement

अपांगता सजावट सामग्री होइन

अपांगता सजावट सामग्री होइन

सिर्जना कट्टेल

भाद्र ३१, काठमाडौं ।  बीस वर्षको उमेरमा जब म बिमारका कारण ‘अपांग’ भएँ, मेरो मात्र होइन, परिवारकै जीवन परिवर्तन भयो । म सोच्छु, मेरा ममीबाबाले यो स्थिति स्विकार्नुभएको छैन, भविष्यमा पनि स्वीकार्य हुनेछैन । किनभने, उहाँहरूकी छोरीको जीवन पूरै फेरिएको छ । अहिले म आत्मस्वीकृतिको अत्यन्तै गाह्रो बाटोमा सदैव शिर उच्च राखेर हिँड्न सिक्दै छु ।

 

अपांगताको प्रारम्भिक वर्षमा मैले एउटा संस्थामा स्वयंसेवा गर्ने निर्णय गरेँ । त्यो संस्था मजस्तै बालबालिकाका लागि हो । त्यसले आवश्यकता ख्याल गर्छ, प्रशिक्षण र शिक्षा दिन्छ । तर ती बालबालिका र ममा केही फरक छ । हाम्रा शारीरिक, मानसिक, भावनात्मक र आर्थिक रूप असमान छन् । अर्को कुरा, उनीहरूलाई केवल यो जीवन थाहा छ । 

 

बाबा मलाई त्यहाँ लैजान उत्साहित हुनुभएन । यो व्यवहार अन्य समयभन्दा भिन्न थियो । उहाँलाई डर थियो, म निराश भएँ भने ? आफ्नो क्षमतामा विश्वास र आशा गुमाउन थालेँ भने ? मेरो आत्मसम्मान र आत्मछविमा कहिल्यै निको नहुने चोट लाग्यो भने रु यस्ता धेरै प्रश्नले उहाँहरू घेरिनुभएको थियो । ममी र बाबाले डरको लामो सूची सुनाउनुभयो । म सहमत भएँ अर्थात नजाने निर्णय गरेँ । फर्किएर हेर्दा लाग्छ, त्यो राम्रो निर्णय थियो ।

 

उहाँहरूलाई अधिक चिन्ता लाग्ने विषय थियो, हाम्रो जस्तो विकासशील देशमा सामाजिक सञ्जालमा तस्बिरको प्रदर्शन केवल आफ्नै स्वार्थ पूर्तिका लागि गरिन्छ । यसले अरूको मानसिक छविमा के हानि पुर्‍याउन सक्छ भन्ने सोचिँदैन । सामाजिक सञ्जालले वृद्धाश्रममा जन्मदिन मनाउने चलन ल्यायो । त्यसपछि अनाथालयमा मनाउन सुरु भयो । अहिले अपांगता भएका बालबालिकासँग जन्मदिन मनाउने लहर छ । मलाई लाग्थ्यो, यो राम्रो कार्य हो । 

 

यसो सोच्दा, तपाईंले आफ्नो विशेष दिन यस्ता बच्चासँग बिताउनुभन्दा महान् अरू के हुन सक्छ ? संघर्ष गर्दागर्दै तपार्इंलाई बालबालिकाले नमस्कार गरिरहेका छन्, मुस्कुराउँदा विरूप भए पनि तपाईंलाई आफ्नो घरमा स्वागत गर्दै छन् । यो दृश्यभन्दा राम्रो तस्बिर के हुन्छ ? तपाईं आफ्नो केक काट्नुहुन्छ, उनीहरू तपाईंका लागि सकी नसकी ताली बजाउँछन् ।

 

तपाईं उनीहरूलाई खाना र उपहारका साना प्याकेट दिनुहुन्छ, छलकपटरहित मीठो मुस्कान छर्छन् । मुख्य कार्यक्रम ‘फोटो सत्र’ को पालो आउँछ । तपाईं त्यहाँ आफ्ना साथी र परिवारका साथ सबैभन्दा राम्रो लुगामा हुनुहुन्छ । तिनीहरू सधैंका सामान्य र फोहोर कपडामा छन् । केही देखिने गरी खाना खाने संघर्षमा लागिपरेका छन् । त्यसपछि तपाईं त्यो उत्तम फोटो सोसल मिडियामा पोस्ट गर्नुहुन्छ र लेख्नुहुन्छ कि तपार्इं कस्तो भाग्यमानी हुनुहुन्छ, यो एक विशेष दिन थियो आदि । के हामी आत्ममोहको दास बनिसकेका छौं ?

 

तस्बिरहरू अनलाइन पोस्ट गरेर हामी विश्वलाई आफ्नो कथाबारे भनिरहेका हुन्छौं । हामी सबैसँग एउटा कथा छ, आफ्नै जीवनबारे । हामी आफैंलाई हरेक दिन भन्छौं– म एक असल व्यक्ति हुँ, म समानता, कानुन आदिमा विश्वास गर्छु । हामी यो कथामा विश्वास गर्न चाहन्छौं भलै यो सत्य होस् नहोस् । त्यस दिन तपाईं आफैंले आफैंलाई भन्दै हुनुहुन्छ, म यो गर्दै छु किनभने म समाजको परवाह गर्छु । म यो गर्दै छु, किनभने म एक असल व्यक्ति हुँ । मलाई समाजका पीडाको बोध छ ।

 

तपाईं त्यहाँ केवल केही घण्टाका लागि आउनुभयो । तपाईंले तिनीहरूसँग खाना खानुभएन । तिनीहरूका अनुहार स्पर्श गर्न घिन मान्नुभो किनभने तिनीहरू लगातार र्‍याल चुहाइरहेका थिए । आफ्नो नाक खुम्च्याउँदै तपाईं उनीहरूको छेउबाट हिंड्नुभो किनकि उनीहरूमध्ये केहीबाट मलमूत्र र उल्टीको गन्ध आउँदै थियो । त्यो सबै क्यामेराले खिचेन । तपाईं यस अवसरको उत्तम फोटो सेयर गर्नुहुन्छ, तपाईंले संसारलाई बताइरहनुभएको छ, ‘मैले यो गरेँ किनभने म एक असल व्यक्ति हुँ ।’ जब तुरुन्तै लाइक र राम्रा टिप्पणी आउन थाल्छन्, तपाईंको कथा पुष्टि हुन्छ । यो संसारले विश्वास गर्छ, साँच्चै तपाईं धेरै असल व्यक्ति हुनुहुन्छ ।

 

तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंको यो उत्सवले तिनीहरूलाई के गर्छ ? तपाईं सोच्नुहुन्छ, तिनीहरूलाई केही थाहा छैन, उनीहरू चिन्ता गर्दैनन् र अन्य चिज भन्नुहुन्छ, जुन म लेख्न चाहँदिनँ तर तिनीहरूलाई तपाईंको यो उत्सवले अनेक थरी भावना महसुस गराउँछ । तिनीहरूमध्ये केही आफ्नै अस्तित्वलाई प्रश्न गर्छन् ।

 

वास्तविक प्रश्नहरू तिनीहरूका हृदयमा लुकेका छन् जुन तिनीहरूले शब्दहरूमा भन्न सक्दैनन्, ‘जब म ठूलो हुन्छु, के म पनि तपाईंजस्तै काम गर्न सक्छु ? के मेरो जिन्दगी पनि तपाईंको जस्तै हुन सक्छ ?’ तर हामी उनीहरूलाई सहानुभूति र दयाको वातावरणमा जीवन बाँच्न सिकाइरहेछौं । हाम्रो क्रियाकलापले तिनीहरूलाई पटक पटक भन्ने गर्छ, यो एक मात्र वातावरण हो, जसले तिमीहरूको चिन्ता र प्रेम गर्छ । प्राप्त गर्नेभन्दा ‘दिने’ शक्ति सधैं ठूलो हो । यो कुरामा हामी सबैको सहमति छ । यो शक्ति तिनीहरूसँग कहिल्यै हुनेछैन किनभने तिनीहरू अपांग र असक्षम छन् ।

 

के सोच्नुभएको छ, तपाईं अपांगता भएका बालबालिकासँगको फोटो पोस्ट गर्न किन हिचकिचाउनुहुन्न रु ? यसमा शक्तिको खेल छ ? तपाईं अन्य नचिनेका बच्चासँग फोटो पोस्ट गर्नुहुन्न त । हुन सक्छ तपाईं कसैलाई चिन्नुहुन्छ । जस्तै– आफैंलाई वा अन्य नागरिक जो तत्पर, तयार र सक्षम छन्, ती बालबालिकाको रक्षा गर्न । तपाईंको संस्कृतिले सक्रिय रूपमा बच्चाको गोपनीयता र सुरक्षाको रक्षा गर्छ । तपाईंलाई थाहा छ, यस्तो गर्नु गलत हो ।

 

अपांगता भएका बालबालिकासँग फोटो खिच्नु अगाडि तपाईंले चिन्नुभएको थिएन, न त ती बच्चासँग तपाईंको कुनै सिधा सम्बन्ध छ । अपांगता भएका बालबालिकासँग फोटो पोस्ट गर्न अनुमति छ भन्ने तपाईंलाई किन लाग्छ ? यो व्यवहार किन सांस्कृतिक रूपमा स्वीकार्य मानिन्छ ? ती बच्चालाई कुनै सम्बन्ध नभएका मानिसँग देख्दा हामी किन चिन्ता गर्दैनौं ?

 

तस्बिर सेयर गरेर तपाईं ती बच्चाको गोपनीयता, चासो र सुरक्षाको ‘ओभरराइड’ गर्दै हुनुहुन्छ । ती बच्चाले तपाईंसँगको फोटो देख्दा भेट्टाउँदा के भन्छन् ? उनीहरू लाइक र कमेन्ट्स बढाउने सदन मात्र थिए ? गहिरिएर सोच्नुहोस्, तपाईंको त्यो एक दिन उनीहरूका लागि वर्षको हरेक दिन हो । मेरो परिवार मलाई चोट पुर्‍याउन सक्ने सबै कुरा रोक्न हरबखत लागि पर्छ ।

 

हामी सबै यो हाम्रो परिवारका बच्चाका लागि गर्छौं तर के यो हामी सबै ती अबोध बालबालिकाका लागि गर्छौं ? हामीले होइन भने कसले गर्छ ? के तपाईंले सोच्नुभएको छ, तपाईंको यस्तो ‘उत्सव’ ले तिनीहरूलाई के सिकाउँछ ? आत्ममोह, आत्मपूजा मात्र तपाईंको जीवनको लक्ष्य हो ? त्यसका लागि उनीहरू दयाको पात्र बन्नु ? तपाईं इमानदार हुनुहुन्छ र हो भन्नुभयो भने धन्यवाद, तपाईंको सत्य जवाफका लागि ।

 

मैले तपाईंलाई केही भन्न मन छ । तपाईं किन त्यो तस्विर आफैंमा सीमित राख्न सक्नुहुन्न ? तपाईंलाई इच्छा छ भने आफ्ना प्रियजनलाई देखाउनुहोस् तर अफलाइन । पोस्टको लक्ष्य अरूलाई प्रोत्साहित गर्नु हो भने त्यस संगठनको तस्बिर र कामकारबाही पोस्ट गर्नुहोस् । तपाईं ती बालबालिकाबीच नै मनाउनु चाहनुहुन्छ भने आफ्नो जन्मदिनमा अपांगता भएकालाई आजीवन समर्थन, प्रोत्साहन गर्ने दृढ प्रतिज्ञा गर्नुहोस् । हरसम्भव प्रयास गर्ने ती अपांगता भएका बालबालिकालाई सबल सक्षम नागरिक बनाउने अठोट लिनुहोस् । सुनिश्चित गर्नुहोस् कि उनीहरूले गरिबी र भेदभावविरुद्ध कहिल्यै एक्लै लड्न नपरोस् ।

 

तपाईंको प्रतिज्ञाले समाजमा उनीहरूको अधिकार सुनिश्चित गर्छ, उनीहरूको जीवनमा ठूलो फरक पार्न सक्छ । आफ्ना साथी र परिवारलाई अपांगता भएका बालबालिकाको स्वास्थ्य, पुनर्वास, शिक्षा र समावेशीकरणमा सहयोग पुर्‍याउन प्रोत्साहन गर्नुहोस् । तपाईंको अभियानलाई सार्थक पार्नुहोस् तर कुनै बालकको तस्बिर प्रयोग नगर्नुहोस् । कृपया, आफ्नो जन्मदिनसँगै उनीहरूमध्ये एकको पनि जन्मदिन मनाउनुहोस् । 

 

एउटा उखान छ, ‘दाहिने हातले दिएको देब्रे हातलाई थाहा नदिनू ।’ अब यसलाई नीति बनाएर प्रचलनमा ल्याउनुपर्छ । केही कुरा दिनु मात्र दान होइन, अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन सक्नु खास दान हो । हाम्रो जीवनमा हामीभन्दा फरक मानिस कहिलेबाट सजावटका सामान भए ? हामी किन यो खराब व्यवहारको निन्दा गर्दैनौं ? यी बच्चासँग जन्मदिन मनाउँदा तपाईं के कुराको कमी छ भन्ने उनीहरूलाई महसुस गराउँदै हुनुहुन्छ। यसो गर्नुअघि गम्भीरतापूर्वक सोच्नुहोस्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement